बेलायती राजाद्वारा विनाशकारी बाढीप्रति दुःख व्यक्त, बेलायतले ५० लाख पाउन्ड सहायता दिने


फोटो: बीबीसी
लन्डन । नेपाल–तिब्बत सीमा क्षेत्रनजिक आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएपछि बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाले गहिरो दुःख व्यक्त गरेका छन्।
राजा चार्ल्सले आफू र रानी क्यामिला यस दुःखद घटनाबाट मर्माहत भएको जनाउँदै आफन्त गुमाएका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
राजाको वक्तव्यमा भनिएको छ, “यस क्षेत्रसँग बेलायतका धेरै मानिसको गहिरो र व्यक्तिगत सम्बन्ध छ। आफन्तको समाचारको व्यग्र प्रतीक्षामा रहेका परिवारहरूको पीडा हामीले गहिरोसँग महसुस गरेका छौँ।”
उद्धार तथा सेवामा खटिने क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति पनि राजाले श्रद्धाञ्जली अर्पण गरेका छन्।
त्यसैगरी, वेल्सका राजकुमार विलियम र राजकुमारी क्याथरिनले घटनाप्रति स्तब्धता व्यक्त गर्दै प्रभावित सबैलाई सम्झिरहेको बताएका छन्।
नेपाली अधिकारीहरूका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब चार सय पुगेको छ। एक हजार ३०० भन्दा बढी मानिस बेपत्ता रहेको र उनीहरूमध्ये ६४४ जना पर्यटक भएको जनाइएको छ।
बाढीपछि १३ वर्षीया बालिका र १४ वर्षीय किशोरसहित ३३ जना बेलायती नागरिक बेपत्ता रहेको जनाइएको छ।
त्यस्तै, बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले नेपालमा राहत तथा उद्धार कार्यलाई सहयोग गर्न ५ मिलियन पाउन्ड उपलब्ध गराउने घोषणा गरेका छन्।
नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध तथा कठिन समयमा एकअर्कालाई गरेको सहयोग प्रधानमन्त्री बर्नहमले स्मरण गरेका छन्।
उनले विगतमा बेलायतलाई आवश्यकता परेको बेला नेपालले सहयोगका गरेको भन्दै अहिले नेपाललाई आवश्यकता परेको बेला सहयोगका लागि बेलायत तयार रहेको जनाएका छन् ।
बाढीमा परी सम्पर्कविहीन हुनेमा कैलाश मानसरोवर तीर्थयात्रामा गएका पर्यटकको सङ्ख्या उल्लेख्य छ। अल्पाइन इको ट्रेकमार्फत यात्रामा गएका १२ जना बेलायती सम्पर्कविहीन छन्। उनीहरूमध्ये १३ वर्षीया बालिकासमेत छिन्।
त्यसैगरी, द ट्रेकर्स सोसाइटीका नौ जना, कैलाश जर्निजका दुई जना, हिमालयन ग्लेसियर यूएसका दुई जना र फिस्टेल टुर्सका एक जना बेलायती नागरिक बेपत्ता रहेको सम्बन्धित भ्रमण कम्पनीहरूले जनाएका छन्।
सुरुमा भूकम्पका कारण बाढी आएको अनुमान गरिएको थियो। तर अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) ले रेकर्ड भएको ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय गतिविधि वास्तवमा हिमनदी भत्किएपछि आएको पहिरो तथा गेग्रानको तीव्र बहावबाट उत्पन्न भएको स्पष्ट पारेको छ।
कोरोना महामारी र भारत–चीनबीचको तनावका कारण लामो समय अवरुद्ध भएको कैलाश मानसरोवर तीर्थयात्रा हालसालै पुनः सञ्चालनमा आएको थियो। यात्रा पुनः सुरु भएको केही समयमै आएको यस विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ।
बेलायती अधिकारीहरूले नेपालका सम्बन्धित निकायसँग निकट समन्वयमा रही बेपत्ता नागरिकको खोजी तथा उद्धारमा सहयोग गरिरहेको जनाएका छन्।
उनीहरूले बेपत्ता भएका सम्पूर्णको यथाशीघ्र सकुशल उद्धारको कामनासमेत गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


