मंगलबार, वैशाख १८, २०८१
20:32 | ०१:१७

बेलायती शहरमा इण्डियन कुजिनले लोभ्याउँदै नेपाली युवा (भिडियो)

नेपाली लिङ्क मार्च ३१, २०२४

लन्डन । इंग्ल्याण्डको सरे, ह्याम्पसायर र ससेक्स काउन्टी बोर्डरमा एउटा सुन्दर गाउं छ हेजलमेर । बेलायतीहरुको त्यही सानो वस्तीमा नेपाली युवाले पस्किरहेका छन् इण्डियन कुजिन, ‘दिल्ली’ रेष्टुरेन्टमार्फत ।

सन् २०२३, १६ जुलाईमा खुलेको ‘दिल्ली’ धेरै अर्थमा पृथक छ । प्रिमियम फाइन डाइनिङ एक्सपेरियन्स्, रेष्टुरेन्ट एम्बियन्स्, खाना प्रिजेन्टेसन, प्रिमियर ककटेल र ५ स्टार होटलमा काम गरिसकेका उच्च दक्ष सेफ अनि म्यानेजर यसको सफलताका आधार स्तम्भ बनेका छन्।

यसका हेड सेफ दोमाकान्त पुलामी जैसी भारत हुंदै १५ वर्ष दुबईको स्टार होटलमा मिसलिन स्टार सेफ विनित भाटियाको टिममा काम गरेका सेफ हुन् । म्यानेजर निश्चल प्रधान पनि दुबईमा लामो समय काम गरेर यता आएका हुन् ।

८० सिट क्षमताको ‘दिल्ली’ ले छोटो समयमै स्थानीय ग्राहकको मन जितेपछि सञ्चालक युवा व्यवसायी विष्णु खरेल र उनका दाई गोकुल खरेल उत्साहित छन् ।

नर्थ इण्डियन फ्यूजन खाना पाइन्छ यहां । भारत, नेपाल र दुबईका तारे होटलमा काम गरिसकेका अनुभवी सेफले तयार पार्ने खाना ग्राहकको रोजाइमा नपर्ने कुरै भएन ।

सातै दिन तर बेलुका डिनरका लागि मात्र खुल्ने यस रेष्टुरेन्टको मेन कोर्समा जम्मा ७ वटा कुइजिन छन् गार्लिक चिल्ली मसला, गन पाउडर भिन्डालु, मुर्ग मखनी, रोगन जोस, मिन मोइली, थार घोष्ट र बटर चिकन ।

स्टाटरमा स्ट्रिट फुड स्टाइलको पन्जाबी समोसा र ममचा (नेपाली स्वाद) खुबै रुचाउंछन् कष्टमर ।

‘हामी स्वस्थ्यकर र ताजा खाना पस्कन बढी सचेत छौं’, सञ्चालक विष्णु भन्छन्, ‘खाना सर्भ अघि हामी ग्राहकलाई ब्रीफ गरेर दिन्छौं । प्रिमियम ग्लासवेयर प्रयोग गरिन्छ । रेष्टुरेन्टमा आएका ग्राहकलाई सर्भिसमा सम्झौता नगर्ने मान्यता अनुरुप टेक वे वा डेलिभरी गर्दैनौं ।’

करी हाउसभन्दा पनि इण्डियन फाइन डाइन कन्सेप्टमा छ यो । दिल्लीमा १८ जना कर्मचारी काम गर्छन्, बढी नेपाली कामदार नै छन् ।

नेपालीहरु काम गर्न दिल्ली जान्छन्, कति काम सिकेर फर्कन्छन् । राजनीतिका दृष्टिकोणले नेपालसंग दिल्ली कनेक्सन महत्वपूर्ण मानिन्छ । यिनै दृष्टान्तबाट विष्णुले आफ्नो रेष्टुरेन्टको नाम ‘दिल्ली’ जुराइएको प्रष्टिकरण दिए ।

दिल्ली शुरु गर्नुअघि विष्णु दाजुभाई मार्केट रिसर्चका लागि इन्डिया, दुबई र लन्डनका प्रख्यात रेष्टुरेन्ट पुगेका थिए ।

अहिले बेलायतसहित विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्था छ । मानिसहरु विलासी खर्च गर्न हच्केका छन् । बेलायतले अध्यागमन नीतिमा कडाइ गरेको छ । यस्तो चुनौतिबीच रेष्टुरेन्ट व्यवसायमा आक्रामक ढंगले लाग्न कसरी प्रेरित भइरहेका छन् विष्णु ? प्रश्नमा उनले सुनाए, ‘हो, रिसेसनका कारण खर्च गर्ने क्रम अलिकति घटेको छ । इटिङ आउट कम हो तर यस क्षेत्रमा वर्किंग क्लास् कम र बढी विजनेश गर्ने नै बढी भएकाले हामीलाई असर गरेको छैन ।’

बेलायत सरकारले बाहिरी देशबाट ‘स्किल्ड वर्कर’ ल्याउन गरेको कडाइले गर्दा दक्ष कामदार अभाव हुने आकलन छ विष्णुको । ‘सरकारले वार्षिक ३८ हजार तलव थ्रेसहोल्ड राख्नु अत्यन्त अव्यवहारिक छ । हाइ अर्न विजनेश गर्ने कम्पनीले यो अफोर्ड गर्न सक्छ तर सबैले सक्दैनन् । त्यसकारण भविष्यमा दक्ष कामदार अभाव हुने चिन्ता छ’, उनले भने ।

रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दा हेल्थ एण्ड सेफ्टी, फुड हाइजिन, कर प्रणाली, अध्यागमन जस्ता कम्प्लायन्समा सचेत हुनुपर्ने र कन्सिसटेन्सी (स्थिरता) महत्वपूर्ण पक्ष मान्छन् विष्णु । प्यासन र पृथक आइडियामा पनि ध्यान दिन आवश्यक रहेको उनी बताउंछन् ।

‘दिल्ली’ खरेल दाजुभाईको दोश्रो रेष्टुरेन्ट व्यवसाय हो । सन् २००९ मा खुलेको ग्रेसटस्थित ‘बेलिफ’ रेष्टुरेन्ट पनि एकदम चल्ने इण्डियन रेष्टुरेन्ट मानिन्छ ।

६८ सिट क्षमताको क्याजुएल डाइनिङ बेलिफमा १३ जना काम गर्छन् । २२ सिटबाट शुरु भएको बेलिफ छिट्टै ९० जना अट्ने गरि ‘एक्सटेन्सन’ हुँदैछ । बार राख्न एक्सटेन्सन गरिएको खरेलले बताए ।

भविष्यमा गीलफोर्डमा १२० सिट क्षमताको रेष्टुरेन्ट विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

विद्यार्थी हुंदै सफल व्यवसायी

अध्ययनका लागि चितवन शारदानगरबाट सन् २००० मा लन्डन उत्रिएका थिए विष्णु । उनले किङ्सटन युनिभर्सिटीमा आइटी नेटवर्किङ पढे जतिबेला त्यसको स्कोप हाइ थियो ।

विद्यार्थी जीवनमा उनका दिनहरु पनि संघर्षपूर्ण रहे । तीनवटा भन्दा बढी ठाउंमा ‘लङ् सिफ्ट’ काम गर्थे उनी । सर्भाइभलका लागि क्याटेरिङको सामान्य काम गर्दा गर्दै उनी दुई वर्ष रेष्टुरेन्ट म्यानेजरसमेत भए । त्यहीं काम गरेको अनुभवले पनि सन् २००९ देखि रेष्टुरेन्ट व्यवसायमा लागेको विष्णु बताउंछन् ।

चितवनको साविक शारदानगर नमुना गाविसका पूर्व उपाध्यक्ष बुबा चुडामणी खरेल र आमा चन्द्रकलाका कान्छो छोरा विष्णुलाई व्यवसायमा दाई गोकुलको मुख्य साथ सहयोग छ ।

विष्णु एनआरएनए कोषाध्यक्ष तथा अध्यागमन सल्लाहकार हुन् । उनले करिब आधा दर्जन म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् ।

सन् २०१० मा भिजा क्वेष्ट कम्पनी शुरु गरेका उनी मुख्य गरि स्किल्ड वर्कर र स्पोन्सर लाइसेन्सिङमा दक्ष छन् । अहिलेसम्म झण्डै ५०० जनाको वर्क परमिट आवेदन सफल बनाएको उनको दावी छ । उनले २०० भन्दा बढी विजनेशका होम अफिस कम्प्लायन्स पुरा गर्न काम गरिसकेका छन् ।

बेलायतमा नेपाली समुदायका करिब ९५ प्रतिशत रेष्टुरेन्ट अनर नै क्लाइन्ट भएकाले पनि आफू यस व्यवसायमा आकर्षित भएको उनले बताए । उनले आफ्नो रेष्टुरेन्ट व्यवसाय हुंदा पनि अध्यागमन सल्लाहकारको काम छाडेनन् । कामबाट वचत गरेको पैसालै नै विजनेश शुरु गरेको उनले स्मरण गरे ।

उनले मानवसेवा आश्रमलाई निरन्तर आर्थिक सहयोग गरिरहेका छन् । वर्षमा तीनवटा च्यारिटी इभेन्ट्स गर्छन् उनी । रेष्टुरेन्टमा सर्भिस दिएर संकलित रकम नेपालमा अति आवश्यक परेका वर्गलाई सहयोग दिंदै आएको उनले बताए ।

हेरौं दिल्ली फाइन डाइनबारे नेपालीलिंकको विशेष भिडियो रिपोर्ट- 

हेरौं थप तस्विरहरु: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू