शुक्रबार, वैशाख १४, २०८१
15:00 | १९:४५

लन्डनमा ‘फ्रेन्चाइज’ कन्सेप्टले चम्किएका युवा उद्यमी

नेपाली लिङ्क मे ३०, २०२१


लन्डन । करिब १२ वर्षअघि हिथ्रो ओर्लंदा शिव मल्ललाई बेलायती डिग्री र सीप लिए लगत्तै नेपाल फर्कने सोच थियो । नेपाल छंदै बीबीए गरेर सामसुङ जस्तो बहुराष्ट्रिय कम्पनीमा काम थालिसकेका थिए उनले । नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासले बेलायत बसाइ लम्बिएला भन्ने कहिल्यै नसोचेका शिव लन्डन उत्रिएपछि यतै ‘सेटल्ड’ भए ।

विद्यार्थी भिजामा लन्डन आएका शिव अहिले चार बेग्ला बेग्लै कम्पनीका सञ्चालक छन् । कम्पनी व्यवस्थापनमा अरु दुई जना पार्टनर पनि रहेको मल्लले जानकारी दिए । हाल उनले ५५ जनालाई रोजगारी दिएका छन् । महत्वाकांक्षी ३४ वर्षीय युवा उद्यमी शिवका अरु कयौं योजना छन् ।

‘नेपाल फर्कने वातावरण सोचे जस्तो भएन । बेलायतमा मास्टर्स सकेपछि नेपाल छंदा सामसुङमा काम गरेको अनुभवले यहीं विजनेश गर्ने इच्छा जाग्यो’, सप्ताहन्त लन्डन पेरिभेलस्थित आफ्नै कार्यालयमा उनले सुनाए ।

सन् २००९ सेप्टेम्बर १६ मा लन्डन उत्रिएका शिवले यहां पढाइ काम संगै लगे । जागिर खाने सिलसिलामा उनी पिज्जा हटको म्यानेजर बनेपछि उनमा ‘फ्रेन्चाइज कन्सेप्ट’ को राम्रो ज्ञान भयो । त्यसपछि उनले १० हजार पाउण्ड जति बैंक ऋण लिएर सन् २०१४ जनवरीदेखि डोर टु डोर (हयारो) को फ्रेन्चाइज लिए ।

बेलायतमा ६८ शाखा रहेको उक्त कम्पनीले लिफलेटिङ, प्रिन्टिङ एण्ड डिजाइनको काम गर्छ । विशेष गरि वेष्ट लन्डन (हयारो, इलिङ, अक्सब्रीज, हेज, साउथहल आदि) क्षेत्रमा केन्द्रित छ उनको सेवा । हयारो, इलिङ काउन्सिलदेखि राजनीतिज्ञ, स्टेट एजेन्ट्स जस्ता कयौं व्यवसाय उनका नियमित ‘क्लाइन्ट’ छन् ।

व्यवसाय प्रवर्धनका लागि बेलायतमा लिफलेटिङ ज्यादै प्रभावकारी हुने उनको बुझाइ छ । लक्षित समूहसम्म पुग्न लिफलेटिङमा खासै चुनौति देख्दैनन् उनी । ‘सूचना प्रविधिको यस जमानामा हरेक गतिविधि मनिटर हुने भएकाले यसको दुरुपयोग हुने सम्भावना कम छ’, उनी भन्छन् ।

‘बेलायतमा नेपालीहरु प्राय रेष्टुरेन्ट व्यवसायमै संलग्न भएकाले मलाई केही नयां व्यवसाय गर्ने कन्सेप्ट आयो’, शिव भन्छन्, ‘मेरो अनुभवमा मानिसले जे काम जानेको छ वा अनुभव छ, त्यसैमा हात हाल्नुपर्छ । व्यवसाय पनि त्यही हो । लगानी धेरै खन्याएरमात्र भन्दा आइडियाले विजनेश चल्ने हो ।’

पहिलो ‘स्टार्ट अप’ बाटै सफलता मिलेपछि उनले सन् २०१८ मा अर्को व्यवसाय शुरु गरे गोर्खा क्लिनिङ । ट्रेडिङ नाम फेन्टास्टिक सर्भिसेस् रहेको उक्त कम्पनी पनि फ्रेन्चाइज नै हो । सो कम्पनीले डोमेस्टिक क्लिनिङमा ‘फोकस’ गरिरहेको छ ।

बेलायतमा जब कोभिड १९ महामारी शुरु भयो, फूर्सदिलो समयमा उनले अर्को व्यवसायको परिकल्पना गरे, त्यो हो इन्भेन्ट्रीको । उनको रारा ब्लु इन्भेन्ट्री सर्भिसेस् (ट्रेडिङ नाम फेन्टास्टिक इन्भेन्ट्री सर्भिसेस्) कम्पनीले घर सर्नुअघि घरको अवस्थाबारे अध्ययन र विवरण लिने काम गर्छ । इन्भेन्ट्रीबाट घरधनी र भाडामा बस्ने दुवै सुरक्षित हुने शिव बताउंछन् ।

एकपछि अर्को व्यवसायमा सफलता चुम्दै गएका शिवले दुई महिनाअघिमात्र ‘यू मुभ’ (Ewe Move) नामक अर्को कम्पनी खोलेका छन् । १ अप्रिल, २०२१ देखि शुरु भएको यू मुभ पनि फ्रेन्चाइज हो जसका बेलायतमा एकसय ३५ शाखा छन् ।

यू मुभले घर किनबेच, भाडा र मोर्गेज सल्लाह दिने गर्छ । वेष्ट लन्डन, नर्थ वेष्ट लन्डन र साउथ वेष्ट लन्डनमा केन्द्रित भएर काम गरिरहेको छ सो कम्पनीले ।

मल्ल लकडाउनयता धेरै मानिसहरु घरबाटै काम गर्न थालेकाले भाडा लिने दिने गतिविधि करिब १० प्रतिशत घटेपनि अब पुनः त्यो क्रम बढ्ने विश्वासमा छन् । ‘प्रोपर्टी भ्यालु’ भने बढेको उनको बुझाइ छ ।

सन् २०१८ मा बीएफए नेटवेष्ट फ्रेन्चाइज सर्भेक्षणले फ्रेन्चाइज व्यवसाय ९९ प्रतिशत सफल भएको देखाएको उदाहरण प्रस्तुत गर्दै शिवले अन्य नेपाली व्यवसायीलाई पनि यही कन्सेप्ट अपनाउन सुझाव दिए । ‘ट्रायल एण्ड टेस्टेडमा आफ्नो सीप र इच्छा बमोजिम फ्रेन्चाइज रोज्दा सफलता धेरै हुन्छ’, उनले भने, ‘बेलायतको नेपाली डायष्पोरामा छिट्टै विजनेश नेटवर्किङ इभेन्ट गरेर समुदायलाई आफ्नो अनुभव आदानप्रदानको अवसर दिलाउने मेरो सोच छ ।’

कुनै पनि नेपालीलाई बिजनेश आइडिया आवश्यक भए सल्लाह दिने उनको सहयोगी भावना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू