विश्व नेपाली साहित्य महासंघ यूके पश्चिम शाखाको नेतृत्व गोमा रानालाई
नेपाली लिङ्कसेप्टेम्बर ७, २०२६
लन्डन । विश्व नेपाली साहित्य महासंघ यूके पश्चिम शाखाको अध्यक्षमा गोमा राना चयन भएकी छन्। स्विन्डनस्थित द टनर रेस्टुरेन्टमा ५ सेप्टेम्बर २०२६ मा सम्पन्न दोस्रो अधिवेशनले रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शान्ति लिम्बु, उपाध्यक्षमा जीत बुढाथोकी, सचिवमा गंगा भण्डारी र कोषाध्यक्षमा राजेन्द्र राई चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा हेम राई, कमला गुरुङ, रोजी राई, प्रिन्स राई, अन्जान किरात र होमा लिम्बू रहेका छन्। शाखाको संरक्षकमा डा. सुमाया राई छन्।
नयाँ नेतृत्व चयनका लागि विश्वासदीप तिगेलाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिले अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सञ्चालन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको हो।
नवनिर्वाचित पदाधिकारीहरूले बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। साहित्यिक गतिविधिलाई नियमित, सशक्त र नयाँ पुस्तामैत्री बनाउँदै संस्थाको उपस्थिति थप विस्तार गर्ने उनीहरूको भनाइ छ।
अधिवेशनको पहिलो सत्र तत्कालीन अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा भएको थियो। कार्यक्रममा मुलिबीर राई प्रमुख अतिथि तथा एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला विशेष अतिथिका रूपमा सहभागी थिए।
सो अवसरमा शाखाले विगतमा गरेका कार्यक्रम, कार्यप्रगति र निर्णयहरूको समीक्षा गरिएको थियो। वार्षिक तथा आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरी छलफलपछि अनुमोदन गरिएको थियो।
अधिवेशन साहित्यिक उत्सवका रूपमा समेत मनाइएको थियो। कार्यक्रममा डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’, शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ र सेमन्त राईको ‘अँधेरीमा जून’ पुस्तक सामूहिक रूपमा विमोचन गरिएको थियो।
विमोचित कृतिहरूमाथि क्रमशः नरेश काम्बाङ राई, विश्वासदीप तिगेला र मुकेश राईले समीक्षात्मक टिप्पणी गरेका थिए। त्यसपछि तीनै स्रष्टाले आ–आफ्ना कृतिको सिर्जना प्रक्रिया र विषयवस्तुबारे मन्तव्य राखेका थिए।
कार्यक्रममा केही साहित्यकारले कविता, गीत, गजललगायत आफ्ना सिर्जना वाचन गरेका थिए। कार्यक्रम सञ्चालन जीत बुढाथोकी र गंगा भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य गोमा रानाले राखेकी थिइन्।
अधिवेशनमा शाखाकी संरक्षक डा. सुमाया राई, मगर संघ यूकेका उपाध्यक्ष विष्णु श्रीस मगर, किरात राई यायोक्खा स्विन्डन शाखाका अध्यक्ष कल्पना राई, रघु भण्डारी, होम किरात सुनुवार, सुनीता राई, तयाहाङ्ना राई, सीमा राई, झेलम राई, मनु पाईजा, रुद्र पाईजा, रिता राई र भोला विक्रम राईलगायतको उपस्थिति थियो।
दोस्रो अधिवेशनसँगै शाखाले नयाँ नेतृत्व पाएपछि बेलायतको पश्चिम क्षेत्रमा नेपाली साहित्यिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।