बिहीबार, २७ अगस्ट, २०२६
16:35 | २१:२०

लन्डनमा आइतबारलाई तय नेपाली मेला नरोकिने, पूरै वचत बाढीपीडितलाई

नेपाली लिङ्क अगस्ट २७, २०२६

लन्डन- बेलायतमा यही आइतबारका लागि तय १७ औं नेपाली मेला पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने भएको छ ।

नेपालमा बाढीका कारण सिर्जना भएको विपदको सन्दर्भमा विहीबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा सम्पन्न आयोजक तमुधिं यूकेको आकस्मिक बैठकले मेला पूर्ववत योजनाअनुसार नै सुचारु गर्ने निर्णय गरेको हो।

अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा बसेको बैठकले तयारीका सबै कार्य अन्तिम चरणमा पुगेको अवस्थामा मेला स्थगित नगर्ने निष्कर्ष निकालेको हो।

मेलालाई बेलायतभरका नेपालीहरु भेला भइ सामूहिक रुपमा शोक मनाउने अवसरका रुपमा लिने र मेलाबाट बचत हुने सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमार्फत् नेपालका बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको मेलाका संयोजक एवम् तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले जानकारी दिए।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेला पूर्व निर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने भएकाले बेलायतवासी सम्पूर्ण नेपालीलाई सहभागिताको अपील गरेका छन् ।

‘देश ठूलो विपद र शोकमा परेको बेला यसपटक हामीले फरक ढंगले मेला आयोजना गर्दैछौं। सबैजना आउनुहोला, संगै बसेर शोक मनाउंला र बाढीबाट पीडित हाम्रा दिदीबहीनी, दाजुभाइहरुको लागि जति सकिन्छ त्यति सहयोग जुटाउंला’, अध्यक्ष गुरुङले भने।

तमुधिं यूके सचिव विमल गुरुङले सञ्चालन गरेको बैठकमा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, ट्रष्टी सुर्य गुरुङ, सल्लाहकार दिलरस गुरुङ, गोर्खा मिडिया निर्देशक मिलन तमु, ओम लामालगायतको सहभागिता थियो ।

१७ औं नेपाली मेला यही आइतबार अगष्ट ३० मा लन्डनको केम्पटन पार्क रेसकोर्समा बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुंदैछ।

यसअघि अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा विशाल गुरुङले एक वक्तव्य जारी गर्दै बाढीका कारण सिर्जित विपत्तिप्रति तमुधिं यूकेका तर्फबाट दुख व्यक्त गरेका छन्। विपदको बेला सारा नेपालीहरु एकजुट भइ आवश्यकतामा परेकाहरुको सहयोगमा उभिन संस्थाले आव्हान समेत गरेको छ ।

तस्विर: मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू