सोमबार, १६ नोभेम्बर, २०२६
16:15 | २२:००

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारत भ्रमणमा

रासस नोभेम्बर १६, २०२६

काठमाडाै। बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो पटक हो।

राजपरिवारका उक्त दम्पतीले मुम्बईबाट भ्रमण सुरु गर्नेछन्। उनीहरू मङ्गलबार ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुने कार्यक्रम छ। राजकुमार विलियमले सुरु गरेको यस वातावरणीय पुरस्कारअन्तर्गत जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नवीन उपायलाई प्रोत्साहन गर्न पाँच विजेतालाई जनही १३ लाख अमेरिकी डलर प्रदान गरिन्छ।

सन् २०२० मा स्थापना भएको यस पुरस्कारको अहिलेसम्मकै ठुलो समारोहमा भारतीय क्रिकेटका चर्चित खेलाडी सचिन तेन्दुलकर, अभिनेत्री आलिया भट्ट र अभिनेता रामी मालेकसहित विशिष्ट अतिथिहरू सहभागी हुनेछन् । बेलायती पप समूह ‘टेक द्याट’ले पनि यसै कार्यक्रममार्फत पहिलो पटक भारतमा प्रस्तुति दिनेछ।

राजकुमार विलियमले सामाजिक सञ्जालमा लेखेका छन्, “भारतले विगत छ वर्षमा अर्थसट अभियानमा असाधारण योगदान दिएको छ । अन्य कुनै पनि देशको तुलनामा भारतबाट सबैभन्दा बढी फाइनलिस्ट र विजेता आएका छन् ।”

भारत आइपुगेपछि राजकुमार विलियम र राजकुमारी क्याथरिनले मुम्बईको बलार्ड इस्टेट क्षेत्रमा स्थानीय बासिन्दासँग सडक क्रिकेट खेले। सडक क्रिकेट मुम्बईको दैनिक जीवनको अभिन्न हिस्सा मानिन्छ ।

नयाँदिल्ली प्रस्थान गर्नुअघि उहाँहरूले भारतको क्रिकेट, फेसन र चलचित्र उद्योगसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउनेछन् । नयाँ दिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उनीहरूले १० वर्षअघि भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू