बिहीबार, २७ अगस्ट, २०२६
16:37 | २१:२२

नेपालमा भएको विनाशकारी बाढीप्रति क्षेत्री समाज यूकेद्वारा शोक तथा सहायता घोषणा

नेपाली लिङ्क अगस्ट २७, २०२६

 

लन्डन । नेपालको उत्तरी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति क्षेत्री समाज यूके (क्षेत्री वेलफेयर फाउन्डेसन यूके) ले गहिरो दुःख तथा शोक व्यक्त गर्दै प्रभावितहरूको सहयोगार्थ राहत अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

बाढीका कारण ठूलो सङ्ख्यामा मानिसले ज्यान गुमाएको र सयौँ व्यक्ति बेपत्ता भएको दुःखद परिस्थितिलाई मध्यनजर गर्दै समाजले पूर्वनिर्धारित आफ्ना केही प्रमुख कार्यक्रमसमेत स्थगित गर्ने निर्णय गरेको छ।

बुधबार बसेको समाजको आकस्मिक बैठकले नेपालमा उत्पन्न मानवीय सङ्कटप्रति ऐक्यबद्धता जनाउँदै आउँदो शनिबारका लागि तय गरिएको तीज कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। तीज नेपाली समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व भए पनि देशले भोगिरहेको दुःखद परिस्थितिमा पीडितहरूप्रति सम्मान र संवेदना प्रकट गर्दै कार्यक्रम स्थगित गर्नु उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको छ।

त्यसैगरी, यही आइतबार आयोजना हुन गइरहेको नेपाली मेला २०२६ मा क्षेत्री समाज यूकेको सहभागितासमेत फिर्ता लिने निर्णय गरेको छ। समाजले आफ्ना कार्यक्रमभन्दा बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकता दिँदै राहत कोष सङ्कलन अभियान सञ्चालन गरिरहेको जनाएको छ।

समाजको आन्तरिक पहलमा सहयोग सङ्कलन कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। सङ्कलित रकम केही दिनभित्रै सम्बन्धित निकायमार्फत पीडितसमक्ष पुर्‍याइने समाजका अध्यक्ष क्याप्टेन टेक जीसीले जानकारी दिएका छन्।

अध्यक्ष जीसीले संस्था सधैँ समुदायसँग एकताबद्ध भएर उभिने बताउँदै जहाँ र जहिले सहयोगको आवश्यकता पर्छ, त्यहाँ सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बाढी प्रभावितहरूको सहयोगका लागि सुरु गरिएको अभियानमा सहभागी भई सक्दो योगदान गर्न सबैमा आग्रहसमेत गरेका छन्।

नेपालको रसुवा जिल्लासहित उत्तरी क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीले बस्ती, पूर्वाधार तथा जनजीवनमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण ठूलो सङ्ख्यामा मानिस प्रभावित भएका छन् भने बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी छ। विपत्तिबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य जारी रहेको तथा बाढी आउनुको कारणबारे सम्बन्धित निकायहरूले अध्ययन र अनुसन्धान गरिरहेको जनाइएको छ।

क्षेत्री समाज यूकेले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको यथाशीघ्र खोजी तथा सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

समाजले बेलायतमा रहेका आफ्ना सम्पूर्ण सदस्य, शुभेच्छुक तथा नेपाली समुदायलाई यस कठिन घडीमा एकजुट भई नेपालका बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सक्दो सहयोग गर्न अपिल गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू