ब्ल्याक फ्राइडेको अफरमा ठगिने जोखिम,अनलाइन किनमेलमा सतर्क रहन आग्रह

लन्डन । ब्ल्याक फ्राइडेमा आकर्षक छुटमा सामान किन्ने तयारी भइरहेका बेला नक्कली वेबसाइट, इमेल र सन्देशमार्फत हुने ठगीबाट सावधान रहन आग्रह गरिएको छ। परिचित ब्रान्डको लोगो र ‘अफर सकिन केही मिनेट मात्र बाँकी’ जस्ता सन्देश देखेर हतारमा भुक्तानी गर्दा पैसा तथा व्यक्तिगत विवरण गुम्ने जोखिम हुन्छ।
नोभेम्बरको ब्ल्याक फ्राइडे किनमेलसँगै जनवरी अन्त्यको सेल्फ असेसमेन्ट कर विवरण बुझाउने समयलाई पनि ठगहरूले अवसरका रूपमा प्रयोग गर्न सक्छन्। बेलायतमा रहेका नेपाली समुदायका अनलाइन किनमेलकर्ता तथा कर विवरण बुझाउने व्यक्तिहरू पनि यस्ता ठगीबाट सचेत हुन आवश्यक छ।
ब्ल्याक फ्राइडेको बहानामा ठगहरूले वास्तविक पसल वा ब्रान्डजस्तै देखिने सामाजिक सञ्जाल खाता र वेबसाइटमार्फत विज्ञापन गर्न सक्छन्। त्यस्ता वेबसाइटमा भुक्तानी गरेपछि सामान नआउने वा कार्ड तथा व्यक्तिगत विवरण चोरी हुने जोखिम हुन्छ।
बार्कलेज बैंककी ठगीसम्बन्धी विज्ञ किर्स्टी एडम्सले अफर सकिन लागेको दबाबमा परेर हतारमा खरिद नगर्न सुझाव दिएकी छन्। आकर्षक विज्ञापन वा परिचित लोगो देखिनु मात्र कुनै वेबसाइट वास्तविक भएको प्रमाण होइन।
सुरक्षित किनमेलका लागि इमेल, एसएमएस वा सामाजिक सञ्जालमा आएको लिङ्क खोल्नुको सट्टा सम्बन्धित पसलको आधिकारिक वेबसाइट वा एप आफैँ खोल्न सुझाव दिइएको छ। वेबसाइटको ठेगाना ध्यानपूर्वक जाँच गर्न र अपरिचित विक्रेताको बैंक खातामा सिधै रकम पठाउनुको सट्टा विश्वसनीय भुक्तानी प्रणालीमार्फत डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरिएको छ।
यसैबीच, कर फिर्ता पाउने प्रलोभन वा कारबाहीको धम्की दिएर हुने ठगीबाट पनि सतर्क रहन एचएमआरसीले आग्रह गरेको छ। बीबीसीलाई उपलब्ध गराइएको तथ्याङ्कअनुसार अक्टोबर अन्त्यसम्मको एक वर्षमा एचएमआरसीमा शङ्कास्पद ठगीसम्बन्धी ९५ हजार ३४० उजुरी परेका छन्। तीमध्ये ९०० उजुरी इमेलमा पठाइएको हानिकारक फाइलसँग सम्बन्धित थिए। त्यस्ता फाइलले प्रयोगकर्तालाई व्यक्तिगत तथा आर्थिक विवरण चोर्ने नक्कली सरकारी वेबसाइटमा पुर्याएका थिए।
एचएमआरसीका अनुसार उसले कर फिर्ता पाउने जानकारी दिन वा फिर्ता रकम दाबी गर्न आग्रह गर्दै इमेल, एसएमएस वा फोन गर्दैन। त्यस्तै, इमेल वा एसएमएसबाट व्यक्तिगत तथा आर्थिक विवरण माग्दैन र कानुनी कारबाही वा पक्राउको धम्कीपूर्ण भ्वाइस सन्देश पनि छाड्दैन।
करसम्बन्धी शङ्कास्पद सन्देश आएमा त्यसमा दिइएको लिङ्क वा सम्पर्क नम्बर प्रयोग गर्नुको सट्टा आफैँ GOV.UK को वेबसाइट खोलेर आधिकारिक जानकारी जाँच गर्न सकिन्छ।
कुनै अफर वा सन्देशमा शङ्का लागेमा परिवार, साथी वा बैंकसँग सल्लाह लिन सुझाव दिइएको छ। शङ्कास्पद वेबसाइटमा भुक्तानी गरिसकेको वा आर्थिक विवरण दिएको आशङ्का भएमा बैंकको आधिकारिक एप वा कार्डमा रहेको नम्बरमार्फत तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



