शुक्रबार, २१ अगस्ट, २०२६
22:54 | ०३:३९

लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब जात्रा’

नेपाली लिङ्क अगस्ट २१, २०२६

लण्डन— किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा शुक्रबार तेस्रो ‘किताब जात्रा’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा ब्रिटेनको लेबर पार्टीका नेता एवम् पूर्वसांसद वीरेन्द्र शर्माले बेलायतको मुख्य शक्ति नै यसको विविधता भएको बताए ।

बेलायती संसदको अल-पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका पूर्वअध्यक्ष रही सकेका शर्माले नेपाली डायस्पोराले बेलायती समाजमा दिएको योगदानको प्रशंसा गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र इतिहाससँग जोड्नुपर्नेमा जोड दिए । “भाषा हराए धेरै कुरा हराउँछ। बेलायतमा हुर्किरहेका युवाहरूलाई आफ्नो मातृभाषा सिक्न प्रोत्साहन गर्नुपर्छ,” शर्माले भने।

उनले बेलायत र नेपालबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्न नेपाली डायसपोराको भूमिका सशक्त रहेको बताउंदै विश्व शान्ति र समृद्धिका लागि नेपाल, भारत र बेलायतबीच सहकार्य हुनुपर्ने पनि बताए ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यले किताब जात्राले डायस्पोरा र नयाँ पुस्तालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले नेपाल बाहिर यस्ता कार्यक्रम गर्न निकै श्रोत र साधन लाग्ने भएकाले सबै सघाउनु पर्ने धारणा राखे।
बीबीसी नेपाली सेवाका पूर्व डेस्क एडिटर सुमन खरेलले विदेशी भूमिमा हुर्किरहेका युवा पुस्तालाई नेपाली किताब र पठन संस्कृतिमा आकर्षित गर्नु आजको मुख्य चुनौती रहेको बताए ।

वरिष्ठ टेलिभिजन पत्रकार टीकाराम यात्रीले लिखित सामग्री मात्र नभई अनुभूति पनि पुस्तक भएको बताउँदै प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदा जोगाउन भै रहेका प्रयासको प्रशंसा गरे।

यस्तै, सेन्ट जोन्स वुड क्यापिटलका अध्यक्ष तरुण गुलाटीले भाषाले मानिसहरूलाई जोड्ने भएकाले नेपालीहरूले आफ्नो संस्कृति र भाषामा गर्व गर्नुपर्ने बताए ।

नेपाली दूतावासका द्वितीय सचिव संजोग राईले किताब र साहित्य विचार आदानप्रदान गर्ने र सीमापारिका मानिसहरूलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै दूतावासले यस्ता रचनात्मक पहललाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

किताब जात्राका निर्देशक ऋषिराम अधिकारीले सहभागीहरूलाई स्वागत गर्दै लेखक र पाठकलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनले वि.सं. २०८३ भित्र साउदी अरेबिया, कतार र युरोपेली मुलुकहरूमा पनि किताब जात्रा आयोजना गर्ने योजना रहेको जानकारी दिए ।

डायस्पोरा नेपाली साहित्यमा अवसर र चुनौतीबारे विमर्श


कार्यक्रममा ‘डायस्पोरा नेपाली साहित्य: अवसर र चुनौती’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो । पत्रकार तथा लेखक निर्भिक जङ्ग रायमाझीले सहजीकरण गरेको छलफलमा लेखक तथा साहित्यकार डा. रवीन्द्र समीरले डायस्पोरामा धेरै नेपाली लेखकले उत्कृष्ट साहित्य सिर्जना गरिरहेको भए पनि मूलधारका सञ्चारमाध्यम तथा साहित्यिक क्षेत्रमा उनीहरूले अपेक्षाकृत कम स्थान पाउने गरेको बताए।

डायस्पोराका लेखकले आफूले भोगेका अनुभव र परिवेशलाई साहित्यमा अभिलेखीकरण गरिरहेको उल्लेख गर्दै उनले यसले नेपाली भाषा र साहित्यलाई थप समृद्ध बनाएको बताए। “नेपाली साहित्यमा डायस्पोराको स्थान अग्रणी छ,” उनले भने।

बेलायतलाई कार्यथलो बनाएकी आधारित कवि तथा उपन्यासकार डा. सङ्गीता श्रेष्ठले डायस्पोरिक साहित्य अहिले तीव्र रूपमा विकसित भइरहेको बताइन्।

डायस्पोराको जीवन आफैंमा तरल र बहुआयामिक रहेको उल्लेख गर्दै उनले डायस्पोराका नेपाली लेखकहरू नेपाल र आफू बसिरहेको देश दुवैसँग जोडिएकाले द्वन्द्व सिर्जना भै रहेको बताइन्।

“हामी दुवै संसारका हौँ जस्तो पनि लाग्छ र दुवै संसारबाट केही हदसम्म बाहिर परेजस्तो पनि हुन्छ,” उनले भनिन्। नेपाली डायस्पोरिक साहित्यलाई अझै पनि मूलधारभन्दा बाहिरको साहित्यका रूपमा हेर्ने प्रवृत्ति रहेको उनको भनाइ थियो।

वरिष्ठ पत्रकार टिकाराम यात्रीले डायस्पोरिक साहित्य जन्मभूमिबाट टाढाको भौतिक अवस्था, स्मृति, सपना, खानपान, संस्कृति र जीवनअनुभवसँग जोडिने बताए। जन्मथलोको सम्झनाले पनि डायस्पोरिक साहित्यको सिर्जनालाई प्रेरित गर्ने उनको भनाइ थियो।

यात्रीले नयाँ पुस्तामा मातृभाषा तथा नेपाली भाषामा शुद्ध रूपमा लेख्न र पढ्न सक्ने क्षमता कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। केही विद्यालयमा विद्यार्थीले नेपाली बोल्दा समेत निरुत्साहित वा दण्डित गरिने अवस्था रहेको उल्लेख गर्दै उनले मातृभाषालाई संरक्षण गर्नुपर्नेमा जोड दिए।

पाँच जनालाई ‘किताब जात्रा अवार्ड’


कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेलाई किताब जात्रा डायस्पोरा सामाजिक पहल सम्मान, एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यलाई डायस्पोरा उद्यमशीलता सम्मान, लेक्स लिम्बूलाई युथ आइकन सम्मान, बेलायतमा कार्यरत कवि तथा उपन्यासकार डा. संगीता श्रेष्ठ स्वेच्छालाई डायस्पोरा साहित्य सम्मान र बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगीलाई डायस्पोरा पत्रकारिता अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा पासा पुचः गुठी यूकेका अध्यक्ष सुशील प्रजापतिले जनकवि दुर्गालाल श्रेष्ठ र आफ्ना कविताहरू वाचन गरे । नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रश्मिता सिंह दर्लामीले ‘आई एम ए नर्स’ र उत्सव निर्देशक ऋषिराम अधिकारीले ‘बा’ शीर्षकको कविता वाचन गरेका थिए ।

कलाकार दीपक थापाले गोपाल योञ्जनको चर्चित देशभक्तिपूर्ण गीत ‘देशले रगत मागे’ प्रस्तुत गरे ।

कार्यक्रममा नेपाली साहित्य र समाजसंग सम्बन्धित प्रकाशनहरु तथा नेपाली हस्तकला तथा घरेलु उद्योगका उत्पादनहरु पनि प्रदर्शन गरिएको थियो।

तस्वीर: केके मुभिज

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू