दीगो शान्ति वा स्वार्थ पूरा गर्ने सन्धि ?


सुधीर गौतम
हामी प्रायः शक्तिलाई ठूलो अर्थतन्त्र, बलियो सेना, धेरै धनसम्पत्ति वा प्राकृतिक स्रोतसँग जोडेर हेर्छौँ। तर शक्ति सधैं यिनै कुरामा मात्र निर्भर हुँदैन। कहिलेकाहीँ अरूले अत्यावश्यक रूपमा प्रयोग गर्नुपर्ने कुनै साँघुरो मार्ग, स्रोत वा प्रणालीमाथिको नियन्त्रणले पनि उल्लेखनीय प्रभाव दिन सक्छ।
२०२६ फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि इरानले विश्वकै महत्त्वपूर्ण तेल चोकप्वाइन्टमध्ये एक, होर्मुज जलडमरूमध्य, बन्द गर्यो।
होर्मुज जलडमरूमध्य बन्द हुँदा असर ऊर्जा क्षेत्रमा मात्र सीमित रहेन। यही क्षेत्र हुँदै दक्षिण एसिया, खाडी र युरोपलाई जोड्ने समुद्रमुनिका केबलहरू पनि गुज्रन्छन्, जसले वित्तीय सन्देश र इन्टरनेट ट्राफिक बोक्छन्। यसरी ऊर्जा आपूर्ति र डिजिटल कनेक्टिभिटी दुवै एउटै रणनीतिक दबाबको बिन्दुमा आए, जहाँ विकल्प सीमित थिए। अर्थात्, पूर्वाधार आफैं प्रभाव र दबाब सिर्जना गर्ने माध्यम बन्यो।
त्यस्तो चोकप्वाइन्ट नियन्त्रण गर्ने पक्षले मुख्यतः दुई प्रकारको शक्ति प्राप्त गर्छ, त्यहाँबाट के:के गुज्रिरहेको छ भनेर हेर्न सक्ने शक्ति, र आवश्यक परे त्यसलाई रोक्न वा सीमित गर्न सक्ने शक्ति। पहिलोलाई “प्यानोप्टिकन प्रभाव” (panopticon effect) र दोस्रोलाई “चोकप्वाइन्ट प्रभाव” (chokepoint effect) भनिन्छ। यी दुवैले तुलनात्मक रूपमा सानो पक्षलाई पनि आफ्नो वास्तविक आकार वा क्षमताभन्दा धेरै ठूलो रणनीतिक प्रभाव पार्न सक्षम बनाउँछन् र यस वर्ष इरानले देखाएको कुरा पनि यही हो।
यो द्वन्द्वको अन्तिम परिणाम तेलको प्रवाहले मात्र तय हुने छैन। यदि अन्त्यमा पनि होर्मुजबाट को जान पाउने, कसले सर्त मान्नुपर्ने, वा पहुँचबारे वार्ता गर्ने शक्ति इरानसँगै रह्यो भने, त्यसलाई इरानको रणनीतिक जीत र संयुक्त राज्य अमेरिकाको असफलताका रूपमा हेरिन सक्छ।
तर्क स्पष्ट छ: यदि इरानले होर्मुजलाई दबाबको साधनका रूपमा प्रयोग गरिरहन सक्छ भने त्यसले वाशिङ्टनले स्थिति आफ्नो पक्षमा बदल्न सकेन भन्ने देखाउँछ। अझ यदि यही नियन्त्रणले खाडीका अमेरिकी सहयोगी र विश्व अर्थतन्त्रमाथि निरन्तर दबाब सिर्जना गरिरह्यो भने, विश्वकै शक्तिशाली सैन्य शक्ति भएको देश पनि एउटा साँघुरो जलमार्गमा सीमित देखिन सक्छ। यस्तो अवस्थामा ट्रम्पले सुरु गरेको टकरावले आफ्नो घोषित उद्देश्य हासिल गर्न नसकेको निष्कर्ष निकालिन सक्छ।
इरानी नेतृत्वको अभिव्यक्ति र रणनीतिलाई हेर्दा, यो संघर्ष केवल सैन्य वा आर्थिक गणनामा सीमित देखिँदैन। यसमा बदला, आत्मसम्मान, राष्ट्रिय पहिचान र राजनीतिक विश्वासप्रतिको प्रतिबद्धता पनि जोडिएको देखिन्छ। अर्कोतर्फ, अमेरिकामा युद्धको मूल्य इन्धनको मूल्य, जनमत, चुनाव र लामो संघर्ष सहन सक्ने राजनीतिक क्षमताबाट पनि मापन हुन्छ।
इरानको रणनीति प्रत्यक्ष रूपमा महाशक्तिसँग बराबरी गर्नेभन्दा पनि असममित र लामो समय तानिने युद्ध रणनीतिसँग बढी मेल खान्छ. आफूसँग भएका सीमित साधनलाई त्यस्तो ठाउँमा प्रयोग गर्ने, जहाँ विपक्षीमाथि अपेक्षाकृत ठूलो आर्थिक, राजनीतिक वा रणनीतिक दबाब पर्न सक्छ, र समयसँगै उसको सहनशीलता परीक्षण हुन्छ।
रणनीतिक सत्य
यहीँ एउटा पुरानो रणनीतिक सत्य पनि देखिन्छ: युद्धको परिणाम केवल कसले बढी क्षति पुर्याउन सक्छ भन्नेले मात्र तय हुँदैन; कसले बढी समय टिक्न सक्छ, बढी दबाब सहन सक्छ र ठूलो मूल्य चुकाउन तयार रहन्छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले आकारमा सानो राष्ट्र पनि, यदि ऊ गहिरो पहिचान, बदला वा राजनीतिक प्रतिबद्धताबाट प्रेरित छ भने, कहिलेकाहीँ ठूलो महाशक्तिभन्दा बढी दीर्घकालीन सहनशीलता देखाउन सक्छ।
तर अझ महत्वपूर्ण संकेत होर्मुज पुनः खुलेपछि देखियो। इरानले पुरानै नियमअनुसार पहुँच केवल पुनर्स्थापित गरेन; उसले पहुँच आफ्नै सर्तमा दिन सक्ने शक्ति कायम राख्यो। “पहुँच पुनर्स्थापना गर्नु” र “पहुँच प्रदान गर्नु” सुन्दा उस्तै लागे पनि रणनीतिक रूपमा फरक छन्। पहिलो पुरानो व्यवस्थामा फर्किनु हो; दोस्रोले नियम कसले बनाउँछ, को प्रवेश पाउँछ र कुन सर्तमा पाउँछ भन्ने शक्ति कसको हातमा छ भन्ने देखाउँछ।
यस्ता चोकप्वाइन्टहरूले सानो बिन्दुबाट ठूलो दबाब सिर्जना गर्न सक्छन्। नेपाल–भारत सम्बन्धमा २०१५ को नाकाबन्दीले यही देखायो। नयाँ संविधान जारी भएपछि वीरगन्ज–रक्सौल नाका अवरुद्ध हुँदा इन्धन र औषधिको अभाव चर्कियो, र एउटा साँघुरो मार्गमाथिको अत्यधिक निर्भरता कति ठूलो राष्ट्रिय कमजोरी बन्न सक्छ भन्ने स्पष्ट भयो। जुन बाटोले जोड्छ, त्यही बाटो दबाबको साधन पनि बन्न सक्छ।
चोकप्वाइन्टको शक्ति
यही पाठ स्विफ्ट (SWIFT) जस्ता बैंकिङ प्रणाली र सेमिकन्डक्टर क्षेत्रमा पनि दोहोरिन्छ, जहाँ निर्भरता हुन्छ, त्यहाँ दबाबको सम्भावना पनि हुन्छ। त्यसैले दुई पक्ष केही समय एकअर्कामाथि रहेको दबाबशक्ति प्रयोग नगर्ने सहमतिमा पुग्दा त्यसलाई सधैं वास्तविक शान्ति भन्न सकिँदैन। धेरै अवस्थामा युद्धविरामले लडाइँ रोक्छ, सन्धिले सम्बन्ध व्यवस्थापन गर्छ, तर चोकप्वाइन्ट र दबाबशक्ति भने बाँकी रहन्छन्। परिस्थिति बदलिँदा पुरानो द्वन्द्व फेरि फर्किन सक्ने कारण यही हो।
यही ढाँचा राष्ट्र वा विश्व अर्थतन्त्रमा मात्र होइन, हाम्रै नेपाली समुदायमा पनि देखिन्छ। कसैले प्रायोजन, पहुँच, सञ्जाल वा प्रभावमा नियन्त्रण राख्दा त्यो दबाबको माध्यम बन्न सक्छ:जस्तै, “त्यो व्यक्तिलाई बोलायौ भने म प्रायोजन फिर्ता लिन्छु” वा “हाम्रो समूहलाई भूमिका दिइएन भने हामी सहयोग गर्दैनौँ।” यहीँ चोकप्वाइन्टको शक्ति देखिन्छ।
समुदायबाट परिवारतर्फ जाँदा यही संरचना झन् व्यक्तिगत बन्छ। त्यहाँ दाउमा तेल वा चिप होइन, माया, समय, बालबच्चा, उत्तराधिकार र विश्वास हुन्छ।
श्रीमान् श्रीमतीबीच पैसा, माया, संवाद र बालबच्चा सामान्य अवस्थामा सम्बन्धका आधार हुन्; द्वन्द्वमा तिनै कुरा दबाबको साधन बन्न सक्छन्। सासू बुहारीको सम्बन्धमा पनि एउटै व्यक्ति—एकका लागि छोरा, अर्काका लागि श्रीमान् मुख्य जोड बन्न सक्छ। जब यही सम्बन्धलाई वफादारी, पक्ष रोजाइ वा भेटघाटमा दबाब दिन प्रयोग गरिन्छ, त्यो पारस्परिक चोकप्वाइन्ट बन्छ।
अन्ततः, कथा होर्मुजको मात्र होइन यो मानव स्वभावको कथा हो। जहाँ निर्भरता हुन्छ, त्यहाँ शक्ति हुन्छ; जहाँ शक्ति हुन्छ, त्यहाँ दबाबको सम्भावना हुन्छ। हामी प्रायः द्वन्द्व समाप्त गर्दैनौँ, त्यसलाई व्यवस्थापन गर्छौँ। कथाको सार यही हो: कोही पनि साँच्चिकै शान्ति चाहँदैन; सबैलाई आफ्नो हित जोगिने सन्धि चाहिन्छ।
(लन्डनमा बसोबास गर्ने गौतम समसामयिक विषयमा लेख्छन्। )
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


