सोमबार, ७ सेप्टेम्बर, २०२६
21:37 | ०२:२२

बेलायतसँग नेपालले माग्यो थप सहयोग, गोर्खा मुद्दासमेत संसदमा उठ्यो

नेपाली लिङ्क सेप्टेम्बर ७, २०२६

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायती संसदमा नेपालको पछिल्लो संकटपछिको अवस्थाबारे जानकारी गराउँदै पुनर्निर्माण, पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि थप बेलायती सहयोग आग्रह गरेका छन्। सोमबार बेलायती संसदमा आयोजित नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह (एपीपीजी फर नेपाल) को बैठकमा कार्यवाहक राजदूत दुवाडीले सो आग्रह गरेका हुन् ।

बैठकमा बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) अन्तर्गत इन्डो–प्यासिफिक मामिलामन्त्री राइट अनरेबल ब्यारोनेस विन्टरटन, एपीपीजी फर नेपालकी अध्यक्ष सांसद एलेक्स बेकर तथा अन्य बेलायती सांसदहरूको सहभागिता थियो।

बैठकमा ब्यारोनेस विन्टरटनले आफ्नो हालैको नेपाल भ्रमणबारे सांसदहरूलाई जानकारी गराउँदै उनीहरूले उठाएका प्रश्नहरूको जवाफ दिइन् । एपीपीजी अध्यक्ष सांसद एलेक्स बेकरले नेपाल र बेलायतबीचको ऐतिहासिक तथा विशेष सम्बन्धको चर्चा गर्दै नेपाल सरकारका आवश्यकता र प्राथमिकताहरू सम्बोधन गर्न बेलायतले सम्भव भएसम्म सहयोग गर्नुपर्नेमा जोड दिइन् । बैठकमा सहभागी अन्य सांसदहरूले पनि नेपालप्रति बेलायतको सहयोगलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।

कार्यवाहक राजदूत दुवाडीले कठिन परिस्थितिमा नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि बेलायत सरकार तथा बेलायती जनताप्रति आभार व्यक्त गरे । उनले  पछिल्लो संकटपछिको वर्तमान अवस्था, नेपाल सरकारले सञ्चालन गरिरहेका राहत, उद्धार तथा पुनर्स्थापना प्रयासबारे बैठकलाई विस्तृत जानकारी गराउँदै प्रभावित क्षेत्रको पुनर्निर्माण, पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि थप बेलायती सहयोग अपरिहार्य रहेको बताए।

बैठकमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका अन्य महत्वपूर्ण विषयमा पनि छलफल भएको थियो। विशेषगरी लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका भूतपूर्व गोर्खा सैनिकका माग तथा सरोकारका विषयहरूसमेत उठाइएको थियो। नेपाल र बेलायतबीच लामो ऐतिहासिक सम्बन्ध रहँदै आएको सन्दर्भमा बेलायती संसदमा नेपालको पछिल्लो अवस्था र भविष्यको सहयोगबारे भएको उक्त छलफललाई दुवै देशका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू