आइतबार, २३ अगस्ट, २०२६
17:05 | २१:५०

लन्डनमा नेपाली मेला आउंदो साता, ४२ संस्थाका झांकीसहितका प्रस्तुति

नेपाली लिङ्क अगस्ट २३, २०२६

लन्डन- आउंदो साता ३० अगष्ट आइतबार हुन लागेको १७ औं नेपाली मेलाको तयारी पूरा भएको छ ।

आयोजक तमुधिं यूकेले आइतबार आफ्नै भवन मिचेटमा एक पत्रकार सम्मेलन गरि मेला तयारीबारे अवगत गराएको हो ।

मेला विगत वर्षजस्तै लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा लन्डन केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा हुने तयारी छ ।

पत्रकार सम्मेलनमा मेला संयोजक उपाध्यक्ष कमल कोने गुरुङले बिहान १० देखि सांझ ८ बजेसम्म सञ्चालन हुने मेलामा विभिन्न जातजातीका मौलिक कला संस्कृति, भेषभूषा, परम्परा, रहनसहन झल्कने झांकी, गीत संगीत नृत्य आदि प्रस्तुत गरिने जनाए ।

मेलामा खाना तथा अन्य व्यापारिक र च्यारिटीका स्टल एवं हेल्थ क्याम्प पनि राखिनेछ ।

‘नेपाली मेला कला संस्कृति र पहिचानको उत्सव हो’, संयोजक गुरुङले भने ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ नेपाली मेलामा यसवर्ष बेलायतस्थित ४२ नेपाली संघसंस्थाले झांकीमा भाग लिनेछन् । अझै केही संस्था थपिन सक्ने आयोजकको अनुमान छ ।

मेलामा २४ वटा संघसंस्थाले झांकी प्रस्तुत गर्नेछन् । झांकी र नृत्यमा ९ संस्था र नृत्यमा मात्र १० संस्थाले प्रतिष्पर्धा गर्नेछन् । झांकी र नृत्य भाग लिने तर प्रतिष्पर्धामा नबस्ने संस्था ६ वटा हुनेछन् ।

औपचारिक कार्यक्रम बिहान ११.२० बजे उद्घाटन हुनेछ भने प्रमुख अतिथी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी हुनेछन् । अन्य नेपाली तथा विदेशी कूटनीतिक पाहुनाहरु समेत सहभागी हुने अपेक्षा छ ।

मेलामा झांकी र नृत्य प्रतियोगितामा विजेता टिमलाई दिइने एम्बासडर कपको राशी ११०० बाट बढाएर १५०० पाउण्ड पुरयाइएको छ । फष्ट र सेकेन्ड रनरअपलाई क्रमशः ७ सय र ५ सय पाउण्ड प्रदान गरिनेछ । विजेता टिमहरुलाई ट्रफी, सर्टिफिकेट र नगद राशी दिइनेछ ।

त्यस्तै, एनआरएनए कप विजेताले ५०० पाउण्ड प्राप्त गर्नेछ । यसअघि यसको पुरस्कार राशी ३०० पाउण्ड थियो ।

मेलामा नेपाली खाना, पोशाक, मौलिक सामग्रीका साथै विभिन्न व्यापार, सेवा र च्यारिटीका ७५ स्टल रहनेछन्।

संयोजक गुरुङले मेला आयोजना गर्न करिब ६१ हजार पाउण्ड खर्च हुने र अनुमानित आम्दानी करिब ६४ हजार पाउण्ड अपेक्षा गरिएको बताए ।

मेला प्रवेश शुल्क वयस्कका लागि ५ पाउण्ड तय छ भने बालबालिका र वृद्धवृद्धालाई निशुल्क छ । कार पार्कको ५ पाउण्ड एवं कोच, बस पार्किङ शुल्क १० पाउण्ड तोकिएको छ । कार पार्क क्षमता कुल ११०० छ । पेमेन्टका लागि कार्ड मेसिन समेत उपलब्ध हुने आयोजकले जनाए ।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले धन्यवाद दिंदै मेला सफल बनाइदिन सबै सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

मेलामा यसपटक कार प्रवेशद्धार र पार्किङ क्षमता वृद्धि गरिएकाले आगन्तुकलाई सहज हुने विश्वास गुरुङले व्यक्त गरे ।

अध्यक्ष गुरुङले एभरेष्ट म्याराथन पूरा गरेर फर्किएका क्याप्टेन लक्ष्यबहादुर गुरुङको अभियानमा सहयोग गर्न पनि आग्रह गरे ।

उनले संस्थाले सेप्टेम्बर ११ र १२ मा १०० किमी वाक एवं रन आयोजना गर्न लागेको जानकारी समेत दिए । शुरुताका उल्लेख्य सञ्चारकर्मीहरु सहभागी हुने गरेको स्मरण गर्दै उनले अचेल संख्या घटेको प्रति चिन्ता व्यक्त गरे ।

तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए । उनले प्रचार प्रसारमार्फत मेला सफल बनाइदिन सञ्चारकर्मीहरुलाई अनुरोध पनि गरे ।

कार्यक्रममा तमुधिं यूके मिडिया सेक्रेटरी एस के गुरुङले सञ्चारकर्मीहरुको परिचयसहित स्वागत गरे भने तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र उपाध्यक्ष कमल कोने गुरुङले सम्मान गरेका थिए ।

सोही अवसरमा तमुधिं यूकेले नेपालबाट आएका समाजसेवी तथा कलाकारहरु, अल्डरसटबाट निर्वाचित काउन्सिलर उत्तरबहादुर गुरुङ, आमा समूहकी संस्थापक अध्यक्ष तथा एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ लगायतलाई विशेष सम्मान समेत गरेको थियो ।

पत्रकार सम्मेलनमा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु रामचन्द्र (सूर्जे) गुरुङ, ज्ञाम गुरुङ, ट्रष्टी सूर्य गुरुङ, प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ, तमुधिं लन्डन ईकाइ अध्यक्ष भरत गुरुङ लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू