बाढीमा दिवंगत भएकाहरुको सम्झनामा यूके हार्लोमा दीप प्रज्ज्वलन


लन्डन — नेपालमा आएको विनाशकारी आकस्मिक बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा प्रभावित परिवारहरूसँग ऐक्यबद्धता जनाउन लन्डन नजीकै हार्लोमा बसोबास गर्ने नेपाली समुदाय तथा ब्रिटिश जनप्रतिनिधिहरूले हार्लो टाउन सेन्टरमा दीप प्रज्ज्वलन गरेका छन्।
हार्लो नेपाली समाजद्वारा आयोजित उक्त श्रद्धाञ्जली सभामा समुदायका सदस्यहरूले मृतकहरूप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे र विपद्बाट प्रभावितहरूसँग ऐक्यबद्धता जनाए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पीडित तथा तिनका परिवारप्रति गहिरो समवेदना व्यक्त गरे । उनले नेपालजस्ता जोखिममा रहेका देशहरूमा जलवायु परिवर्तनले पारिरहेको विनाशकारी प्रभावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
उनले जलवायु परिवर्तन र यसका मानवीय असरहरूलाई सम्बोधन गर्न सरकारहरू र अन्तर्राष्ट्रिय संस्थाहरूलाई थप प्रभावकारी कदम चाल्न आग्रह पनि गरे ।
पुडासैनीले पीडाको यो समयमा नेपाललाई सहयोग गर्ने ब्रिटिश सरकार, ब्रिटिश जनता र जनप्रतिनिधिहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै बाढी पीडितहरुको पुनर्स्थापना र पुनर्निर्माणमा पनि ब्रिटिश लगायत अन्तरराष्ट्रिय समुदायले थप सहयोग गर्नु पर्ने जनाए।
हार्लो नेपाली समाजका अध्यक्ष प्रमोद भण्डारीले यस त्रासदीबाट प्रभावितहरूप्रति गहिरो दुःख र हार्दिक समवेदना व्यक्त गरे । नुवाकोटमा जन्मिएका प्रमोदले आफैँ पनि पारिवारिक क्षति व्यहोर्नुपरेको बताउंदै यस्तो कठिन समयमा बाढी पीडितहरुलाई सबैले सक्दो सहयोग गर्नुपर्ने जनाए ।
साहित्यकार गोपी सापकोटाले सञ्चालन गरेको उक्त दीपप्रज्वलन कार्यक्रममा नेपाली समुदायको व्यापक उपस्थिति थियो।
कार्यक्रममा बोल्दै हार्लोबाट निर्वाचित सांसद क्रिस भिन्सले नेपाली समुदायसँग ऐक्यबद्धता जनाउँदै नेपालको पछिल्लो स्थिति र नेपाली समुदायले उठाएका विषयहरूलाई सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली समुदायका सदस्यहरूलाई आवश्यक परेमा आफ्नो कार्यालयमा सम्पर्क गर्न आग्रह पनि गरे ।
काउन्सिलर जेम्स ग्रिग्स तथा काउन्सिलर ल्युक हावर्डले पनि पीडित परिवारहरूप्रति हार्दिक समवेदना प्रकट गरे । उनीहरूले हार्लोमा रहेका नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन घडीमा आवश्यक सहयोगको प्रतिबद्धता समेत जनाए । स्थानीय प्रतिनिधिहरूको उपस्थिति र ऐक्यबद्धताले दुःखको यस घडीमा ठूलो राहत मिलेको सहभागीहरूले जनाए ।
नेपालमा विपद्बाट प्रभावित मानिसहरूप्रति ऐक्यबद्धताको सन्देश दिनुका साथै जलवायुजन्य विपद्बाट प्रभावित जोखिमयुक्त समुदायहरूप्रति अन्तरराष्ट्रिय ध्यानाकर्षणको आह्वान गर्दै कार्यक्रम समापन गरिएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


