मंगलबार, १ सेप्टेम्बर, २०२६
13:12 | १७:५७

रेडिङमा दीप प्रज्वलनसहित शोकसभा, बेलायती सांसद र मेयरले पनि जनाए ऐक्यबद्धता

नेपाली लिङ्क सेप्टेम्बर १, २०२६

सुवास चौलागाईं, रेडिङ- नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाउँदै बेलायतको रेडिङमा श्रद्धाञ्जली एवम् दीप प्रज्वलन कार्यक्रम गरिएको छ।

रेडिङ टाउन सेन्टरमा आयोजित कार्यक्रममा मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो। साथै, विपत्तिबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।

रेडिङ बरो काउन्सिलको सहकार्यमा ग्रेटर रेडिङ नेपाली समाजले आयोजना गरेको कार्यक्रममा रेडिङका मेयर काउन्सिलर पल गिटिङ्स, डेपुटी मेयर काउन्सिलर अमजद तारार, स्थानीय सांसद म्याट रोडा, काउन्सिल लिडर काउन्सिलर लिज टेरी, नेपाली मूलकी काउन्सिलर प्रतीक्षा गुरुङसहित काउन्सिलरहरू तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमको सुरुवात ग्रेटर रेडिङ नेपाली समाजका महासचिव डा. भरत पौडेलले स्वागत मन्तव्यसहित गरेका थिए। उनले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कार्यक्रममा उपस्थित स्थानीय प्रतिनिधि तथा नेपाली समुदायलाई स्वागत गरेका थिए। त्यसपछि दिवंगतहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष भीमसेन खड्काले विपत्तिको समयमा नेपाली समुदाय एकजुट भएर उभिनुपर्नेमा जोड दिएका थिए। उनले नेपालमा परेको दुःखप्रति बेलायतमा रहेका नेपालीहरूको गहिरो समवेदना रहेको बताउँदै कार्यक्रममा सहभागी स्थानीय काउन्सिल प्रतिनिधि, सांसद तथा अन्य अतिथिहरूप्रति आभार व्यक्त गरेका थिए।
उनले बेलायतमा रहेका नेपालीहरूबीचको आपसी एकता र सहकार्यले मातृभूमिमा परेको दुःखमा साथ र सहयोग पु¥याउने भावना अझ बलियो बनाएको बताए।

कार्यक्रममा सांसद म्याट रोडा, काउन्सिल नेता काउन्सिलर लिज टेरी, मेयर काउन्सिलर पल गिटिङ्स तथा डेपुटी मेयर काउन्सिलर अमजद तारारले सम्बोधन गर्दै नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गरेका थिए। उनीहरूले बाढीेबाट प्रभावित परिवार तथा नेपाली समुदायप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेका थिए।

यसैगरी, कार्यक्रममा सहभागी नेपाली मूलकी काउन्सिलर प्रतीक्षा गुरुङले औपचारिक कार्यक्रमको समापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय प्रतिनिधि, अतिथि, आयोजक तथा सम्पूर्ण नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरेकी थिइन्।
औपचारिक कार्यक्रमपछि आध्यात्मिक कार्यक्रमअन्तर्गत पण्डित केदार रिमाल तथा लामा अकिलमान गुरुङले आध्यात्मिक मन्तव्य तथा मन्त्र वाचन गरेका थिए। दिवंगत आत्माहरूको चिरशान्ति तथा विपत्तिबाट प्रभावित परिवारमा धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरिएको थियो।
त्यस क्रममा आमा समूहद्वारा शान्ति पाठ वाचन गरिएको थियो। शान्ति पाठको वातावरणमा उपस्थित सबैले नेपालमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धा व्यक्त गरेका थिए।

कार्यक्रमको अन्तिम तथा भावुक क्षणमा दीप प्रज्वलन समारोह आयोजना गरिएको थियो। मेयर, डेपुटी मेयर, सांसद, काउन्सिल प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूले दीप प्रज्वलन गर्दै बाढीपहिरोमा ज्यान गुमाएका सबैको सम्झना गरेका थिए।

कार्यक्रममा ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष भीमसेन खड्का, महासचिव डा. भरत पौडेल, उपाध्यक्ष यादव श्रेष्ठ, कल्पना पण्डित, सचिव सुबास चौलागाईं, युवा संयोजक मिन गुरुङ लगायत अध्यक्ष बोर्डका ट्रस्टीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नेपाल हजारौँ माइल टाढा भए पनि मातृभूमिमा परेको दुःखमा बेलायतस्थित नेपाली समुदायले देखाएको यो ऐक्यबद्धताले ‘जहाँ रहे पनि नेपाली मन नेपालसँगै हुन्छ’ भन्ने भावनालाई थप बलियो बनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू