मंगलबार, माघ ८, २०८१
01:38 | ०७:२३

बेलायतमा गुरु डा. योगीको सत्संग, आफैंलाई हेर्ने बानी बसाल्न सुझाव

नेपाली लिङ्क अप्रिल २१, २०२४

लन्डन । आध्यात्मिक चिन्तक तथा गुरु डा. चिन्तामणिनाथ योगीले बेलायतमा बस्ने नेपाली समुदायलाई रंगीन/ काल्पनिक सपनाको पछाडि धेरै नकुद्न र आफैंलाई हेर्ने बानी बसाल्न सुझाव दिएका छन्।

ह्यारोस्थित अन्तरराष्ट्रिय सिद्धाश्रम शक्ति केन्द्रमा गत आइतबार आयोजित एक सत्संगलाई सम्बोधन गर्दै डा योगीले श्री मद्भगवद् गीताले मानव मात्रलाई बुद्धिमान बन्न, कृतज्ञ बन्न, सरल र सहज बन्न निर्देश गरेको बताए। अत्यन्तै खुसी भएको वा अत्यन्तै दुखी भएको अवस्थामा कुनै पनि महत्वपूर्ण निर्णयहरु नगर्न सुझाव दिंदै उनले ‘तटस्थ स्थिति’ मा पुगेपछि मात्रै महत्वपूर्ण निर्णयहरु गर्न सुझाव दिए। ‘ध्यान, प्रार्थना र भजन गरेर हामी तटस्थ स्थितिमा पुग्न सक्छौं’, उनले भने।

‘हजार युद्ध जित्नु भन्दा आफैंलाई जीत’ भन्ने भगवान बुद्धको उक्ति उद्धृत गर्दै डा योगीले अनुशासित र संयमित जीवन जिउन आग्रह गरे। ‘म कहाँ थिएँ, कहाँ छु, कता जाँदैछु, कसरी जाँदैछु र किन जाँदैछु ?” भन्ने चिन्तन गरेपछि मात्रै अध्यात्मको यात्रा शुरु हुने उनले बताए।

गुरु डा योगीलाई स्वागत गर्दै अन्तरराष्ट्रिय सिद्धाश्रम शक्ति केन्द्रका संस्थापक डा राजराजेश्वरले समाजलाई संस्कृति र सभ्यता दिने काम सन्तको भएको बताए। उनले नेपाली समुदाय युकेमा मेहनती र अनुशासित समुदायको रुपमा चिनिएको भन्दै नेपाली समुदायलाई एकजुट गर्न आग्रह गरे।

आफ्नो झन्डै एक महिना लामो बेलायत भ्रमणको क्रममा योगीले मिल्टन किन्स, आएल्सबेरी, नेपाली भाषा तथा संस्कृति केन्द्र एजवेयर, श्री पशुपतिनाथ मन्दिर, प्लम्सटिड लगायतका स्थानमा बाल संस्कार शिविर संचालन गरेका थिए। 

त्यस्तै उनले पिटरबरो, एडीनबरा, बर्मिङ्घम, म्यानचेस्टर, न्युकासल, ग्लासगो लगायतका शहरमा नेपाली समुदायसंग सत्संग तथा अन्तरक्रिया गर्दै पारिवारिक मूल्य (फेमिली भ्यालुज) लाई सम्बर्द्धन गर्न सुझाव दिएका थिए। उनले साझा नेपाली समाजद्वारा मिडल्यान्ड्समा आयोजित ऐतिहासिक भजन महोत्सवलाई पनि सम्बोधन गरेका थिए।

त्यस्तै उनले लन्डनस्थित सेन्ट चार्ल्स सिक्स्थ फर्म कलेज तथा एचभीपी युकेका स्वयम्सेवकहरुसंग भेटघाट गरेका थिए। साथै उनले ग्रेटर म्यानचेस्टरस्थित विगान नगरमा रहेको महर्षि अन्तरराष्ट्रिय वेदिक फाउन्डेशन, वर्ल्ड गुडविल फोरम लगायतमा प्रवचन दिएका थिए भने सेन्ट जेम्स स्कुलको भ्रमण गरेका थिए।

‘अध्यात्म र मानवताको सन्देश लिएर म संसार घुमिरहेको छु । जुनसुकै देशको मूल्य मान्यता होस् हामीले हाम्रो दर्शनलाई विश्वव्यापी स्तरमा कसरी प्रवर्धन गर्न सक्छौं त्यसमा लाग्न जरुरी छ,’ उनले भने ।

मेडस्टोनमा सत्संग

गत शुक्रबार बेलुका राप्ती समाज युके तथा मेडस्टोन महिला समाजद्वारा आयोजित एक सत्संगलाई सम्बोधन गर्दै डा योगीले बेलायतको नेपाली समाजमा भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारले गरिरहेको योगदानको प्रशंसा गरे। “तपाईंहरुले नेपालीको इज्जत मात्रै बढाउनु भएको छैन, नेपाली भाषा, विविधतायुक्त संस्कृति र सभ्यता जोगाउन पनि निरन्तर काम गरिरहनु भएको छ,” उनले भने। प्रवासी नेपाली समाजलाई तोड्न हैन जोड्न सबैले काम गर्नु पर्नेमा उनले जोड दिए।

योगीले मेडस्टोन टाउन हल, मेयर्स पार्लर, क्विन्स गोर्खा इन्जिनियर्स ब्यारेकस्थित मन्दिरको भ्रमण गरेका थिए। मन्दिरमा उनलाई पण्डित प्रेम प्रसाद गैरेले स्वागत गरेका थिए। राप्ती समाज यूकेका अध्यक्ष तथा मेडस्टोनबाट निर्वाचित काउन्सिलर दिनेश खड्काले कार्यक्रम आयोजना गर्न सघाउने सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा बालबालिकासहित ५० भन्दा बढीको सहभागिता थियो।

आफ्ना सहयोगी सम्राटनाथ योगीसंग बेलायत भ्रमण पुरा गरी डा योगी सोमबार स्वदेश फर्कंदै छन्। उनले आफ्नो यात्रामा सघाउने सबै मित्र तथा संघसंस्थाहरुलाई हार्दिक धन्यवाद दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू