म्याट्रिक्स ट्यालेन्ट्स र मिलानोयर इभेन्ट्सद्वारा बाढीपीडितलाई २ लाख सहयोग

लन्डन-बेलायतमा एउटै समूहअन्तर्गत सञ्चालित म्याट्रिक्स ट्यालेन्ट्स र मिलानोयर इभेन्ट्सले नेपालका बाढी प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि संयुक्त रूपमा रु. २ लाख आर्थिक सहयोग गरेका छन्।
नेपालमा आएको बाढीबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै म्याट्रिक्स ट्यालेन्ट्सले रु. १ लाख ५० हजार र मिलानोयर इभेन्ट्सले रु. ५० हजार सहयोग गरेका हुन्।
म्याट्रिक्स ट्यालेन्ट्सका अनुसार २७ अगस्ट २०२६ मा सम्पन्न बोर्ड बैठकपछि बाढी प्रभावितहरूको राहतका लागि उक्त रकम सहयोग गरिएको हो। कम्पनीले यस अभियानमा साथ, सहयोग र सद्भाव देखाउने आफ्ना सम्पूर्ण कर्मचारी तथा व्यवस्थापन टोलीप्रति धन्यवाद व्यक्त गरेको छ।
म्याट्रिक्स ट्यालेन्ट्स ले विगत एक वर्षदेखि बेलायतमा रोजगारी सिर्जना गर्दै विभिन्न क्षेत्रमा जनशक्ति उपलब्ध गराउने काम गर्दै आएको छ। विशेषगरी आतिथ्य तथा सेवा क्षेत्रमा नेपालीसहित विभिन्न समुदायका व्यक्तिहरूलाई रोजगारीका अवसरसँग जोड्दै आएको कम्पनीले जनाएको छ।
त्यस्तै, मिलानोयर इभेन्ट्सले बेलायतमा विभिन्न नेपाली सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गर्दै प्रवासमा रहेका नेपाली समुदायलाई एउटै छातामुनि ल्याउने काम गर्दै आएको छ। नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धनसँगै बेलायतमा रहेका नेपालीबीच आपसी एकता र समुदायिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले कम्पनीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।
यसैबीच, मिलानोयर इभेन्ट्सले आगामी ११ सेप्टेम्बर २०२६ मा लन्डनमा आयोजना हुने ‘तीज धमाका २०८३’ बाट संकलन हुने रकमको १५ प्रतिशत समेत नेपालका बाढी प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि प्रदान गर्ने जनाएको छ।
दुवै कम्पनीले विदेशमा रहेर काम गरिरहेको भए पनि मातृभूमिमा आइपर्ने विपद् तथा कठिन परिस्थितिमा नेपाली समुदायले आफ्नो जिम्मेवारी महसुस गर्दै सक्दो सहयोगका लागि अघि बढ्नुपर्ने बताएका छन्।
म्याट्रिक्स ट्यालेन्ट्स र मिलानोयर इभेन्ट्सले बेलायतसहित विश्वभर रहेका नेपाली समुदाय, व्यवसायी तथा संघसंस्थाहरूलाई पनि बाढी प्रभावित परिवारहरूको राहत र पुनर्स्थापनाका लागि सम्भव भएसम्म सहयोग गर्न आग्रह गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


