मंगलबार, चैत ६, २०८०
09:14 | १४:५९

हाम्रो बारेमा

संयुक्त अधिराज्य (बेलायत) मा नेपाली जनसंख्या दिनहुं बढिरहंदा आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक लगायत गतिविधि पनि बढेका छन् । बेलायतवासी नेपाली आफ्नो डायस्पोरासंग सामिप्यमा रहन सधैं इच्छुक र आतुर छ । उनीहरुको सूसुचित रहने आकांक्षा पुरा गर्न व्यवसायिक ढंगले आइपुगेको छ नेपाली लिंक ।

अनुभवी, व्यवसायिक, उत्साहित र सक्रिय बेलायतस्थित नेपाली पत्रकारहरुको एउटा समूहले डिजिटल मिडिया (न्यूज पोर्टल) नेपाली लिंक सञ्चालन गरेको हो । बेलायत रहेर लामो समयदेखि नेपालका मिडिया र ब्रिटेनमै पत्रकारितामा संलग्न पत्रकारहरु नवीन पोखरेल, ध्रुवराज अर्याल र नरेन्द्र बस्नेत नेपाली लिंक हांक्न उत्साहित छन् ।

बेलायतमा नेपाली पत्रकारिताका आफ्नै चुनौति छन् । सिमित श्रोत साधनबीच मिडिया सञ्चालन कत्ति सहज छैन् यहां । पूर्णकालिन पत्रकारितामा आवद्ध रहन सक्ने वातावरण अझै बन्न नसकेको अवस्थामा हाम्रो जुझारु टिम यो चुनौति सामना गर्न हिम्मत र उत्साहका साथ मैदानमा होमिएको छ । हाम्रो केवल स्वार्थ छ निष्पक्ष, स्वतन्त्र, समावेशी, सत्यतथ्य र सामाजिक उत्तरदायित्वमा आधारित पत्रकारिता । हामी न कसैको प्रभाव र दवावमा पर्नेछौं, न कुनै पक्षको मुखपत्रका रुपमा प्रस्तुत ।

‘पत्रकारिता समाजको ऐना हो’ भन्ने विश्वव्यापी मान्यता अनुशरण गरेर समाजका घट्ना सकेसम्म चांडो र जस्ताको तस्तै प्रस्तुत गर्ने हाम्रो ध्येय छ । ‘पत्रकारिता हतारको साहित्य हो’ भन्ने उक्तिबाट हामी अनभिज्ञ छैनौं तर हतारको साहित्यका नाममा काल्पनिक वा तथ्यहीन समाचार छिटो छिटो ‘ब्रेक’ गरेर पहिलो हुनु हाम्रो प्राथमिकता रहने छैन् । हामीले बेलायत र नेपालका गतिविधि, विचार, अन्तर्वार्ता, मल्टीमिडिया र समसामयिक विषयवस्तु नेपाली एवं अंग्रेजी भाषामा प्रस्तुत गर्नेछौं । बेलायतमा जन्मे हुर्किरहेको दोश्रो नेपाली पुस्ता लक्षित अंग्रेजी भाषाका सामाग्रीले उनीहरुलाई मातृभूमिसंग जोडिराख्छ भन्ने अपेक्षा छ ।

नेपाली लिंकले संसारभर छरिएर रहेका नेपालीलाई जोड्न एउटा पुलका रुपमा काम गर्ने हाम्रो विश्वास छ । यसलाई हामीले समस्त नेपालीको आवाजमा रुपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं । प्रवासमा नेपाली कला संस्कृति, धर्म, साहित्य, भाषा, भेषभूषा, परम्परा संरक्षण संवर्धन गर्ने दायित्व हामी सबैमा छ । हामी आफ्ना सामाग्रीमार्फत उल्लेखित दायित्व निर्वाह गर्न सधैं जागरुक हुनेछौं ।

बेलायतस्थित नेपाली समुदाय र संसारभरका राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, अध्यागमन, समसामयिक विषयवस्तु, खेल, कला साहित्य, सफलताका कथा, सामुदायिक गतिविधि हामीले प्राथमिकतासहित समेट्ने विषय हुन् । यसमा तपाईं समस्त पाठक र शुभेच्छुकहरुको साथ सहयोग र रचनात्मक सुझाव सल्लाह हामीलाई खांचो छ ।

नेपाली लिंक टीम

नवीन पोखरेल

प्रधान सम्पादक

ध्रुवराज अर्याल

सम्पादक

नरेन्द्र बस्नेत

मल्टिमिडिया सम्पादक