मंगलबार, ९ जुन, २०२६
15:55 | २०:४०

संस्कार, एकान्त र शान्तिको खोज

सुधीर गौतम जुन ९, २०२६

लेखक सुधीर गौतम

हामी सानैदेखि भगवान बादलमाथि बस्नुहुन्छ भनेर सुन्दै हुर्कियौँ। देवता र दानवहरूले अमृतका लागि समुद्र मन्थन गरेको कथा पनि हाम्रो परिचित विरासत हो। यस्ता कथा, विश्वास र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मूल्य–मान्यताहरूले हाम्रो सोचलाई आकार दिन्छन्। पूर्वीय दर्शनले यही प्रक्रियालाई बुझाउन एउटा गहिरो शब्द प्रयोग गर्छ—संस्कार।

आज हामी संस्कारलाई प्रायः संस्कृति वा राम्रो बानीका रूपमा बुझ्छौँ। तर पूर्वीय दर्शनमा संस्कार भन्नाले अनुभवहरूले मनमा छोडेका छाप र मानसिक ढाँचाहरूलाई जनाउँछ, जसले समयसँगै हाम्रो सोच, निर्णय र व्यवहारलाई आकार दिन्छन्।

यस अर्थमा संस्कार मनभित्र चुपचाप चलिरहेको सफ्टवेयरजस्तै हो, जसले हाम्रो प्रतिक्रियालाई निरन्तर प्रभावित गरिरहन्छ।

यस लेखभरि म विभिन्न परम्परा र दर्शनबाट आएका केही सरल शिक्षा, उखान र दृष्टान्तहरूको सहारा लिनेछु। जटिल सत्यहरूलाई कहिलेकाहीँ पुस्तौँदेखि बाँचेका कथा र भनाइहरूले सबैभन्दा राम्रोसँग व्यक्त गर्छन्।

यदि संस्कारले हाम्रो सोच, व्यवहार र निर्णयलाई आकार दिन्छ भने अर्को प्रश्न स्वाभाविक रूपमा उठ्छ: यी संस्कारहरू बन्छन् कसरी?

पुरानो उखान छ, “किन गरिस् मङ्गले, आफ्नै ढङ्गले।”

हामी जे बारम्बार देख्छौँ, सुन्छौँ, सोच्छौँ र गर्छौँ, बिस्तारै त्यही बन्दै जान्छौँ। कुनै विचार वा व्यवहार एकैपटक हाम्रो हिस्सा बन्दैन; दोहोरिँदै जाँदा त्यसले मनमा जरा गाड्छ। अन्ततः हामीले बनाएका बानीहरूले नै हामीलाई बनाउन थाल्छन्।

रिस, करुणा, लोभ, अनुशासन वा सजगता, हरेक विचार, कर्म र प्रतिक्रियाले मनमा एउटा छाप छोड्छ। ती छापहरू दोहोरिँदै जाँदा संस्कार बन्छन्, संस्कारहरूले चरित्र निर्माण गर्छन्, र चरित्रले अन्ततः जीवनको दिशा तय गर्छ।

सायद यही कारणले मानिस आफ्नो भाग्यको निर्माता पनि हो र आफ्नै संस्कारको उत्तराधिकारी पनि।

संस्कारको परिवर्तन केवल पूजा, प्रार्थना वा कर्मकाण्डबाट सम्भव हुँदैन। यिनले दिशा देखाउन सक्छन्, तर यात्रा भने आफैँले गर्नुपर्छ। गहिरोसँग जरा गाडेका संस्कारहरूलाई रूपान्तरण गर्न आत्म-अवलोकन, अनुशासन र निरन्तर अभ्यास आवश्यक पर्छ। तर विडम्बना के छ भने, हामी प्रायः अँध्यारो घरभित्र हराएको चाबी उज्यालो भएकैले बाहिर बत्तीमुनि खोजेजस्तै गर्छौँ। समस्याको जरा मनभित्र हुन्छ, तर समाधान बाहिर खोजिरहन्छौँ।

पूर्वीय परम्परामा एउटा प्रसिद्ध भनाइ छ: “वेन द वाइज म्यान पोइन्ट्स एट द मुन, द फूल लुक्स एट द फिङ्गर।”

यसको अर्थ गहिरो छ। धर्म, गुरु, ग्रन्थ र कर्मकाण्डहरू औँलाजस्ता हुन्; तिनको उद्देश्य दिशा देखाउनु हो, गन्तव्य बन्नु होइन। तर धेरैपटक हामी औँलामै अल्झिन्छौँ र चन्द्रमालाई हेर्न बिर्सन्छौँ। सङ्केतलाई नै सत्य सम्झन्छौँ, जबकि वास्तविक रूपान्तरणको काम भने भित्रै गर्नुपर्ने हुन्छ।

यही रूपान्तरणको केन्द्रमा संस्कार हुन्छन्। तर मनमा पर्ने सबै छापहरू एकनासका हुँदैनन्। केही संस्कार बालुवामा बनेका पाइतालाका छापझैँ हराउँछन्। केही भने ढुङ्गामा कुँदिएका अक्षरझैँ वर्षौँसम्म रहन्छन्, सायद जीवनौँसम्म।

हामीले बोक्ने वास्तविक उत्तराधिकार हाम्रो कर्म हो।”

धन, सम्पत्ति, प्रतिष्ठा र शरीर अस्थायी छन्। अन्ततः हामीसँग रहने कुरा हाम्रा कर्मका परिणामहरू हुन्।

बुद्धको शिक्षाको केन्द्रमा पनि यही प्रश्न छ। दुःख जीवनको ध्रुव सत्य हो, तर यसको कारण पनि छ।

बौद्ध दर्शनअनुसार दुःखको मूल कारण तृष्णा, द्वेष र अज्ञान हुन्। हामी मनपर्ने कुरालाई समातेर राख्न र मन नपर्ने कुरालाई टाढा धकेल्न खोज्छौँ। यही तानातानमा मनले आफ्नो शान्ति गुमाउँछ।

सायद यही कारणले हामी आफ्नै मनसँग एक्लै बस्न डराउँछौँ। जब बाहिरी कोलाहल शान्त हुन्छ, हामी आफ्ना विचार, डर, असुरक्षा र अधुरा घाउहरूसँग आमनेसामने हुन्छौँ।

दार्शनिक ब्लेज पास्कलले भनेका थिए: “All of humanity’s problems stem from man’s inability to sit quietly in a room alone.”

अर्थात्, मानवताका धेरै समस्याहरू मानिस आफ्नै मनसँग शान्त रहन नसक्नुबाट उत्पन्न हुन्छन्।

पास्कलको भनाइ केवल एकान्तबारे होइन; यो विचलनप्रतिको हाम्रो निर्भरताबारे पनि हो। जब बाहिरी कोलाहल शान्त हुन्छ, हामी आफ्ना डर, असुरक्षा, अधुरा घाउ र भित्री खालीपनसँग आमनेसामने हुन्छौँ। सायद यही असहज सत्यबाट बच्न हामी निरन्तर व्यस्तता र मनोरञ्जन खोजिरहन्छौँ।

यदि दुःखका कारणहरू मनभित्रै लुकेका छन् भने, तिनलाई देख्न र बुझ्न कहिलेकाहीँ बाहिरी संसारको कोलाहलबाट टाढा जानुपर्छ। यही कारणले विभिन्न धर्म, दर्शन र आध्यात्मिक परम्पराहरूमा एकान्तलाई विशेष महत्त्व दिइएको पाइन्छ।

रूपान्तरण प्रायः एकान्तबाट सुरु हुन्छ।

इतिहासका महान आध्यात्मिक यात्राहरूलाई हेर्ने हो भने एउटा रोचक समानता देखिन्छ। बुद्धले ज्ञानको खोजमा वर्षौँ एकान्तमा बिताए। येशू, पैगम्बर मुहम्मद र शिवलाई पनि गहिरो प्रार्थना, ध्यान वा एकान्तसँग जोडेर चित्रण गरिन्छ।

फरक धर्म, संस्कृति र युगका यी पात्रहरूलाई जोड्ने साझा सूत्र एकान्त हो। किनकि एकान्तमा मानिस संसारबाट होइन, आफ्नै मनबाट भेटिन्छ।

तर आफ्ना संस्कार, चाहना, डर र प्रतिक्रियाहरूलाई देख्नु मात्रै पर्याप्त छैन। त्यसपछि अर्को प्रश्न उठ्छ: तिनसँग के गर्ने?

बौद्ध दर्शनअनुसार दुःखको मूल कारण तृष्णा र द्वेष हुन्। मनपर्ने कुरालाई समात्ने र मन नपर्ने कुरालाई धकेल्ने हाम्रो प्रवृत्तिले संस्कारहरूलाई अझ बलियो बनाउँछ। यस अर्थमा संस्कार केवल विगतको उत्तराधिकार होइनन्; तिनीहरू वर्तमान क्षणमै निरन्तर पुनर्निर्माण भइरहेका हुन्छन्।

यही कारणले स्थिरता असहज लाग्छ। हामी सुखको पछि दौडिन र असुविधाबाट भाग्न यति अभ्यस्त भइसकेका छौँ कि वर्तमान क्षणसँग चुपचाप बस्नु पनि चुनौतीजस्तो लाग्छ।

तर यदि तृष्णा र द्वेषले संस्कारहरूलाई बलियो बनाउँछन् भने, तिनको पकड कमजोर पार्ने उपाय पनि अवश्य हुनुपर्छ।

यहीँबाट विपश्यनाको महत्त्व सुरु हुन्छ।

विपश्यना शरीरमा उत्पन्न हुने संवेदना, मनमा आउने विचार र भावनाहरूलाई प्रतिक्रिया नदिई अवलोकन गर्ने अभ्यास हो।

हाम्रो जीवन प्रायः प्रतिक्रियाको चक्रमा चलिरहेको हुन्छ। रिसले थप रिस, डरले थप डर, र चाहनाले थप तृष्णा जन्माउँछ। धेरैजसो अवस्थामा हामी आफ्ना विचार र भावनाहरूलाई होइन, तिनैले हामीलाई नियन्त्रण गरिरहेका हुन्छन्।

विपश्यनाले यही चक्रलाई देख्न सिकाउँछ। संवेदना, विचार वा भावना उत्पन्न हुन्छन्, तर हामी तिनलाई प्रतिक्रिया नदिई अवलोकन गर्न सिक्छौँ। बिस्तारै यही सचेत अवलोकनबाट पुराना संस्कारहरूको पकड खुकुलो बन्दै जान्छ र मनले शान्ति, सन्तुलन तथा स्वतन्त्रताको अनुभव गर्न थाल्छ।

वास्तवमा विपश्यनाको सम्पूर्ण अभ्यास नै सङ्कलनको होइन, छोड्दै जाने अभ्यास हो।

यही सत्यलाई बुद्धले आफ्नो प्रसिद्ध डुङ्गाको दृष्टान्तमार्फत व्यक्त गर्नुभएको थियो।

बुद्धले आफ्ना शिक्षालाई नदी पार गर्न प्रयोग गरिने डुङ्गासँग तुलना गरेका थिए। नदी पार गर्न डुङ्गा आवश्यक हुन्छ, तर अर्को किनारमा पुगेपछि त्यसलाई काँधमा बोकेर हिँडिरहनु हुँदैन।

यदि हामीलाई पार लगाउने डुङ्गा नै अन्ततः छोड्नुपर्छ भने, जीवनभर बोकेका चाहना, डर, पहिचान, सम्पत्ति, सम्बन्ध र दुःखप्रतिको आसक्ति त्याग्नु झन् कति आवश्यक होला?

शिकारीले बाँदर समात्न एउटा सरल जाल बनाउँछ। साँघुरो घाँटी भएको भाँडोभित्र केरा राखिन्छ। बाँदरले केरा समात्छ, तर मुठ्ठी नखोलेकाले हात बाहिर निकाल्न सक्दैन। मुक्त हुन उसले केरा छोडे पुग्छ, तर त्यही छोड्न नसक्दा ऊ आफ्नै कैदी बन्छ।

हाम्रो जीवन पनि धेरै हदसम्म यस्तै छ। हामीलाई जकड्ने कुरा वस्तुहरू होइनन्; तिनप्रतिको आसक्ति हो।

ज्ञान, धर्म, विचार र पहिचान मुक्तितर्फ डोर्‍याउने साधन बन्न सक्छन्। तर जब तिनैप्रति मोह जाग्छ, तिनै बन्धन बन्छन्। वास्तविक मुक्ति प्राप्तिमा होइन, विमुक्तिमा लुकेको छ।

अल्बर्ट आइन्स्टाइनले भनेका थिए: “भविष्यको धर्म ब्रह्माण्डीय हुनेछ र व्यक्तिगत ईश्वरको अवधारणाभन्दा पर जानेछ।”

‘व्यक्तिगत ईश्वर’ भन्नाले हाम्रो चाहना, डर, विश्वास र संस्कारहरूले निर्माण गरेको ईश्वरको छविलाई पनि जनाउन सक्छ।

अन्ततः प्रश्न भगवान बादलमाथि हुनुहुन्छ कि हुनुहुन्न भन्ने होइन। प्रश्न यो हो: के हामी वास्तविकतालाई आफ्ना संस्कारको पर्दाबाट हेर्दै छौँ, वा जस्ताको त्यस्तै देख्न सिक्दै छौँ?

सायद यही खोजको अर्को नाम विपश्यना हो। पाली भाषामा ‘विपश्यना’ को अर्थ नै वास्तविकतालाई जस्तो छ त्यस्तै देख्नु हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू