शनिबार, वैशाख १५, २०८१
11:54 | १६:३९

इंग्ल्याण्डसंग खेल्न बेलायत आउँदै नेपाली फुटबल टीम, मे ६ मा हुनेछ ऐतिहासिक खेल

मे ६ मा अल्डरसटमा हुनेछ नेपाल र इंग्ल्याण्ड सीको खेल

नेपाली लिङ्क मार्च ११, २०२४

पत्रकार सम्मेलनमा बांयाबाट इंग्ल्याण्ड सी म्यानेजर पल फेरक्लो, अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम र इंग्ल्याण्ड एफए नेशनल लिग प्रमुख लरेन्स जोन्स

लन्डन- ५५ वर्ष अगाडि बेलायत आएका पाकिस्तानीमूलका साहिद अजिम अरुभन्दा नेपाली समुदायसंग निकट छन्। अप्ठेरो पर्दा नेपालीलाई बेलायत र नेपालमा पनि सहयोग गर्न उनी सधैं अग्रसर हुन्छन् ।

अजिम अध्यक्ष रहेको एउटा व्यवसायिक क्लव अल्डरसट टाउन फुटबल क्लबले महाभूकम्पका बेला नेपालमा ३० हजार पाउण्ड खर्चेर दुई स्कुल पुनर्निर्माण गरिदिएको थियो ।

यीनै अजिज यतिखेर नेपालबाट राष्ट्रिय फुटबल टिम बेलायत झिकाएर पहिलोपटक ऐतिहासिक फुटबल खेल आयोजना गर्ने तयारीमा जुटेका छन् ।

अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउंदो मे ६ तारिख सोमबार बैंक होलिडेका दिन नेपालको राष्ट्रिय टिम र इंग्ल्याण्डको सी टिमबीच प्रतिष्पर्धा गराउने भएको छ।

सोमबार अल्डरसटस्थित इबीबी रंगशाला परिसरमा आयोजित एक पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अजिमले नेपालबाट खेलाडी, कोच, फिजियो, अफिसियल गरि ३० जनाको टिम बेलायत आउने जानकारी दिए । अप्रिल २९ मा नेपालको टिम बेलायत आइपुग्नेछ । खेलाडीहरुले बेलायतको भिसा समेत बुझिसकेको जनाइएको छ ।

यो ऐतिहासिक खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ र इंग्ल्याण्ड फुटबल एसोसिएसनसंग समन्वय गरिरहेको छ ।


इंग्लिस एफएले विकासोन्मुख देशलाई फुटबल खेलमा आकर्षित गराइरहंदा नेपालबाट आउने टिमलाई पनि सहयोग गर्न लागेको हो ।

अध्यक्ष अजिमले ६ मेको दुई देशीय ऐतिहासिक म्याच सफल बनाउन लन्डनस्थित नेपाली राजदूतावास, एनआरएनए यूकेसहित समग्र नेपाली समुदायसंग सहयोगको अपिल गरेका छन् ।

८ हजार दर्शक क्षमताको उक्त प्रतियोगिता हेर्न कम्तीमा ५ हजार दर्शक आउने अपेक्षा आयोजकको छ ।

म्याच हेर्न वयस्कका लागि १० पाउण्ड र अण्डर १६ का लागि ५ पाउण्ड टिकट शुल्क लिइने आयोजकले जनाएका छन् ।

करिब ५० हजार पाउण्ड बजेट लाग्ने बताइएको उक्त म्याच खेल्न आएका नेपाली खेलाडीको प्रशिक्षण, खान, बस्न, यातायात आदि खर्च आयोजकले नै बेहोर्ने छन्।

इभेन्टको खर्च व्यवस्थापनका लागि स्पोन्सरहरुको जोहो गर्ने काम भइरहेको अजिम बताउँछन् । ‘हामीलाई कयौं प्रायोजकले सहयोग गर्दैछन् । हिमालयन जेटका दीपेन्द्र गुरुङले पनि ठूलो सहयोग गर्दैछन्’, नेपाली समुदायलाई उनको सन्देश छ, ‘खेलस्थलमा तपाईं आफ्नो व्यापार, व्यवसायको विज्ञापन गरेर पनि सहयोग गर्न सक्नुहुन्छ । खाना तथा अन्य व्यापारका लागि उपलब्ध स्टलहरु बुक गर्न पनि सक्नुहुनेछ ।’

खेल हुने दिन विभिन्न ७ वटा खानाको स्टल समेत रहने जनाइएको छ ।

अल्डरसटमा सयौं वर्षदेखि गोर्खा रेजिमेन्ट रहेको र यहां हाल करिब १५ हजार नेपाली बसोवास गर्ने भएकाले नेपाली र बेलायती समुदायलाई एकीकृत गर्ने आफ्नो मुख्य उद्देश्य रहेको अजिमले बताए ।

एक साता बेलायतमा रहंदा नेपाली टिमले बिहान तालिम लिने र बांकी समय विभिन्न गतिविधिमा सहभागी हुने तय भएको अध्यक्ष अजिमले बताए ।

बेलायत आउने नेपाली टिमले वेम्ली स्टेडियममा मे ४ मा हुने नेशनल लिग फाइनल खेल हेर्ने, ह्याम्पसायर एफसी अवलोकन भ्रमण र गोर्खा रेजिमेन्टसंग फ्रेण्ड्ली म्याच खेल्ने तय भइसकेको छ ।

नेपालसँग खेल्ने ‘इंग्ल्यान्ड सी’ यहाँको राष्ट्रिय टीमकै मान्यता भएको टीम हो। जसले इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग सद्भावना खेलहरु खेल्ने गर्छ र यस्तै खेलहरुमार्फत् विकासशिल राष्ट्रहरुको फुटबल विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राख्छ।

‘इंग्ल्याण्ड सी’ मा इङ्लिस प्रिमियर लिग वा च्याम्पियनसीप जस्ता लिगहरु खेल्ने बाहेकका तर फुलटाइम पेशाकै रुपमा फुटबल खेल्ने खेलाडी समावेश छन्।

फाइल: नेपाल र इंग्ल्याण्ड सीबीच खेल हुने अल्डरसट टाउन फुटबल क्लबको इबीबी स्टेडियम।

‘ इंग्ल्याण्डसी र नेपालबीच हुन लागेको यो ऐतिहासिक खेल मैत्रीपूर्ण होइन, यो त यहाँको फुटबल एशोसिएसन (एफए) ले मान्यता दिएको एक पूर्ण अन्तर्राष्ट्रिय खेल हो। जसमा अंग्रेज खेलाडीहरु इंग्ल्याण्डको राष्ट्रिय टीमकै क्यापमा खेल्नेछन् र यो इंग्ल्याण्डले खेलेका अन्तराष्ट्रिय खेलहरुको सूचीमा रेकर्ड हुनेछ’, अजिमले स्पष्ट पारे।

अल्डरसट टाउन एफसी अध्यक्ष अजिमले यो खेल नेपाली प्रतिभावान खेलाडीलाई बेलायती क्लवमा अवसरको लागि प्लेटफर्म बन्न सक्ने बताए ।

‘म आशा गर्छु नेपाली खेलाडीहरुले प्राप्त अवसरलाई सदुपयोग गर्नेछन् र आफ्नो खेल कौशलले सबैलाई प्रभावित गर्नेछन्’, उनले थपे, ‘यो खेल हेर्न यहाँका विभिन्न लिगका प्रशिक्षकहरु पनि आउनेछन्। उनीहरुले मन पराए भने अनुबन्धनका लागि प्रस्ताव राख्न सक्छन्। भोलि हाम्रै अल्डरसट टाउन क्लबमा पनि कुनै नेपाली खेलाडीले खेलेको हेर्न मलाई चाहना छ। तर त्यो प्रशिक्षक प्रभावित भएपछि मात्र सम्भव छ।’

इंग्ल्याण्ड एफएको नेश्नल लिग सिस्टम प्रमुख लरेन्स जोन्सले नेपाली टीमलाई स्वागत गर्न आफूहरु आतुर रहेको जनाउँदै यो खेलले बेलायतको नेपाली समुदाय र गोर्खा रेजिमेन्टसंग स्थानीय समुदायको घुलमिल बढाएर सम्बन्ध झन् प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

एन्फाले पनि इंग्ल्याण्डसंगको पहिलो खेललाई नेपाली खेलाडीहरुलाई अन्तरराष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन तथा उपयोगी अनुभव आर्जन गर्न सुन्दर अवसरका रुपमा लिएको जनाएको छ ।

खेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा अल्डरसट टाउन फुटबल र इंग्ल्याण्ड एफएका अधिकारीहरुसंगै स्थानीय नेपाली समुदायका अगुवाहरुको पनि उपस्थिति थियो ।

तस्विर: मिलन तमु

तस्विर: मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू