सोमबार, ७ सेप्टेम्बर, २०२६
22:55 | ०३:४०

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न एनआरएनए यूके अध्यक्ष गाहामगर नेपाल प्रस्थान

नेपाली लिङ्क सेप्टेम्बर ७, २०२६


लन्डन । नेपालको विनाशकारी हिमबाढी र पहिरो पीडितलाई राहत वितरण तथा प्रभावित क्षेत्रको अवलोकन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके टोली नेपाल जाने भएको छ । अध्यक्ष प्रेम गाहामगर सोमबार बेलुका नेपाल प्रस्थान गरिसकेका छन् भने अन्य सदस्यहरु छिट्टै जाने तरखरमा रहेको बताइएको छ ।

टोलीले प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्ने र उनीहरूको वास्तविक अवस्था बुझेर मानवीय सहयोग गर्नेछ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको पहलमा यस विषयमा बेलायत सरकारको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस र काठमाडौंस्थित बेलायती दूतावाससँग छलफल भइसकेको छ ।

बाढी प्रभावित क्षेत्रको अवस्था र तत्कालीन आवश्यकताका विषयमा बेलायती मन्त्रीहरू तथा राजदूत रोब फेनको नेतृत्वमा रहेको दूतावासको टोलीसँग आवश्यक समन्वय गर्दै एनआरएनएको टोली प्रभावित क्षेत्रमा जान लागेको हो । यस अभियानमा संस्थाका सचिव कृष्ण खतिवडा र आइसीसी सदस्य विजय गुरुङ लगायत पनि सहभागी हुनेछन् ।

अध्यक्ष गाहा मगरले रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरो जलवायु परिवर्तनको गम्भीर असर भएको बताएका छन् । जलवायु परिवर्तनमा कम योगदान रहेको नेपालले भोगेको क्षतिका लागि विकसित देशहरूले न्यायोचित क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । जलवायु परिवर्तनका सन्दर्भमा नेपाल सरकारलाई सहयोग गर्ने अध्यक्ष गाहा मगरको प्रतिवद्धता छ ।

विनाशकारी गोर्खा भूकम्पको समयमा जस्तै यसपटक पनि वास्तविक पीडित पहिचान गरी प्रत्यक्ष रूपमा राहत वितरण गरिने संस्थाले जनाएको छ । स्थानीय सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर पारदर्शी रूपमा सहयोग गरिनेछ ।

सहकार्यका लागि खुला आह्वान

एनआरएनए यूकेले यस मानवीय अभियानमा जोडिन चाहने स्वदेश तथा विदेशमा रहेका संघ–संस्था र व्यक्तिहरूलाई सहयोगका लागि खुला आह्वान समेत गरेको छ । इच्छुक व्यक्ति वा संस्थाले राहत सामग्री, खाद्यान्न, स्वास्थ्य सामग्री वा आर्थिक सहयोग लिएर प्रत्यक्ष सहभागी हुन सक्ने अध्यक्ष गाहा मगरले बताए ।

यसैबीच, अध्यक्ष गाहा मगर राहत वितरण र पुनर्स्थापनाका लागि नेपाल गएपछि एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी तीर्थबहादुर मल्ल (अनिल) लाई दिइएको छ । अध्यक्ष गाहामगर नेपाल रहुन्जेल बेलायतमा आवश्यक समन्वयका लागि कार्यवाहक अध्यक्ष मल्ललाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू