शुक्रबार, वैशाख २१, २०८१
16:57 | २१:४२

लन्डनमा रोजनको फड्को: भ्यान ड्राइभर हुँदै सोलिसिटर (भिडियो)

नेपाली लिङ्क अप्रिल २०, २०२४


लन्डन । बेलायतमा औंलामा गन्न सकिने नेपाली सोलिसिटरहरुको माझमा रोजन भण्डारी ‘इमर्जिङ’ छन् अहिले । सोलिसिटर क्वालिफाइड भएको ५ वर्ष हाराहारीमा उनले धेरै ग्राहकको मन जितेका छन्, यद्यपि यी विषय मिडियामा पब्लिसिटीको प्राथमिकता ठान्दैनन् उनी ।

२१ वर्षअघि अध्ययनका लागि लन्डन टेकेका रोजनले अहिलेको अवस्थासम्म आउन धेरै संघर्ष गरे, हण्डर खाए । तर, कत्ति विचलित नभइ निरन्तर लागिरहंदा उनी अहिले कम्फोर्ट जोनमा छन् । कुनै बेला डेलिभरी भ्यानको स्टेरिङमा दिनरात भेटिने उनी अहिले क्लाइन्ट्सका केस केलाउन व्यस्त छन्, कोर्टतिर फाइल बोकेर दौडिन्छन् ।

बुवा तेजबहादुर भण्डारी र आमा नानीमैयांका जेठो छोरा रोजन निलकण्ठ नगरपालिका-३ शीतलबजार धादिङ बेसीका स्थायी वासिन्दा हुन् । घरको जेठो छोरा भएकाले धेरै जिम्मेवारी उनकै कांधमा छ अहिलेपनि । दुईमध्ये कान्छो भाई अष्ट्रेलिया र माइलो भाई पोर्चुगलमा छन् । ति भाइलाई ‘सेटल्ड’ गराउन रोजनले नै खर्च धानेका थिए ।

रोजनको पारिवारिक पृष्ठभूमि हुने खाने नै थियो । बुवाले विजनेश गर्थे, रोजनले वाल्यकालमा दुःख अभाव झेल्नु परेन । उनले भानुभक्त मेमोरियल बोर्डिङ स्कुलमा ३ देखि ७ कक्षासम्म पढे । कक्षा ७ देखि प्लस टु (१२) सम्म लिटल एन्जल्स् पढे होस्टलमा बसेर । स्कुल पढ्दा भलिवलको क्याप्टेन हुन्थे उनी ।

परिवारको इच्छा छोरालाई डाक्टर, इन्जिनियर बनाउने थियो । उनीहरुकै सपना पुरा गर्न रोजनले प्लस टुमा साइन्स पढे, तर फिजिक्समा ब्याक लाग्यो । अर्को वर्ष उत्तिर्ण भए तर बाबु आमाको सपना पुरा हुने पढाइ देखिएन, बरु उनलाई विदेश जाने रहर जाग्यो ।

सन् २००१, २७ जनवरीमा गोपाल पौडेलले सञ्चालन गरेको बोस्टन कलेजमा कम्प्युटर बिजनेश इन्फर्मेसन सिस्टम पढ्न आए उनी । त्यतिबेलाका निजी कलेज र पढाइ नाम मात्रैका हुन्थे, बेलायत टेक्नु नै ठूलो उपलब्धि मानिन्थ्यो ।

रोजनले बेलायत आउने बित्तिकै गाडी सिकेका थिए । नेपालमा बुबाको व्यवसाय छंदा ट्रक चलाउने भएकाले उनले २००१ तिर पहिलोपटकमै ड्राइभिङ पास गरे ।

गाडीको लाइसेन्स आएपछि पार्सल फोर्समा भ्यान चलाउन थाले २००१ देखि, यो काम करिब ५ वर्ष २००५ सम्म थियो ।

सन् २००४ मा पहिलोपटक नेपाल जांदा परिवारकै आग्रहमा रोजनले संगीता भण्डारीसंग बिहे गरे, १८ वर्ष (अण्डर एज) मै । लन्डन फर्केर श्रीमतिलाई डिपेन्डेन्टमा झिकाउन अप्लाइ गरे, तीन चोटी भिजा रिफ्यूज भयो । होम अफिसले सर्ट कोर्सेस् भयो भनेर रिफ्यूजलको कारण दिएको थियो ।

त्यसपछि साथी दिपेश थापाको सल्लाहमा थेम्स् भ्याली (हाल युनिभर्सिटी अफ वेष्ट लन्डन) मा हस्पिटालिटीमा ४ वर्षे कोर्समा अण्डर ग्रयाजुएट्स भर्ना भए २००६ फेब्रुअरीमा । यूनी भर्ना भएपछि सन् २००६ जुनमा श्रीमति आइन् लन्डन ।

युनिभर्सिटीमा इन्रोल गरेपछि भ्यान चलाउने काम छाडेर पढ्न थाले रोजन । हस्पिटालिटी पढाइसंग मिल्दोजुल्दो पार्टटाइम नाइट पोर्टर काम थियो चारतारे जुरिस डोयल होटलमा ।

रोजनले सन् २००८ मा ठूलो फाइनान्सियल क्राइसिस खेपे । इमिग्रेसन सम्बन्धि काममा आफन्त, साथीभाईलाई सहयोग गर्न खोज्दा ‘फ्रड’ मान्छेको विश्वास गर्दा उनको झण्डै डेढ लाख पाउण्ड डुब्यो । ‘यसै कारण मेरो पढाइ पनि ब्रेक लाग्यो, डिजर्टेसन गर्न सकिन’, हेज टाउनस्थित आफ्नो अफिसमा उनी विगत फर्किए, ‘साथीभाई पनि टाढिए । सुसाइडल थट्स नै आयो ।’

तर हरेस खाएनन् उनी । ‘पछि मलाई दुःख सामना गर्न सक्ने सामथ्र्य आयो । भगवानले नै ठूलो जिम्मेवारी दिएजस्तो लाग्यो’, उनले सुनाए ।

ऋणै ऋण, पैसा डुबेको थियो । कमाइ कम भएपछि हस्पिटालिटीको पार्टटाइम कामबाट गुजारा चल्दैन भन्ने भयो । उनले डिएचएलको सब कन्ट्रयाक्ट लिएर काम थाले २००८ देखि । सेल्फ इम्प्लोयड, आवर रिस्ट्रीक्सन थिएन । सकेसम्म पार्सल बोकेर लान्थे । कमाइ राम्रो हुंदै थियो ।

सन् २००९ मा थेम्स् भ्यालीको पढाइ सकियो । त्यतिबेला साथीहरुले डिपिडी राम्रो छ भन्ने सल्लाह दिएर सन् २०१० देखि डिपिडीमा फ्रेन्चाइजी लिएर आफैं कन्ट्रयाक्टर बनेको उनले बताए । सन् २०२० सम्म थियो यो काम ।

ऋण र पैसा अभाव भएपछि २०१२ तिर फुटबल प्लेयरको एजेन्ट भन्ने भूत सवार पनि भयो उनमा । फिफाको परीक्षा पनि दिए, तर दुई पटक फेल भएपछि एफएका एक पदाधिकारीले अर्को परीक्षा दिन दुई वर्ष कुर्नु पर्ने सुनायो । उसले भनेको थियो, ‘तिमी सोलिसिटर भएको भए एक्जेम्पसन भएर कुर्नु पर्थेन ।’

यही घट्नाले सोलिसिटरको महत्व बुझे उनले । त्यसपछि साउथ बैंक युनिभर्सिटीमा पोष्ट ग्रयाजुएट डिप्लोमा इन ल भर्ना भए । तीन हजार ७५० पाउण्ड फिमात्र भएको सस्तो युनिभर्सिटीमा गएका थिए उनी । ७० प्रतिशत अंक ल्याएर एक वर्षको कोर्स उत्तिर्ण गरे ।

२०१५ जुनमा वेष्ट लन्डन युनिभर्सिटीमा लिगल प्राक्टिस कोर्स पढे ६ हजार पाउण्ड फि तिरेर । रोजनले यसमा पनि उत्कृष्ट अंक ६२.६ प्रतिशत (कमेन्डेसन) ल्याए ।

उनले १० मार्च २०१६ मा साउथ बैंक युनिभर्सिटीमा पार्टटाइम पढेर मास्टर्स गरे । स्वयंसेवक काम, पार्सल डेलिभरी, मास्टर्स थेसिस बडो संघर्षपूर्ण थियो जीवन । त्यहींबाट एलएलएम गरेका थिए । उनको थेसिस टपिक- ‘फ्रि मोमेन्ट अफ वर्कर’ भन्ने थियो ।

‘ज्यादै दुःख पाएं । सायद कम्फोर्ट जोनभन्दा बाहिर जान वाध्य नभएको भए अहिले यहांसम्म आउन सक्थिन होला’, उनी भन्छन्- ‘बेलायतमा प्रगति असम्भव छैन् । केवल इच्छाशक्ति, लगाव र इमान्दारी आवश्यक छ ।’

कतिपय साथीभाईहरु ल पढे पनि तिमी भ्यान ड्राइभर नै हुने हो भनेर मजाक गर्थे ।

काम खोज्दै जांदा ०१५ जुलाईदेखि सान एण्ड को सोलिसिटर साउथ हयारोमा आवद्ध हुन पाए । भोलेन्टियरबाट काम शुरु गरेर ८ महिनाजति स्वयंसेवा र ८ महिना पे गरेको थियो फर्मले ।

त्यसपछि अल्बस ल सोलिसिटर्स (पछि केन्टन सोलिसिटर) मा ट्रेनी कन्ट्रयाक्ट शुरु भयो इर्साद मलिकको सुपरभिजनमा । डेढ वर्षपछि सन् २०१९, २ सेप्टेम्बरमा क्वालिफाइड सोलिसिटर बने रोजन भण्डारी । दुई कोठाको बोस्टन कलेजमा इन्ट्री, होटलमा नाइट पोर्टरदेखि भ्यान ड्राइभर हुंदै सोलिसिटर बनेपछि उनको जीवनले अर्कै मोड लिएको छ ।

उनी डिसेम्बर २०२० बाट गोर्डन एण्ड थम्पसन सोलिसिटर्समा कन्सल्टेन्ट सोलिसिटरका रुपमा काम गरिरहेका छन् । अब आफैंले थम्पसन सोलिसिटर लि. खोल्ने सुरसारमा छन् उनी ।

इमिग्रेसन, कमर्सियल लिज, लिटिगेसन, फेमिली, गोर्खा अपिल केस, असाइलम अपिल, वर्क परमिट उनको कार्यक्षेत्र छन् ।

स्पाउस केसमा ९९.९९ प्रतिशत सफल भएको उनको दावी छ । गोर्खा केसमा ‘रिभ्यू’ मार्फत धेरै जितेको उनले सुनाए ।

उनका ९५ प्रतिशत नेपाली क्लाइन्टस् छन् । आफ्नो फि रिजनेबल र कन्सल्टेन्ट चार्ज नलिने रोजन बताउंछन् । ‘फोनमै पनि सल्लाह दिएको छु । कसैलाई सांच्चिकै समस्या छ, फि तिर्न सक्ने अवस्था छैन् भने सहयोग गर्न पनि सकिन्छ’, उनले भने ।

पेशामा चुनौति नभएको होइन । कामका सिलसिलामा पहिला भगवान भनेको मान्छेले नै केस बिग्रयो भने सोलिसिटरले बिगारिदियो भनेर लात हान्न तयार हुने जमात पनि भोगेका छन् उनले । आफ्नो काममा प्रतिष्पर्धा खासै नभएको उनको भनाइ छ । ‘यो महासागर हो, पानी कहिल्यै घट्दैन’, उनी भन्छन्, ‘हामी विजी नै छौं । राम्रो काम गरे मानिसहरु खोजी खोजी आउने रहेछन् ।’

अब छिट्टै ल फर्म खोलेर बेलायतमा बढ्दो नेपाली समुदायलाई सेवा दिने उनको भावी योजना छ ।

श्रीमति, दुई छोरा र एक छोरीका साथ लन्डन हेजमा बस्ने रोजन नेपाली संघसंस्थातिर पनि आवद्ध छन् । उनी ब्रिटेन नेपाल लयर्स एसोसिएसनका सहकोषाध्यक्ष हुन् । कोशेली, धादिङ नुवाकोट समाज यूके जस्ता संस्थातिर पनि उनको आवद्धता थियो ।

हेरौं भण्डारीसँग नेपाली लिंकको भिडियो संवाद: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू