सोमबार, १४ सेप्टेम्बर, २०२६
16:30 | २१:१५

विपदको बेला एनआरएनए एकद्वार प्रणालीबाट हुन सक्छ प्रभावकारी सहयोग

नेपाली लिङ्क अगस्ट २७, २०२६

लेखक फडिन्द्र भट्टराई

तिब्बती क्षेत्रबाट आएको भिषण बाढीले नेपालका रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा बितण्डा मच्चाएको छ । यकिन धनजनको क्षति विवरण आउन बाँकी नै छ । प्रारम्भिक रिपोर्टहरुलाई हेर्ने हो भने सयौंको संख्यामा देशी विदेशी मान्छेहरु बेपत्ता भएका छन् भने अर्बौंका संरचनाहरु ध्वस्त भएका छन् । यस्तो दुःखद र अकल्पनीय घटनाले संसारभर बस्ने गैरआवासीय नेपालीहरु पनि विक्षिप्त भएका छन् ।

नेपालमा कुनै बिपत आइपर्दा होस् वा कुनै दुःखको समयमा होस्, नेपाल दुख्दा आफ्नो मुटु अमिलो पारेर सामान्यीकरणको प्रार्थना गर्ने र आफ्नो हैसियत अनुसारको सहयोग गर्ने प्रवासी नेपालीहरुको नियती जस्तै बनेको छ ।

हिजोको यो घटनालाई मिडियामा पिछा गर्दा आँखा नरसाउने प्रवासी नेपालीहरु सायदै होलान् भन्दा अतिसयुक्ति नहोला । यस्ता घटनाहरु हेरिसकेपछि कसरी म पनि यसमा सहयोग गर्न सक्छु भन्ने पहिलो प्रश्नले उनीहरुलाई घोच्न शुरु गरिहाल्छ ।

संसारका हरेक जसो देशमा बस्ने नेपालीहरु संस्थागत तथा व्यक्तिगत जुनसुकै रुपमा भएपनि सानो ठूलो सहयोग गर्न चाहन्छन् । यो दुःखद घटना पछि मेरो मनमा जन्मिएको प्रश्न पनि यही हो सहयोग त गर्ने तर कसरी र कुन रुपमा गर्ने ?

एउटा त संयोगले नेपालमै भएको अवस्था वा अनुकुल भए भौतिक रुपमै स्थलगत सहयोग पुरयाउनु उत्तम हो । यो विकल्प सबैलाई सरल र सहज नहुने भएकाले आर्थिक सहयोगमार्फत आत्मसन्तुष्टि लिएर बस्ने बाहेकको कुनै विकल्प 
हुंदैन । अब आर्थिक सहयोगका लागि को वा कुन संस्थामार्फत कसरी गर्ने भन्नेमा अन्योल पनि देखिन्छ । नेपालको वर्तमान अवस्थाले हामीहरु सबैलाई असह्य पीडा भएको छ । अब विदेशबाट गर्न सकिने भनेको आर्थिक सहयोग नै हो । तर यो कसरी र कताबाट गर्ने भन्नेमा अन्यौल देखिन्छ।

सरकारले एकद्वार प्रणाली मात्रै भनेको छ जुन सान्दर्भिक नै छ । हामीहरु प्राय धेरै जसो संघ संस्थामा आवद्ध पनि छौं । यता बेलायततिर पनि धेरै संघसंस्थाले सहयोग संकलन गर्न शुरु गरेका छन् । जसरी गरे पनि त्यही कोषमा रकम पुग्ने हो । एउटा व्यक्तिले फरक फरक संस्थामार्फत पटक पटक सहयोग गर्ने कुरा सम्भव हुंदैन । तसर्थ संघसंस्थाहरुले यो कुरा मनन गर्नु पर्छ जस्तो लाग्छ । सहयोग प्राय सबैले आ आफ्नै ढंगले गर्ने नै छन् । संस्थागत दवाव भन्दा पनि जसरी गर्छन् उनीहरुलाई स्वतस्फुर्त छाडिदिनु पर्छ जस्तो लाग्छ । तथापी एनआरएनका सबै राष्ट्रिय समन्वय परिषदहरुले आ आफ्नो देशका संघसंस्थासंग समन्वय गरेर आइसीसीमार्फत एकद्वार रुपमा सहयोग पठाउन सके उल्लेख्य हुने थियो ।

नेपाल सरकारले एकद्वार सहयोग प्रणालीको कुरा गरिरहेको परिप्रेक्ष्यमा सरकारको आपतकालीन कोषमा रकम सिधै जम्मा गर्नु स्वाभाविक पहिलो विकल्प हुन सक्छ । संगसंगै गैरआवासीय नेपाली संघ मार्फत सहयोग गर्नु प्राथमिक र वैकल्पिक बाटो हुन सक्छ ।

बेलायतमा मात्रै दर्जनौं सक्रिय नेपाली संघसंस्थाहरु क्रियाशील छन् । उनीहरुले एकल वा संयुक्त रुपमा यस्ता अवस्थाहरुमा नेपालमा जीवन्त सहयोग पुरयाउंदै आएका छन् । संसारका ८० बढी देशमा एनआरएन राष्ट्रिय समन्वय परिषदहरु छन् । यी सबै मिलेर केन्द्रिकृत रुपमा अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत सहयोग पुर्‍याउन सके मात्र यो सहयोग उल्लेख्य बन्न सक्छ ।

यसरी गरिने सहयोग वर्तमान परिप्रेक्ष्यमा एनआरएनमार्फत नै गर्नु उपयुक्त हुने विचार मेरो मनमा लागेको छ । तर, त्यस्तो वातावरण भने बनिरहेको देखिदैन । यो भनिरहंदा म के पनि उल्लेख गर्न चाहन्छु भने म आफैं वर्तमानमा एनआरएनको साधारण सदस्य बाहेक कुनै पदाधिकारीको रुपमा भने आवद्ध छैन् । विगत समयका एनआरएन भित्रको झैँ झगडा देख्दा दिग्दार लाग्ने तपाईंहरु मध्येको म पनि हुँ ।

आखिर नेपाल सरकारको नीति अनुसार एकद्वार प्रणाली भनिसकेपछि छुट्टा छुट्टै आफैं सहयोग सामाग्री किनेर पुर्‍याउने सम्भावना न्यून देखिन्छ । यो सन्दर्भमा सरकारलाई सहयोग त पुग्छ तर संस्थागत अथवा व्यक्तिगत रुपमा देखिने वा चिनिने अवस्थाको अभिलेखीकरणको कुनै महत्व हुंदैन । अर्कोतर्फ एनआरएनमार्फत सहयोग संकलन भयो भने एकमुष्ठ रुपमा विदेशमा बस्ने नेपालीहरुको सहयोग उल्लेख्य रहने अवस्था हुन्छ ।

हिजो मात्रै एनआरएन आइसीसीले ५ करोडको सहयोग घोषणा गरेको र सहयोग सामाग्री सहित झन्डै दुई दर्जन पदाधिकारी र सचिवालय कर्मचारीहरु प्रभावित क्षेत्रमा पुगिसक्नु भएको देखिन्छ जुन सराहनीय कदम हो हो । साच्चिकै यसको समन्वय केन्द्रिकृत रुपमा गर्न सक्ने हो भने यही अवसरमा पचासौं करोड सहयोग नेपालमा पठाउन सकिन्छ । जब जब एनआरएनको नागरिकता लगायतको मुद्दाको प्रसंग उठ्छ तब तब यो संघको नेपाल प्रतिको योगदानको प्रश्न पनि संगै तेर्सिने गरेको छ । एनआरएनले आपसी किचलोको बावजुद पनि विगतमा नेपालमा धेरै सहयोगी हातहरु फैलाएको छ जुन सदैव छाँयामा पर्ने गरेको छ । कतिपय अवस्थामा विवादहरु निम्तिएका छन् भने कतिपयले 
पारदर्शीताको प्रश्न पनि उठाउने गरेका छन् ।

एनआरएनको काठमाडौं सचिवालय यो मामिलामा अनुभवी पनि छ । आन्तरिक विवाद बावजुद एनआरएन आफैसंग कर्मचारी र स्वयंसेवकको दस्ता नै खडा छ । सरकारसंगको संवादमा एनआरएन आफैंले पनि यस्ता सहयोगको परिचालन गर्न सक्छ । भूकम्प, कोभिड लगायतका अवस्थामा काम गरेको अनुभवका आधारमा पनि म यो कुरा गर्न सक्छु ।

तर, एनआरएन झगडाको तमासा धेरैपटक हेरिसकेका प्रवासी नेपालीहरु ‘ह्या’ एनआरएन भन्दै कपाल कन्याउने अवस्थामा छन् । अहिले पनि 
चोइटिएर बसेका समूह समूहका आ आफ्नै स्वार्थ छन् । कसले क्रेडिट लिने भन्नेमा होडबाजी हुने गर्दछ ।

तथापी दुःख र विपदको समयमा एकवद्ध हुने नेपालीहरुको बानी जस्तै हो । असन्तुष्ट समूहहरु पनि एक ठाउंमा आउने र त्यस्तो वातावरण बनाउने अर्को समूहको जिम्मेवारी हो । म स्वयंले प्रक्रियागत रुपमा हेर्ने बाहेक कुनै समूहको पक्षपोषण गर्ने गरेको छैन् । तरपनि एउटा निश्चित कालखण्ड सम्म यो संघको महत्व छ र रहन्छ पनि । टुटेर फुटेर त्यो गन्तब्यमा पुग्न पनि सकिंदैन ।

तसर्थ सबै सबैले यसको महत्वबोध गरेर जन्मभूमि नेपाल घाइते भएर छटपटाई रहेको बेलामा एकताबद्ध भएर सबैको विश्वास लिएर मलम पट्टी गर्ने कुरामा सद्बुद्धि पलाआोस् । सबैजना एक ठाउंमा आएर देशलाई दुखेको बेलामा सहयोग गरौँ । यो र त्यो को बहानामा पन्छिने काम नगरौं । नेपाल देशको जय होस् ।

(लेखक एनआरएनए यूके पूर्व महासचिव हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू