बिहीबार, २७ अगस्ट, २०२६
22:32 | ०३:१७

बाढीपीडितलाई नेपाली समाज नटिङहमले पठायो २५ सय पाउण्ड, कोष जुटाएर थप सहयोग गरिने

नेपाली लिङ्क अगस्ट २७, २०२६

लन्डन- नेपालमा बाढीबाट प्रभावितहरुको उद्धार तथा राहतका लागि नेपाली समाज नटिङहमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ सय पाउण्ड सहयोग गरेको छ।

समाजका अध्यक्ष लोकनाथ अधिकारीका अनुसार समाजको कार्यसमिति बैठकले तत्काल राहतका लागि सहयोग गर्ने निर्णय गरेपछि संस्थाको कोषबाट उक्त रकम प्रदान गरिएको हो।

समाजले पहिलो चरणमा संस्थागत कोषबाट सहयोग पठाएसंगै अब दोस्रो चरणमा समुदायको सहभागितामा थप सहयोग जुटाएर पठाइने जनाएको छ।

‘विपद्को समयमा तत्काल केही सहयोग पुगोस् र उद्धार तथा राहतमा प्रयोग होस् भन्ने उद्देश्यले पहिलो चरणमा संस्थाको कोषबाट सहयोग गरेका हौँ’, उनले भने।

अध्यक्ष अधिकारीका अनुसार समाजले आफ्ना सदस्य तथा बेलायतस्थित नेपाली समुदायबाट थप सहयोग संकलन गर्ने अभियान सुरु गरेको छ। संकलित रकम पुनः नेपाल पठाएर बाढीपीडितलाई सहयोग गरिनेछ।

अध्यक्ष अधिकारीले विपद्को यस घडीमा आ–आफ्नो ठाउँबाट सम्भव हुने सहयोगका लागि अग्रसर बन्न सबैलाई आव्हान गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू