आइतबार, वैशाख २३, २०८१
18:00 | २२:४५

लगानी सम्मेलनमा ब्रिटिश लगानीकर्ताहरुको उत्साहजनक सहभागिता

नेपाली लिङ्क अप्रिल २५, २०२४

लन्डन । नेपाल सरकारले दुई दिनपछि गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी अन्तिम चरणमा छ ।

काठमाडौंमा आउँदो आइतबार र सोमबार (वैशाख १६ र १७ गते) ‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट–२०२४’ आयोजना हुँदैछ ।

वक्तासहित विभिन्न ४३ देशका छ सयभन्दा बढी सहभागीको सुनिश्चित भइसकेको लगानी सम्मेलन सचिवालय संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जनाएका छन् ।

भट्टका अनुसार, भारतबाट ९७, चीनबाट ८२, अमेरिका, जापान र संयुक्त अधिराज्य (यूके) बाट १६, बङ्गलादेशबाट १३, जर्मनीबाट १२, मलेसियाबाट ११, युनाईटेड अरब इमिरेट्सबाट ८, दक्षिण कोरियाबाट ८, पाकिस्तानबाट ७, अस्ट्रेलियाबाट ७ र सिङ्गापुरबाट ५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

कतार, बहराइन, फिनल्याण्ड, कोलम्बियालगायत विभिन्न मुलुक र विकास साझेदार तथा दातृ निकायका प्रतिनिधिहरुको समेत सहभागिता सुनिश्चित भइसकेको बोर्डले जनाएको छ ।

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बिआइआई), डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (यूएसए), फिनफण्डलगायत विकास साझेदारहरु सम्मेलनमा सहभागी हुँदैछन् ।

सम्मेलनमा सहभागिता जनाउन अनलाइनमार्फत एक हजारभन्दा बढी आवेदन परेका छन् ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बेलायतबाट पनि सरकारी प्रतिनिधि तथा निजी कम्पनी सञ्चालकहरु सम्मेलनमा जाने भएका बताइन् ।

खनालका अनुसार, बेलायती विदेश मन्त्रालय (एफसीडिओ) का निर्देशक वेन मेलर, डिपार्टमेन्ट अफ बिजनेश एण्ड ट्रेडका प्रतिनिधि तथा व्यवसायीहरु नेपाल जानेछन् ।

व्यस्तताका कारण नेपाल जान नसकेका बेलायती विदेश मन्त्रालय अन्तर्गत एसिया प्यासिफिक हेर्ने राज्यमन्त्री आन म्यारी ट्रेभेल्यान र विकास मन्त्री एन्ड्रियू मिचेलले भने भिडियो सन्देश पठाएका खनालले जनाइन् ।

‘बेलायतबाट संख्यात्मक भन्दा पनि गुणात्मक प्रतिनिधित्व हुने भएको छ । सम्मेलनपछि बेलायती लगानीकर्ताहरु नेपाल आकर्षित हुन्छन् भन्ने हामीलाई विश्वास छ’, खनालले नेपालीलिंकसंग भनिन् ।

सम्मेलनका लागि करिब डेढ सय हाराहारी आयोजना ‘सोकेस’ मा लैजाने तयारी सरकारको छ । व्यवसाय–व्यवसाय (बी टु बी) लगानी सञ्जाल निर्माणका लागि पनि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू