बिहीबार, २७ अगस्ट, २०२६
17:52 | २२:३७

बाढी प्रभावितको खोज, उद्धार र राहतमा तत्काल जुट्न सरकारसँग नेपाल पत्रकार महासंघ यूकेको माग

नेपाली लिङ्क अगस्ट २७, २०२६

लन्डन। नेपाल पत्रकार महासंघ यूकेले नेपालका विभिन्न जिल्लामा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार, घाइतेको यथोचित उपचार र बाढी प्रभावितलाई अत्यावश्यक राहत तत्काल उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गरेको छ।

महासंघले विपत्तिको यस कठिन घडीमा बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई सर्वोच्च प्राथमिकतामा राखी राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग आग्रह गरेको छ।

सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिनुपर्ने महासंघको भनाइ छ।

त्यस्तै, बाढीमा परी घाइते भएकाहरूको तत्काल उद्धार गरी यथोचित उपचारको व्यवस्था गर्न तथा हराइरहेका नागरिकको खोजी र उद्धारमा कुनै किसिमको ढिलाइ नगर्न महासंघले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आवासलगायतका अत्यावश्यक राहत सामग्री तत्काल उपलब्ध गराउन समेत महासंघले माग गरेको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री सहज रूपमा पुर्‍याउन आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

महासंघले बाढीका कारण अवरुद्ध भएका सडक, सञ्चार, विद्युत् तथा अन्य अत्यावश्यक सेवाहरू यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ। प्रभावित क्षेत्रका नागरिकलाई राहत र उद्धारमा सहज पहुँच सुनिश्चित गर्न राज्यका सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको महासंघको भनाइ छ।

विज्ञप्तिमार्फत महासंघले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनयापनको कामना गरेको छ।

यसैबीच, नेपाल पत्रकार महासंघ यूकेले विपत्तिको घडीमा सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ–संस्था, सञ्चार क्षेत्र, व्यवसायी, गैरआवासीय नेपाली समुदाय तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एकजुट भई मानवीय उद्धार तथा राहत कार्यमा सक्दो सहयोग गर्न आह्वान गरेको छ।

महासंघले राजनीतिक वा अन्य कुनै पनि प्रकारको विभेदभन्दा माथि उठेर प्रभावित नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्न सबै पक्षलाई अपिल गरेको छ। मानवीय संवेदना, राष्ट्रिय एकता र पारस्परिक सहयोगमार्फत विपत्तिमा परेका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन सकिने महासंघको विश्वास छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू