सोमबार, १६ नोभेम्बर, २०२६
21:53 | ०३:३८

बेलायतमा गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलालाई स्वतः माफी

रासस/एएफपी नोभेम्बर १६, २०२६

लन्डन । इंग्ल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने कानुनी व्यवस्था लागू भएसँगै उनीहरूलाई यस्तो माफी दिइएको हो ।

गत वर्ष सांसदहरूले पारित गरेको नयाँ कानुनअनुसार अब महिलाले गर्भावस्थाको जुनसुकै चरणमा गर्भपतन गराए पनि त्यसलाई फौजदारी अपराध मानिने छैन ।

बेलायतको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै गर्भावस्थासँग सम्बन्धित गर्भपतनको कसुरमा यसअघि दोषी ठहरिएका वा चेतावनी पाएका महिलाहरूलाई स्वतः माफी दिइएको जनाएको छ ।

सन् २०२५ जुनमा सांसदहरूले इंग्ल्यान्ड र वेल्समा आफ्नै गर्भावस्था अन्त्य गरेको अभियोगमा महिलामाथि फौजदारी मुद्दा चलाउने व्यवस्था हटाउने पक्षमा मतदान गरेका थिए । यसअघि २४ हप्तापछि वा आवश्यक चिकित्सकीय स्वीकृतिबिना गर्भपतन गराउने महिलाले फौजदारी अभियोग सामना गर्नुपर्ने व्यवस्था थियो ।

इंग्ल्यान्ड र वेल्समा आधिकारिक स्वास्थ्य सेवा प्रदायकमार्फत २४ हप्तासम्म गर्भपतन गराउन कानुनी अनुमति छ । त्यसपछि भने आमाको ज्यान जोखिममा पर्ने लगायतका सीमित परिस्थितिमा मात्र गर्भपतन गर्न पाइन्छ ।

सन् १८६१ को कानुनअनुसार कानुनी प्रावधानबाहिर गरिने गर्भपतनलाई अपराध मानिन्थ्यो । उक्त कसुरमा दोषी ठहरिने महिलालाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू