यूके एनएचएसमा कार्यरत डा. पौडेल मीरा राई इनिसिएटिभका लागि सहयोग अभियानमा


लन्डन — बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा दुई दशकभन्दा बढी समयदेखि कार्यरत डा. सुरजमणि पौडेलले नेपालका बालिका तथा युवा महिलालाई सशक्त बनाउने उद्देश्यले सञ्चालित मीरा राई इनिसिएटिभका लागि सहयोग संकलन अभियान सुरु गरेका छन्।
डा. पौडेलले गत २६ अप्रिल २०२६ मा विश्वप्रसिद्ध टीसीएस लन्डन म्याराथन सफलतापूर्वक पूरा गरेका थिए। उनले म्याराथन पूरा गरेपछि मात्र परिवार, साथीभाइ, सहकर्मी तथा समुदायसँग सहयोगको आग्रह गर्ने निर्णय गरेका हुन्।
उनले म्याराथनअघि प्रायोजनका लागि आग्रह नगर्नुको कारण आफ्नो व्यक्तिगत लक्ष्यभन्दा उपलब्धिका लागि सहयोग जुटाउन चाहेको बताए।
अब उनले म्याराथन पूरा गरेको अवसरमा £२,०२६ रकम संकलन गर्ने लक्ष्य राखेका छन्। संकलित रकम शत प्रतिशत नेपालमा सञ्चालित मीरा राई इनिसिएटिभलाई प्रदान गरिने उनले बताए। यो लिंकमा गएर सक्दो सहयोग गर्न सबै शुभेच्छुकहरुलाई डा पौडेलले आग्रह गरे ।
मीरा राई इनिसिएटिभ किन?
विश्वप्रसिद्ध नेपाली ट्रेल रनर मीरा राईको जीवन संघर्ष र सफलताबाट प्रेरित भएर डा. पौडेलले उनको पहललाई सहयोग गर्ने निर्णय गरेका हुन्।
नेपालको दुर्गम गाउँमा जन्मिएकी मीरा राई गरिबी, द्वन्द्वलगायत अनेकौँ चुनौती पार गर्दै अन्तरराष्ट्रिय स्तरकी चर्चित ट्रेल रनर बन्न सफल भएकी हुन्। उनलाई नेशनल जियोग्राफिक साहसी उपाधि समेत प्रदान गरिएको थियो।
आफ्नो अनुभवलाई अरूका लागि अवसर सिर्जना गर्ने माध्यम बनाउने उद्देश्यले मीराले मीरा राई इनिसिएटिभ स्थापना गरेकी हुन्।
संस्थाले दौड, शिक्षा, नेतृत्व विकास तथा विभिन्न अवसरमार्फत नेपालका बालिका र युवा महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरणमा काम गर्दै आएको छ।
डा. पौडेलका अनुसार, दौडले मीराको जीवन परिवर्तन गरेजस्तै उनको पहलमार्फत अन्य धेरै बालिका तथा युवा महिलाको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको छ।
नेपालसँगको सम्बन्ध
लन्डन म्याराथनमा सहभागी हुने अवसर नेपाल रन यूकेमार्फत प्राप्त भएको बताउँदै डा. पौडेलले उक्त संस्थाले दौडमार्फत स्वास्थ्य, शारीरिक तथा मानसिक तन्दुरुस्ती र सामुदायिक सहभागिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गरे।
नेपालमा जन्मिएर बेलायतमा आफ्नो जीवन तथा व्यावसायिक करिअर निर्माण गरेका कारण नेपालका युवाका लागि अवसर सिर्जना गर्ने अभियानमा सहभागी हुन पाउनु आफ्ना लागि विशेष महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
‘हरेक बालबालिका तथा युवाले आफू जन्मिएको स्थान वा जीवनमा आइपर्ने परिस्थितिको पर्वाह नगरी आफ्नो सपना देख्ने, प्रतिभा विकास गर्ने र क्षमताअनुसार अघि बढ्ने अवसर पाउनुपर्छ’ भन्ने मान्यता आफूले राखेको डा. पौडेलले बताए।
परोपकारी अभियानमा निरन्तर सक्रिय
परोपकारी तथा स्वयंसेवी कार्यमा लामो समयदेखि संलग्न डा. पौडेलले यसअघि पनि विभिन्न अभियानमार्फत सहयोग संकलन गरिसकेका छन्।
उनी Croydon Health Services NHS Trust मा Head of Clinical Coding & Data Quality का रूपमा कार्यरत छन्।
सन् २०२३ मा उनले ५५ माइल लामो लन्डन–ब्राइटन साइकल यात्रा पूरा गर्दै Croydon Health Charity को Little Breaths Appealका लागि करिब £३,००० संकलन गरेका थिए।
उक्त अभियानबाट संकलित रकमबाट Croydon University Hospital मा बालबालिकाका लागि दुईवटा जीवनरक्षक भेन्टिलेटर खरिद गर्न सहयोग पुगेको थियो।
त्यस्तै, सन् २०२५ को सेप्टेम्बरमा डा. पौडेल, उनकी श्रीमती प्रतिभा तथा छोराछोरी एभा र एभानले Croydon Health Charity को Move For Good 10K Walk मा सहभागी हुँदै अस्पतालमा डिमेन्सिया भएका बिरामीका लागि चिकित्सकीय तथा उपचारात्मक बगैँचा निर्माण गर्ने अभियानमा सहयोग गरेका थिए। उक्त सामूहिक अभियानबाट £१७,००० भन्दा बढी रकम संकलन भएको थियो।
डा. पौडेलले लन्डन म्याराथन अभियानका लागि तोकेको £२,०२६ लक्ष्य आफूले म्याराथन पूरा गरेको वर्ष २०२६ लाई प्रतिनिधित्व गर्ने गरी तय गरिएको बताए।
उनले सहयोग रकम ठूलो वा सानो जस्तोसुकै भए पनि प्रत्येक योगदानले नेपालका बालिका तथा युवा महिलाका लागि नयाँ अवसर सिर्जना गर्न मीरा राई इनिसिएटिभलाई सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।
मीरा राई इनिसिएटिभ र उनको अभियानबारे थप जानकारी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


