आइतबार, २२ नोभेम्बर, २०२६
21:57 | ०३:४२

यूकेमा निर्देशक गुरुङसहित लोकप्रिय कलाकारहरुसंग हुंदैछ साक्षात्कार

नेपाली लिङ्क नोभेम्बर २२, २०२६

लन्डन । नेपाली कला, विज्ञान तथा साहित्य मञ्च बेलायतले चर्चित चलचित्र निर्देशक तथा पटकथा लेखक रामबाबु गुरुङसहित नेपाली चलचित्रका स्थापित कलाकारहरूसँग अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।

‘नेपाली सिनेमा–पटकथादेखि पर्दासम्म’ शीर्षकमा आगामी २८ नोभेम्बर २०२६, शनिबार केन्टको फोक्स्टनस्थित थ्री हिल्स स्पोर्टस पार्कमा कार्यक्रम आयोजना गरिने संयोजक डा. महा राईले जानकारी दिए।

कार्यक्रममा निर्देशक गुरुङसँगै अभिनेत्रीहरू सिर्जना सुब्बा, पशुपति राई, रिस्मा गुरुङ र सिर्जना गुरुङको विशेष सहभागिता रहनेछ।

नेपाली चलचित्रको विकास, पटकथा लेखन, सिर्जनात्मक प्रक्रिया तथा कथालाई पर्दासम्म पुर्‍याउँदाका अनुभवबारे सर्जक र कलाकारहरूसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

पछिल्लो समय बेलायतमा नेपाली चलचित्रको व्यावसायिक प्रदर्शन, चलचित्र निर्माणमा प्रवासी नेपालीको लगानी तथा स्थानीय कलाकारको सहभागिता बढ्दै गएको छ। नेपाली चलचित्रले प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनसँगै नेपाल र बेलायतबीच सांस्कृतिक पुलको भूमिका निर्वाह गर्दै आएको छ ।

आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूले कलाकार तथा सर्जकसँग प्रत्यक्ष प्रश्नोत्तर र सिर्जनात्मक बहस गर्ने अवसर पाउनेछन्।

कार्यक्रम संयोजक डा. राईले बेलायतस्थित चलचित्रकर्मी, कलाकार, साहित्यकार तथा नेपाली चलचित्रप्रेमीहरूलाई सहभागी हुन आग्रह गरेका छन्।

सन् २०२३ मा स्थापित नेपाली कला, विज्ञान तथा साहित्य मञ्च बेलायतले यसअघि ‘निर शाहसँगको साँझ’ लगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू