आइतबार, असोज २०, २०८१
09:04 | १३:४९

लन्डनमा ४५ वर्षदेखि बिरामीको सेवामा डा. धिताल (भिडियो)

नेपाली लिङ्क मार्च २४, २०२४

लन्डन । ८० हाराहारी उमेर पुग्दा पनि उनको दैनिकी कहिल्यै निष्क्रिय बनेन । बिरामी जांच्न छाडेका छैनन्, सामाजिक गतिविधिमा संलग्नता उस्तै गतिमा छ ।

झन्डै ४५ वर्षदेखि लन्डनमा बिरामीको सेवामा समर्पित समाजसेवी चिकित्सक हुन् डा. राघवप्रसाद धिताल (ओबीई) ।

बेलायतको नेपाली डायष्पोराका पहिलो पुस्ता डा. धिताल र उनकी जीवनसंगिनी डा. जनककुमारी उदाहरणीय दम्पत्ति लाग्छ । यो चिकित्सक जोडी इष्ट लन्डनको एउटा जीपीमा संगै काम गर्छन् अनि हरेक नेपाली कार्यक्रममा एकसाथ पुग्छन् पनि ।     

आमनेपाली जस्तै बेलायत सपना साकार पार्दै धितालले सन् १९७९ जनवरीमा लन्डन पाइला टेके । त्यसयता उनको जीवन निरन्तर अगाडि छ समाजसेवा र जनकल्याणमा ।     

बुबा माधवप्रसाद धिताल र आमा चन्द्रप्रभा देवीको कोखबाट सन् १९४३ मा गोरखा खरिबोटमा जन्मिए उनी । छोरो डाक्टर बनिदिए हुन्थ्यो भन्ने चाहना परिवारको थियो । पढ्न तेज पनि थिए । परिवार र आफ्नो चाहना भएपछि धितालले भविष्यमा डाक्टर बन्छु भन्ने अठोट लिए, सफलता पनि हासिल गरे । 

त्यतिखेर नेपालमा मेडिकल कलेज थिएनन् । चिकित्सा अध्ययन गर्न भारत, पाकिस्तान, बंगलादेश वा अन्यत्र देश जानुपर्ने वाध्यता थियो । 

बीएस्सी पढेपछि डा. धितालले कोलम्बो प्लान अन्तर्गत इष्ट पाकिस्तान (हाल बंगलादेश) गएर एमबीबीएस पढ्न पूर्ण छात्रवृत्ति पाए । सन् १९६९ मा एमबीबीएस उत्तिर्ण गरेर नेपाल फर्किए । 

फर्किएपछि उनको व्यवसायिक चिकित्सा पेशा शुरु भयो । बाग्लुङ जिल्ला अस्पतालमा ५ वर्ष, हेटौंडामा दुई र वीर अस्पतालमा तीन वर्ष फिजिसियन भएर गाउंले जनताको सेवा गर्दा गर्दै लन्डन आएका थिए उनी । 

लन्डन आएर उनले ह्वाइट च्यापलस्थित रोयल अस्पतालमा केही वर्ष काम गरे । त्यसपछि लन्डन वाल्थमस्टोस्थित उडस्ट्रिट हेल्थ सेन्टरमा जनरल प्राक्टिसको तालिम लिएकै ठाउंमा उनी जनरल प्राक्टिसनर (जीपी डाक्टर) भए । 

सन् १९८४ देखि आजसम्म निरन्तर त्यहां काम गर्छन् धिताल । उनका ६ हजार बिरामी छन् । नेपाली भने कम नै रहेको उनले बताए ।

श्रीमति र छोरा पनि एउटै जीपीमा 

डा. धितालकी जीवनसंगिनी डा. जनककुमारी

जीवनको हरेक मोडमा पाएको श्रीमतिको सहयोगले नै आफू यहांसम्म आइपुगेको धिताल बताउंछन् । जनक सन् १९८० मा लन्डन आएपछि धितालले प्रत्येक पाइलामा साथ र हौसला पाए ।

डा. धितालकी जीवनसंगिनी स्त्रीरोग विशेषज्ञ डा. जनककुमारी पनि सन् १९९७ देखि उडस्ट्रिट हेल्थ सेन्टरमा ‘क्लिनिकल एन्ड नन-क्लिनिकल म्यानेजमेन्ट’ हेर्छिन् ।  

सन् १९४६ मा जन्मिएकी हुन् जनकुमारी । त्रिचन्द्र कलेजबाट आइएस्सी गरेपछि कोलम्बो प्लानको पूर्ण छात्रवृत्तिमै जनकले भारतको ग्वालियोर जीआर मेडिकल कलेजबाट सन् १९७० मा एमबीबीएस गरेकी थिइन् । जम्मा १० सिटका लागि आएको छात्रवृत्ति पाउन बडो कडा प्रतिष्पर्धा गर्नुपरेको जनक स्मरण गर्छिन् ।

छोरा डा. रिसव धिताल पनि उही जिपीमा विगत १२ वर्षदेखि कार्यरत छन् । बुहारी चेतना रिजाल डेन्टल सर्जन हुन् । 

जेठी छोरी डा. रन्जिता धिताल यूसीएलमा प्राध्यापन गर्छिन् । अहिले उनी यूसीएलले नै स्पोन्सर गरेर नेपालमा ड्रग र अल्कोहल नियन्त्रण प्रोजेक्टमा काम गर्दैछिन् । कान्छी छोरी डा. प्रज्ञा धिताल सोआस् युनिभर्सिटीमा प्राध्यापक छन् ।  

अन्तरजातीय बिवाह, ५२ वर्षसम्म उस्तै माया

उदाहरणीय दम्पत्ति

गोरखाका राघव र लमजुङकी जनकको ५२ वर्षअघि अन्तरजातीय बिवाह भयो । दुवै जना बाग्लुङ अस्पतालमा काम गर्ने क्रममा नजिकिएपछि अन्ततः बाहुन र क्षेत्रीबीच बिहे भयो सन् १९७२ सालमा । त्यतिबेलाको समाजले अन्तरजातीय बिवाह सजिलै स्वीकार्थेन । 

धितालले काठमाडौंबाट बुबा आमालाई चिठी लेखेर हामी बिहे गर्छौं भन्ने खबर सुनाए । त्यतिबेला अहिलेजस्तो इमेल, टेलिफोन, फ्याक्स उपलब्ध थिएन । धितालको प्यूठान पोस्टिङ भएको थियो । उता गएपछि त के हो के भन्ने लाग्यो । 

चिकित्सा पेशामा लागिसकेका उनीहरुलाई घरबाट खासै रोकतोक भएन ।

‘पारिवारिक चिनजान पनि थियो र हाम्रो घर नजिकै वारिपारी थियो । यसले गर्दा पनि परिवार कन्भिन्स् हुनुभयो’, धितालले सुनाए ।  

५२ वर्ष भयो उनीहरुले बिहे गरेको । झैं झगडा बेमेल केही छैन् । दुवैको जीवन निकै व्यस्त छ तर समझदारी पनि छ । संगै काम गर्छन्, फूर्सदमा संगै डुल्छन् अनि सोसल इन्गेजमेन्ट पनि एक साथ ।

धिताल दम्पत्तिले काम गर्दा बाग्लुङ अस्पतालमा तीन लाख जनसंख्या थियो । तर डाक्टर थिए उनीहरु दुई जनामात्र । विरामीलाई अहिलेजस्तो सुविधा हुने कुरै भएन । 

‘बिरामीलाई बाहिरै राखेर अप्रेसन पनि गरेका थियौं । दुई जना संगै हुंदा काम गर्न सजिलो हुन्थ्यो तर श्रोत साधन अभाव थियो’, जनककुमारी भन्छिन्, ‘हामीले स्थानीय जनताको मन जितेका थियौं । राजा वीरेन्द्रको सवारी हुंदा जनताले हामीलाई सरुवा नगरिदिन विन्ति गरेको कसैले सुनाएका थिए ।’ 

त्यहां राम्रो सेवा गरेरै उनीहरुले राजाबाट पदक पनि पाए । राघवले राजा वीरेन्द्रबाट त्रिशक्ति पट्ट र जनकले गोर्खा दक्षिणबाहु पाइन् ।

हेटौंडामा सरुवा भएपछि धितालले प्राइभेट क्लिनिक सञ्चालन गरेका थिए स्थानीय जनताको सुविधाका लागि । ‘हेटौंडा टेक्सटायल, हेटौंडा सिमेन्ट लगायत विभिन्न कलकारखाना भएको औद्योगिक क्षेत्र हेटौंडामा मैले कामदारहरुकै सजिलोका लागि केही समय निजी क्लिनिक पनि खोलेको थिएं’, धितालले सम्झिए । 


समाजसेवाप्रति लगाव

ढाकामा एमबीबीएस पढ्दा ताका नै धिताल फरेन स्टुडेन्ट्स एसोसिएसनको सहसचिव, महासचिव हुंदै अध्यक्ष बनेका थिए । उनलाई सानैदेखि संघसंस्था ‘लिड’ गर्न खुब चाख लाग्थ्यो । 

लन्डन आएपछि पनि यसले निरन्तरता पायो । त्यतिखेर वर्क परमिटमा लन्डन आएका ईश्वर मानन्धर र हरिविभोर कार्कीले आग्रह गरेपछि यती संस्थामा आवद्ध भएका थिए धिताल, २५ पेन्स सदस्यता शुल्क तिरेर ।   

‘यतीको नाम नेपालमा कलेज पढ्दा देखि नै सुनेको थिएं, लन्डन आएको दुई वर्षपछि संस्थामा प्रवेश गरें’, उनले भने । 

डा. धिताल सन् १९८२ देखि सन् २००३ सम्म यतीको कार्यसमितिमै सक्रिय रहे । सन् १९९५ मा चुनावबाटै अध्यक्ष निर्वाचित उनी कयौं पटक सर्वसम्मत हुंदै यतीमा ७ पटक अध्यक्ष बने । 

‘जब संस्था अप्ठेरो मोडमा पुग्थ्यो अनि मलाई नेतृत्वमा आउन अनुरोध आउंथ्यो’, उनले भने । उनको नेतृत्वमा यती संस्थाको हाइट पनि निकै चुलियो । यती कप संस्थाको लोकप्रिय इभेन्टमा पर्दथ्यो जसमा ब्रिटिश आर्मीका खेलाडी पनि खेल्न आउंथे ।

नेपाली कम्युनिटी हाउस बनाउने सोचले डा. धितालकै पालामा यती वेलफेयर फाउण्डेशन यूके नामक च्यारिटी संस्था गठन भयो । उक्त संस्थामा अहिले एक लाख ७५ हजार पाउण्ड वचत छ । उनले आफ्नै घर र पेन्सन रकम धितो राखेर चाल्टर्न रोडमा एउटा घर पनि किने मोर्गेजमा । तर पछि नाफा आउने भएपछि उक्त घर विक्री गरियो । 

यती वेलफेयरको पैसा पछिल्लो समयमा यतीमा लाग्नेहरुले मास्न खोजेपनि आफूले नदिएको धिताल बताउंछन् । ‘एउटा जग्गा किनेर घर बनाइदिन पाए हुन्थ्यो भन्ने सोच छ । तर, अहिले कोही गम्भीर छैनन्’, उनी दुःखेसो पोख्छन् । 

नेपलिज डक्टर एसोसिएसन यूकेका संस्थापक सदस्य डा. धिताल ब्रिटेन नेपाल मेडिकल ट्रष्ट र यती वेलफेयर फाउण्डेशनको ट्रष्टी, गोर्खाली समाज यूके संरक्षक, एनआरएनए यूके प्रमुख सल्लाहकार लगायत कयौं सामाजिक संघसंस्थामा आवद्ध छन् ।

बेलायतमा एउटा चिकित्सकको व्यस्तता कति हुन्छ सहजै कल्पना गर्न सकिन्छ । तर, धिताल किन समाजप्रति हुरुक्कै हुन्छन् ? प्रश्नमा उनले प्रष्टिकरण दिए, ‘म सामाजिक प्राणी हुं । मलाई समाजका लागि केही गर्नुपर्छ भन्ने लाग्छ । डाक्टरको परिभाषामा मानसिक, सामाजिक, शारिरीक स्वास्थ्यलाई हेरिन्छ । काम नै मानिससंग, अझ आफ्नै देशको मानिससंग भनेपछि झन् बढी आत्मीय हुने नै भयो । दुःखमा मानिसहरु मलाई सम्झन्छन् । यसैमा सन्तोष छ ।’


समाज विभाजनले चिन्तित 

नेपाली समाज विभाजन हुंदै गएकामा डा. धिताल निराश छन् । उनी लन्डन आउंदाको जमाना डाक्टर, ब्रिटिश गोर्खा र क्याटरिङ व्यवसायमा लागेका जोरजाम गर्दा नेपाली १० हजार पनि थिएनन् । 

दशैं, राजाको जन्मोत्सव मनाउन दूतावासमा भेला हुन्थे नेपाली । यसबाहेक युरोपकै पुरानो सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले दशैं, नयां वर्ष र समर आउटिङ राख्थ्यो बेला बेला ।  

त्यति बेलाको नेपाली समुदाय र अहिले आकाश जमिन फरक देख्छन् डा. धिताल । ‘त्यसताका मिलेर बसेको थियो समुदाय । अहिले सांघुरो गल्लीबाट हिंड्न थालेका छन् मानिस, बडो दुःख लाग्छ’, धितालले भने, ‘पहिले हामी एउटै परिवार जस्तो मिलेर बस्थ्यौं । अहिले क्षेत्रीय, वर्गीय, जातीय विभाजन बढेको छ । संकुचित सोच र भेदभाव बढेको छ ।’ 

गोर्खा त छंदैछन्, अन्य नेपालीको इज्जत अझैपनि विश्वमा कायम रहेकाले यसलाई जोगाउन सुझाउंछन् धिताल ।

लामो समयदेखि बेलायतको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका धिताल बेलायत र नेपालको स्वास्थ्य प्रणाली तुलना गर्न गर्न नहुने बताउंछन् तर नेपालले यहांबाट धेरै सिक्न सक्छ । 

‘यहां जन्मिएदेखि घाटसम्म निशुल्क सेवा छ । सबै जनताले उपचार पाउन् भनेर सन् १९४८ मा नेशनल हेल्थ सर्भिस् शुरु भयो । डाक्टर र बिरामीबीच पैसाको लेनदेन हुंदैन’, उनले भने, ‘मनदेखि नै सेवा गरिन्छ । जेनरल मेडिकल काउन्सिलबाट हरेक वर्ष परीक्षा हुन्छ जसले सेवाप्रति गम्भीर हुन जरुरी छ ।’

बेलायतमा भौतिक पूर्वाधार, श्रोत साधन पर्याप्त छ । नेपालमा अस्पताल खुलेका छन्, नेता विदेश जाने परिपाटी बढेपनि सर्वसाधारण उपचारकै लागि विदेश जान परेको छैन् । तर सरकारी अस्पतालबाटै गरिव जनतालाई सेवा पुरयाउने परिपाटी नभएको उनको भनाइ छ । यो बिग्रनुमा राजनीतिज्ञलाई दोष देख्छन् धिताल ।

बेलायतकी महारानीले धिताललाई सन् २००७ मा अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीई) जस्तो प्रतिष्ठित अवार्ड दिइन् । यो अवार्ड अहिलेसम्म पनि औंलामा गन्न सकिने नेपालीले मात्र पाएका छन् । 

के योगदानले पाउनु भयो ? प्रश्नमा उनले बेलिविस्तार लगाए, ‘खासमा मैले ब्रिटेन नेपाल सम्बन्ध सुमधुर बनाउन र नेपाली समुदायलाई योगदान गरेको भनेर दिइएको हो । शुरुमा मेरो नाम सिफारिस गर्नेले मन्जुरी लिने रहेछन् । मैले सहमति जनाएपछि दरबारबाट अवार्डका लागि चिठी आयो ।’

डा. धितालको नेपालका राजपरिवारसंग पनि घनिष्ट सम्बन्ध थियो । उनले तत्कालिन राजाहरुसंग पटक-पटक भेट गरेका छन् ।  

बाग्लुङ अस्पतालमा काम गर्दा होस् वा लन्डनमा । राजा वीरेन्द्रको सवारी भएको बेला बाग्लुङमा दर्शन भेट पाएका उनले ढाकामा पढ्दा पनि राजा वीरेन्द्र र ज्ञानेन्द्रसंग भेटेको उनी सम्झन्छन् ।

लन्डनमा आएका बेला राजा वीरेन्द्रबाट नेपालीले बेलायती राजनीतिक गतिविधि बढाउन सक्दैनन् भनेर चासो राखेको उनले स्मरण गरे । 

धितालको भनाइमा बेलायतमै पढेका वीरेन्द्रलाई सधैं देश र जनताको राम्रो होस् भन्ने लाग्थ्यो । विदेशमा नेपालीले नेपालको नाम उंचो राखुन् भन्ने कामना गर्थे । 

तर, दरबार हत्याकाण्ड घटेपछि धिताल निकै विक्षिप्त बने । बेला बेला घरको भित्तामा टांगिएका राजाले आफूलाई पदक दिंदाको तस्विर देख्दा उनी झन् भावुक बन्छन् ।

राजा वीरेन्द्रबाट त्रिशक्ति पट्ट ग्रहण गर्दै धिताल

एनआरएनए स्थापनामा योगदान

अहिले विश्वका ८० भन्दा बढी देशमा सञ्जाल फैलिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापनामा डा. धितालको पनि योगदान छ । सन् २००३ को कुरा हो । संघ स्थापनाको सिलसिलामा डा. उपेन्द्र महतो, जीवा लामिछाने, भीम उदाससहित अष्ट्रेलिया, अमेरिका, लन्डनबाट अभियन्ताहरु साउथ उडस्थित धिताल निवासमा आएर परामर्श गरेका थिए । भोलिपल्ट लन्डनको एउटा रेष्टुरेन्टमा लन्डन डिक्लेरेसन घोषणा भयो । पछि राजा ज्ञानेन्द्रबाट अक्टोबरमा संघ गठनको औपचारिक घोषणा भएको थियो । काठमाडौंमा राजा ज्ञानेन्द्रले धिताललाई एनआरएनए गठनमा योगदान गरेको भन्दै प्रशंसापत्र समेत प्रदान गरेका थिए। 

एनआरएनएले वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दा छोडेकामा भने निराश छन् उनी । यो रहेमात्र पुस्तौं पुस्ताले मातृभूमि सम्झने धितालको विश्वास छ ।

एनआरएनए स्थापनाको २० वर्ष दौरान विश्वभरका मानिसबीच नेटवर्कका हिसावले राम्रो भएपनि अहिले संस्थामा खिचातानी, भद्रगोल, आर्थिक हिनामिना भएको देख्दा दुःख लाग्छ उनलाई । 

अहिले बेलायतको नेपाली समुदाय पनि छिन्नभिन्न भएको देख्दा उनी चिन्तित छन् । ‘क्षेत्रीय, वर्गीय, जातीय, राजनीतिक रुपमा मानिसहरु विभाजित छन् । कतैपनि नलागी नेपाली भएर बस्न सके हुन्थ्यो नत्र यसले भविष्यमा घाटा नै गर्छ’, उनको भविष्यवाणी छ ।  

बेलायतमा रहेपनि नेपालको राजनीतिबाट अलग रहन सक्दैनन् उनी । धितालको निवासमा नेपालका प्राय नेताहरु पुगेका छन् । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, पहिलो राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कयौं शीर्षस्थ नेता । ‘नेताहरु कुरा गर्छन् काम गर्दैनन्’, उनको निष्कर्ष छ, ‘नेपालका नेताहरु स्वार्थ, कुर्सी र परिवारवादमा अल्झिए । जबसम्म देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरिंदैन तबसम्म देश समृद्ध हुंदैन ।’ 

नेपाल फर्केर आफ्नो ज्ञान, सीप बांड्ने हुटहुटीले उनलाई सताइरहेको छ । समय, परिस्थितिले लन्डनमै अल्झिएपनि अब विस्तारै नेपाल नै गएर देशका लागि काम गर्ने सोच बनेको उनले सुनाए । ‘परिवार यतै भएकाले जाने आउने त भइहाल्छ तर आफूले जानेको सरसल्लाह दिन मन छ’, उनी भन्छन्, ‘हाम्रो उमेर अवस्थाले गाउं गाउं दगुर्ने भन्ने हुन्न तर मेरो सुझाव सल्लाह दिन तयार छु।’  

पहिला पनि गाउंघरमा सेवा गरेकाले फर्किएर काम गर्ने इच्छा मनमा जागेको छ । बंगाली, उर्दु, मैथिली, अवधि, भोजपुरी, हिन्दी, अंग्रेजी जस्ता भाषामा दख्खल छन् धिताल । आएको जस्तोसुकै जिम्मेवारी वहन गर्न सक्छु भन्ने आत्मविश्वास उनमा छ । 

नेपालबाट दिनहुं युवा पलायनको समाचारले निकै पिरोलेको छ उनलाई । गाउंमा मलामी पाइन छोड्यो । खेतबारी बांझै छन् । धिताल जन्मिएको घर भूकम्पले ढलायो तर गएर मर्मत गर्ने अनि बस्ने कोही छैनन् । ‘अहिले न मेरो गाउंमा मानिस छन्, न अन्त । वाध्यताले गर्दा युवा पलायन हुने क्रम अकासिएको छ । वास्तवमा यो निकै डरलाग्दो अवस्था हो’, उनले चिन्ता व्यक्त गर्दै भने- ‘नेपालमा राजनेता जन्मिन सकेनन् । भिजन भएका नेता हुंदा हुन् त नेपालमै रोजगारी र अन्य अवसर सृजना हुन सक्थ्यो । प्लस टु पढ्दा पढ्दै युवा बाहिरिने अवस्था पक्कै आउने थिएन ।   

बेलायती महारानीले प्रदान गरेको ओबीई पदक ग्रहण गर्दाको क्षण

 ८० वर्षको उमेरमा पनि मज्जाले कार हांक्ने, नियमित बिरामी जांच्ने, समुदायका इभेन्ट्सहरुमा कुंदिरहने र देशको चिन्तन गरिरहने डा. धिताल अवकास होइन्, अझै केही वर्ष सक्रिय जीवन जीउने सोचमा छन् । शुभकामना डा. सावलाई ।
      

हेरौं डा धितालसँग नेपाली लिंकको भिडियो संवाद: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू