आइतबार, २८ जुन, २०२६
11:53 | १६:३८

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

इटालियन ब्रान्ड ‘ओजी’ को साम्राज्य बनाउंदै सापकोटा

नेपाली लिङ्क जुन २८, २०२६

लन्डन– ३३ वर्षअघि युरोप छिर्दा दयानिधि सापकोटासँग साथमा केही थिएन । थिए त केवल सपनाका चाङ र मनभरि उत्सुकता।

२० वर्षको कलिलो उमेरमा उच्च शिक्षाका लागि युरोप भासिँदा उनी जति उत्साहित थिए, विरानो देशको अनिश्चितताले त्यति नै चिन्तित पनि ।

बाग्लुङको एउटा शान्त गाउँ छाडेर काठमाडौंको शंकरदेव क्याम्पसमा बीकम पढ्दै गर्दा जर्मनी मोडिएको थियो उनको जीवन । त्यहीँबाट सुरु भयो एउटा यस्तो संघर्ष, जसले उनलाई आज यूकेको हस्पिटालिटी क्षेत्रमा एक सफल उद्यमी र डायस्पोरामा एक स्थापित सामाजिक नेतृत्वकर्ताका रूपमा उभ्याएको छ ।

जर्मनीको सिकाइ र पहिलो रेष्टुरेन्ट

अध्ययनका क्रममा सापकोटाले जर्मनीमा युरोपेली रहनसहन, भाषा र जीवनशैली मात्र बुझेनन्, इटालियन कुजिन (खाना) मा आफ्नो पकड पनि बलियो बनाए । सेफका रूपमा निरन्तरको निखारतापछि २८ वर्षकै उमेरमा (सन् १९९८ मा) उनले इटालियन व्यवसायीहरूसँगको संयुक्त लगानीमा जर्मनीमै पहिलो रेष्टुरेन्ट खोले।

जर्मनीको झन्डै डेढ दशक लामो अनुभव र बसाइ टुङ्ग्याउँदै सापकोटा सन् २००६ मा यूके आए। यूके आएपछि पनि उनले सुरुका ७ वर्ष इटालियन सेफकै रूपमा काम गरे। लामो अनुभव र बजारको गहिरो अध्ययनपछि उनलाई लाग्यो—अब अरूकोमा जागिर गर्नुभन्दा आफैं केही गर्नुपर्छ।

‘ओजी सिम्प्ली इटालियन’ को जग

सन् २०१३ मा परिवारका सदस्यहरू श्रीमती दुर्गादेवी सापकोटा, छोरी जानकी सापकोटा, ज्वाइँ सुरेश पौडेल (मन्जिल मारियो) र उनी आफैं बसेर इटालियन कुजिनमै केही नयाँ गर्ने सल्लाह गरे। सबैको सहमतिमा लेस्टरको लन्डन रोडमा जन्मियो— ‘ओजी सिम्प्ली इटालियन’ ।

सुरुवाती दिनहरू निकै कष्टपूर्ण थिए । युरोपेली समाज र रैथाने ग्राहकका लागि नेपाली परिवारले चलाएको ‘इटालियन रेष्टुरेन्ट’ भन्ने सुन्दा विश्वास गर्न गाह्रो हुन्थ्यो। आफ्नै ब्रान्ड, आफ्नै मेनु र फरक पहिचान स्थापित गर्नु फलामको च्युरा चपाउनु सरह थियो।

सुरुका ६ महिना निकै कठिन संघर्ष भयो, तर सापकोटाले हार मानेनन्। खानाको उच्च गुणस्तर र आत्मीय सेवाका कारण बिस्तारै ग्राहकको मन जित्दै ‘ओजी’ लेस्टरकै सबैभन्दा व्यस्त रेष्टुरेन्टहरूमध्ये एक बन्न सफल भयो।

सफलताको विस्तार र ६० भन्दा बढीलाई रोजगारी

पहिलो आउटलेटको सफलतापछि सापकोटाले सन् २०२२ मा मेल्टन रोड (सिस्टन, लेस्टर) मा दोस्रो रेष्टुरेन्ट ‘बिस्ट्रो ओजी’ सुरु गरे। करिब २ लाख ७० हजार पाउन्ड लगानी र १०० सिट क्षमताको यो रेष्टुरेन्टमा उनलाई व्यावसायिक साझेदार अर्जुन कँडेलले साथ दिएका छन्।

यो प्रयास पनि निकै सफल भएपछि गत वर्ष (सन् २०२५ मा) उनले लेष्टरसायरको हरबरोस्थित किबवर्थमा तेस्रो शाखा ‘ओजी किबवर्थ’ सञ्चालनमा ल्याए । झन्डै ४ रोपनी क्षेत्रफलमा फैलिएको यो रेष्टुरेन्ट ओजी ब्रान्डकै सबैभन्दा ठूलो र व्यस्त आउटलेट हो। यी रेष्टुरेन्टहरू अहिले प्रख्यात इटालियन खाना र क्लासिक ककटेलका लागि लेस्टरभरि चिनिन्छन्।

व्यवसायको यो उचाइसँगै सापकोटाले हाल ६० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन्। विशेष गरी नेपालबाट आएका विद्यार्थी र कामदारहरूलाई तालिम दिएर उनीहरूलाई दक्ष बनाउन उनी अग्रसर छन्। “अरू भन्दा नेपालीहरू अझ राम्रो र इमानदार भएर खट्छन्, नेपालीको यो बानी संसारकै उत्तम छ,“ सापकोटा गौरवका साथ भन्छन्।

परिवार र प्यासनको त्रिवेणी

पाँचवटा भाषामा दख्खल भएका सापकोटा आफ्नो सफलताको श्रेय परिवार र आफ्नो प्यासनलाई दिन्छन्। उनी भन्छन्- ‘एसियाबाट आएका हामीले युरोपमा काम गर्दा यहाँको भाषा, संस्कृति, सभ्यता र खानालाई गहिरिएर अध्ययन गर्नु पर्छ। मेरो आजको सफलतामा सबैभन्दा ठूलो श्रेय मेरो परिवारको कडा मिहिनेत र साथलाई जान्छ। साथै, इटालीका विभिन्न क्षेत्रमा पुगेर त्यहाँको खाना र रहनसहनलाई नजिकबाट बुझेकाले पनि मलाई यो व्यवसाय मुटुदेखि नै आत्मसाथ गर्न सहज भयो।’

दैनिक १८ घण्टासम्म खट्ने सापकोटाका लागि व्यावसायिक जीवन एउटा पाटो हो भने सामाजिक सेवा र परोपकार अर्को अनिवार्य निष्ठा हो।

‘बिहुँकोट हेल्प नेटवर्क यूके’ देखि विश्व एनआरएनएसम्म सामाजिक योगदान

व्यावसायिक उचाइ सँगसँगै दयानिधि सापकोटाको सामाजिक क्षितिज पनि निकै फराकिलो र अनुकरणीय छ। उनी जन्मभूमिको माटो र डायस्पोरालाई जोड्ने पवित्र उद्देश्य बोकेको ‘बिहुँकोट हेल्प नेटवर्क यूके’ का संस्थापक अध्यक्ष हुन्, जसका माध्यमबाट उनले थुप्रै परोपकारी, कल्याणकारी र सामाजिक कार्यहरूको अगुवाइ गर्दै आएका छन्।

विभिन्न सामाजिक संघ–संस्थाहरूमा उनको सक्रियता र निःस्वार्थ योगदानका उदाहरणीय पाटाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र पत्रपत्रिकाहरूमा पटक–पटक प्रमुखताका साथ प्रकाशित हुँदै आएका छन्।

गैरआवासीय नेपालीका मुद्दाहरू र डायस्पोरालाई कसरी एकीकृत गर्ने भन्ने मान्यताका साथ उनी सन् २०११ देखि एनआरएन अभियानमा जोडिएका थिए ।

बेलायतको एनआरएनदेखि लिएर विश्व एनआरएनसम्म उनले आफ्नो फरक, रचनात्मक र प्रभावकारी कार्यशैलीका कारण छुट्टै पहिचान बनाएका छन्।

एनआरएनए आइसीसी सदस्य हुँदै युरोप उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका सापकोटा विगत १५ वर्षदेखि यस अभियानमा निरन्तर क्रियाशील छन्।

आफ्नो कर्मभूमि यूकेमा मात्र होइन, आफ्नो मातृभूमि नेपालका विभिन्न विपन्न, सामाजिक, शैक्षिक र परोपकारी क्षेत्रमा उनले पुर्‍याएको ठूलो आर्थिक तथा भौतिक सहयोग र सामाजिक गुनको चर्चा हरेक क्षेत्रमा उत्तिकै हुने गरेको छ।

साझा नेपाली समाज यूकेका ट्रष्टी तथा सृजनशील लेस्टरका पूर्व अध्यक्ष समेत रहेका सापकोटा अबका दिनमा व्यवसायलाई स्थापित गर्दै समाजसेवा र डायस्पोराको काममा अझ बढी समय दिने सोचमा छन्।

‘लोकतन्त्र र सामाजिक विकासका लागि विद्यार्थी राजनीतिमा लाग्दा जेल जीवनको अनुभव समेत भयो’, नेपाल फर्किएर सक्रिय राजनीति गर्ने सम्भावनालाई घुमाउरो पाराले अस्वीकार गर्दै उनी भन्छन्, ‘तर, अहिले यूकेको यो सबै व्यवस्था छाडेर राजनीति गर्नकै लागि नेपाल गइहाल्छु भन्न सक्दिन। विदेशमै रहेर डायस्पोरासँग निकट भई काम गर्ने र नेपाल जाँदा सामाजिक सेवाका कार्यहरूलाई अझ बढी निरन्तरता दिने मेरो लक्ष्य छ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू