बुधबार, २६ अगस्ट, २०२६
14:51 | १९:३६

लन्डन पशुपतिनाथ मन्दिरमा शुक्रबार सामूहिक रक्षाबन्धन गरिंदै

नेपाली लिङ्क अगस्ट २६, २०२६
Pashupatinath temple London

फाइल तस्विर

लन्डन–जनैपूर्णिमाको अवसरमा सधैंजस्तै यसपटक पनि लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा शुक्रबार एक विशेष कार्यक्रम आयोजना हुने भएको छ।

मन्दिरमा बिहान ८ बजेदेखि दिउँसोसम्म सामूहिक रुपमा जनै तथा रक्षाबन्धन (डोरो) ग्रहण गर्ने कार्यक्रम सञ्चालन गरिने भएको हो।

मन्दिरका पण्डित निलहरि घिमिरेका अनुसार जनैपूर्णिमाका अवसरमा सप्तऋषि पूजा, रुद्री पूजा तथा पाठ, चण्डी पाठ, वेद पाठ र गायत्री मन्त्र जपलगायतका धार्मिक अनुष्ठान गरिनेछन्। वैदिक विधिअनुसार पूजा सम्पन्न भएपछि भक्तजनलाई जनै तथा रक्षाबन्धन वितरण गरिनेछ।

मन्दिरका पण्डित निलहरि घिमिरे, विनोद पन्थी र आनन्द लोहनीलगायतले भक्तजनलाई जनै तथा डोरो वितरण गर्नेछन्।

सो अवसरमा सहभागी भक्तजनका लागि मन्दिरका तर्फबाट प्रसादको समेत व्यवस्था गरिनेछ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेका अनुसार बेलायतमा नेपाली धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले हरेक वर्ष जनैपूर्णिमामा विशेष कार्यक्रम आयोजना गरिंदै आएको छ।

उनले साउथ इष्ट लन्डन र आसपासका क्षेत्रमा रहने सबै नेपालीलाई परिवारसहित सहभागी हुन आग्रह गरेका छन्।

पशुपतिनाथ मन्दिरमा विगत दुई दशकभन्दा लामो समयदेखि जनैपूर्णिमाको अवसरमा सामूहिक रक्षावन्धन हुँदै आएको छ। गत वर्षको कार्यक्रममा १५ सय भन्दा बढी भक्तजन सहभागी भएका थिए।

पूर्णिमा तिथि र शुक्रबार बिहानैसम्मको चन्द्रग्रहणलाई लिएर कतिपयले बेलायतमा विहीबार नै जनैपूर्णिमा मनाउनुपर्ने तर्र्क गरेपनि लन्डन पशुपतिनाथ मन्दिरले भने शुक्रबार नै मनाउने निर्णय गरेको हो । पण्डित घिमिरेका अनुसार चन्द्रहग्रहणको शुतक शुक्रबार बिहान सात नबज्दै समाप्त हुने, पूर्णिमा तिथि बाँकी रहने र नेपालको राष्ट्रिय पर्व रहेकाले नेपालमै मनाउने दिनमा उपयुक्त हुनेजस्ता आधारहरुमा शुक्रबार नै पर्व मनाउने निष्कर्ष निकालिएको हो ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू