शनिबार, १५ अगस्ट, २०२६
19:30 | ००:१५

इंग्ल्याण्ड र वेल्समा डढेलोको जोखिम, लाखौँको मोबाइलमा आपतकालीन अलर्ट

नेपाली लिङ्क अगस्ट १५, २०२६

लन्डन– इंग्ल्याण्ड र वेल्समा डढेलोको उच्च जोखिम देखिएपछि सरकारले शुक्रबार साँझ लाखौँ मानिसको मोबाइलमा आपतकालीन चेतावनी पठाएको छ।

बेलायतको आपतकालीन अलर्ट प्रणाली सक्रिय गर्दै सर्वसाधारणलाई आगो सल्किन सक्ने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गरिएको हो। उपप्रधानमन्त्री लुइस हेगका अनुसार यो अहिलेसम्मकै सबैभन्दा व्यापक अलर्ट प्रयोग हो।

शुक्रबार साँझ करिब ७ बजे साइरनसहित पठाइएको सन्देशमा देशभर डढेलोको गम्भीर जोखिम रहेको जनाइएको छ। सरकारले जोखिम कायम रहेसम्म बार्बेक्यु, क्याम्पफायर, आतिशबाजी तथा अन्य कुनै पनि खुला आगो नबाल्न आग्रह गरेको छ । साथै कतै आगो लागेको देखेमा तत्काल ९९९ मा सम्पर्क गर्न पनि भनिएको छ।

डिस्पोजेबल बार्बेक्युको बिक्रीमा अस्थायी राष्ट्रिय प्रतिबन्धसमेत तत्काल लागू गरिएको छ। प्रधानमन्त्री एन्डी बर्नहमले शुक्रबार प्रभावित क्षेत्रको भ्रमण गर्दै अत्यन्त सुख्खा र संवेदनशील अवस्थाका कारण आगामी सप्ताहन्त कठिन हुनसक्ने चेतावनी दिएका छन्।

वेस्ट मिडल्यान्ड्सको स्टोरब्रिज क्षेत्रमा शृंखलाबद्ध डढेलोले घरहरू नष्ट गर्नुका साथै केही बासिन्दा घाइते भएपछि दक्षिण वेल्समा नियन्त्रण कार्य कठिन बन्न पुगेको छ र त्यहाँ सहयोगका लागि सेनासमेत परिचालन गरिएको छ। करिब १०० सैनिक कर्मचारी खटाइएका र थप १०० जना तयारी अवस्थामा रहेको जनाइएको छ।

यस वर्ष डढेलोका हिसाबले रेकर्ड नै बनेको छ । अहिलेसम्मका आगलागी घटनाको संख्या गत वर्षको १ हजार १७ लाई नाघेको छ भने बिहीबारदेखिको २४ घण्टामा मात्रै ११ वटा ठूला घटनालाई ‘प्रमुख आपत्’ घोषणा गरिसकिएको छ।

उपप्रधानमन्त्री हेगले अत्यधिक गर्मी र सुख्खाले जोखिम असाधारण रूपमा बढेको बताउँदै सावधानी अपनाउन आग्रह गरेकी छन्। सरकारले प्रभावित क्षेत्रलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने तथा थप सैनिक जनशक्ति परिचालन गर्ने जनाएको छ।

अधिकारीहरूले आगामी केही दिन अत्यावश्यक बाहेक खुला क्षेत्रमा आगो प्रयोग नगर्न र आपतकालीन निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू