सोमबार, १६ नोभेम्बर, २०२६
21:01 | ०२:४६

बेलायत अक्सफोर्डवासी नेपालीले बाढी पीडितका लागि दिए करिब २५ लाख ५० हजार

नेपाली लिङ्क नोभेम्बर १६, २०२६

लन्डन । बेलायतको अक्सफोर्डसायर क्षेत्रमा बसोवास गर्ने नेपालीले भोटेकोशी बाढी पीडितका लागि करिब २५ लाख ५० हजार रुपैंया प्रदान गरेका छन् ।

यूके च्यारिटीमा दर्ता भएको हेल्प फर नेपाल र नेपलिज कम्युनिटी अक्सफोर्डसायरको संयोजनमा भएको राहत संकलन अभियानअन्तर्गत जुटाइएको £१२,५०० रकम नेपाली दूतावासमार्फत बाढी पीडितलाई पठाइएको हो ।

सोमबार लन्डनस्थित नेपाली दूतावास गएर संस्थाका पदाधिकारीले कार्यवाहक राजदूत विपिन दुवाडीलाई सहयोग रकमको प्रतिकात्मक चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्न हेल्प फर नेपालका अध्यक्ष रि. क्याप्टेन तुलसी पौडेल, नेपलिज कम्युनिटी अक्सफोर्डसायरका उपाध्यक्ष प्रेम कँडेल, कुल योङया र चित्र थापा दूतावास गएका थिए ।

ति संस्थाले मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, शुभचिन्तक, संघसंस्था तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ समर्थन गर्ने सबैप्रति हृदयदेखि नै हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेका छन् ।

आफूहरुको सानो प्रयासले बाढी पीडितहरूको दुःख कम गर्न र पुनर्निर्माणमा केही भए पनि सकारात्मक योगदान पुर्‍याउने आशा संस्थाका पदाधिकारीको छ ।

सहयोग रकम प्राप्त गरेपछि कार्यवाहक राजदूत दुवाडीले सहयोगदाता संस्थाप्रति आभार व्यक्त गर्दै यो रकम छिट्टै प्रधानमन्त्री राहत कोषमा पठाइने जनाए ।

‘दुई महिना पहिले आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको पीडामा मलम लगाउने पवित्र उद्देश्यका साथ हामीले शुरु गरेको राहत अभियानमार्फत अक्सफोर्डसायरवासी नेपाली र ब्रिटिश नागरिकले स्वतस्फूर्त चन्दा प्रदान गर्नुभयो’, कँडेलले भने ।

कँडेलले आफ्नो रेष्टुरेन्ट द गोर्खा प्यालेसमा समेत ‘डोनेसन बक्स’ राखेर चन्दा संकलन गरेका थिए ।

अक्सफोर्डसायरमा करिब दुई हजार नेपालीको बसोवास छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू