आइतबार, वैशाख २३, २०८१
00:34 | ०५:१९

बेलायतमा नेपालीको तन्नेरी पुस्ताले मनायो नयाँ वर्ष

नेपाली लिङ्क अप्रिल २५, २०२४


लन्डन- बेलायतको नेपाली समुदायको तन्नेरी पुस्ताले पनि एक कार्यक्रमसहित नेपाली नयाँ वर्ष मनाएको छ।

नेप्लिज युथ नेटवर्क यूकेको आयोजनामा गतसाता नेपाली नयाँ वर्षकै दिन वेलिङको सेन्ट माइकल कम्युनिटी सेन्टरमा विविध सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष मनाइएको हो।

नेटवर्ककी अध्यक्ष डा रानु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै विभिन्न गीत, नृत्यसहितका प्रस्तुतिबाट मनोरञ्जन गरिएको थियो।

सो अवसरमा नुरा अधिकारी, रिया गिरी र दीपक थापाले सुमधुर गीत प्रस्तुत गरेका थिए। त्यस्तै, रिया गिरी, राजी हमाल, आर्या, श्रेया गौत, ओजी हमाल र अनुषा शर्माले आकर्षक नृत्यहरु देखाएका थिए। आयान अधिकारीले आफ्नो पियानोवादन कला प्रस्तुत गर्दै सबैको मन जितेका थिए।

कार्यक्रममा बालबालिका र वयस्क समेतको सहभागितामा नेपाल र विश्व सम्बन्धी विविध विषयमा क्वीज सञ्चालन गरिएको थियो। साथै, फेस पेन्टिङ, कलरिङसंगै चेस, क्यारम बोर्डजस्ता खेलहरु पनि खेलाइएको थियो।

सो अवसरमा अतिथिको रुपमा रोयल बरो अफ ग्रीनवीचका डेपुटी मेयर जीत रानाभाट, सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेका अध्यक्ष विष्णु न्यौपानेसहितका पदाधिकारी र समुदायका अन्य अगुवाहरुको पनि उपस्थिति थियो।

कार्यक्रम सञ्चालन युथ नेटवर्कका अपेक्षा न्यौपाने र एलिना अधिकारीले गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू