बुधबार, २ सेप्टेम्बर, २०२६
19:30 | ००:१५

बेलायतका क्रिकेटर दिपेशको कप्तानीमा क्यारिङ्टन एन्ड क्याभेलियर्स ‘नेशनल कप’ फाइनलमा

नेपाली लिङ्क सेप्टेम्बर २, २०२६

लन्डन- बेलायतको क्रिकेट क्षेत्रमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै आएका युवा खेलाडी दिपेश सापकोटाको कप्तानीमा रहेको क्यारिङ्टन एन्ड क्याभेलियर्स क्लब प्रतिष्ठित ‘नेसनल कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

फाइनल खेल आगामी १२ सेप्टेम्बर, शनिबार बिहान १० बजेदेखि विश्वप्रसिद्ध लर्ड्स क्रिकेट ग्राउन्डमा हुनेछ। ‘क्रिकेटको मन्दिर’का रूपमा परिचित लर्ड्समा नेपाली मूलका खेलाडीले टोलीको कप्तानी गर्न लागेकाले बेलायतस्थित नेपाली समुदायका लागि यो विशेष अवसर बनेको छ।

गुल्मीको मुसीकोट नगरपालिकाका दिपेश गुणाखर सापकोटाका नाति तथा दीपक सापकोटाका छोरा हुन्। उनी नटिङ्घमशायर क्रिकेटको यू–18 टोलीबाट निरन्तर खेल्दै आएका छन्।

दिपेश यस वर्ष इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) अन्तर्गतको छनोटबाट प्रतिष्ठित बनबरी फेस्टिभलमा समेत सहभागी भएका थिए। प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक तथा क्रिकेट क्षेत्रका सरोकारवालाको ध्यान आकर्षित गर्न सफल भएका थिए।

नटिङ्घमशायर एकेडेमीमा छनोट भएपछि उनले गत फेब्रुअरीमा टोलीसँग भारतको मुम्बई भ्रमण गर्ने अवसरसमेत पाएका थिए। बेलायती क्रिकेटको उमेर समूह र एकेडेमी संरचनामा निरन्तर प्रगति गरिरहेका दिपेशको भावी लक्ष्य नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्नु हो।

उनको टोलीलाई लर्ड्समा प्रत्यक्ष समर्थन गर्दै हौसला बढाउन बेलायतवासी नेपाली तथा सम्पूर्ण क्रिकेटप्रेमीलाई आयोजक र परिवारका तर्फबाट उपस्थितिका लागि आह्वान गरिएको छ।

खेल हेर्न तथा ऐतिहासिक लर्ड्स मैदानको भ्रमण गर्न इच्छुक दर्शकका लागि सीमित संख्यामा निःशुल्क टिकट उपलब्ध छन्। टिकट लिन चाहनेलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्न अनुरोध गरिएको छ।

दिपेशजस्ता प्रतिभाशाली खेलाडीको भविष्य निर्माण तथा नयाँ पुस्ताका नेपाली युवाको खेलकुद विकासका लागि समुदायको साथ, सहयोग र प्रोत्साहन महत्त्वपूर्ण हुने परिवारले जनाएको छ।

खेलसम्बन्धी विवरण

मिति: १२ सेप्टेम्बर, शनिबार
समय: बिहान १० बजे
स्थान: लर्ड्स क्रिकेट ग्राउन्ड, लन्डन
निःशुल्क टिकट तथा सम्पर्क: 07796065638

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू