शुक्रबार, चैत १६, २०८०
10:27 | १६:१२

‘लकडाउन’ मा ‘लाइभ शो’ मा व्यस्त सपन

नेपाली लिङ्क अप्रिल १७, २०२०

सपनकुमार राई

लण्डन । कोरोना महामारीका कारण जारी भएको बेलायतको ‘लकडाउन’ यतिबेला चौंथो सातामा चल्दैछ । ‘लकडाउन’का कारण घरभित्रै थुनिएका धेरैको जीवन फुर्सदिलो बनिरहँदा बेलायतका एक गायक/कलाकार सपनकुमार राईको भने व्यस्तता र ‘डिमाण्ड’ झन् बढेको छ ।

हरेक साता आइतबार ‘फेसबुक लाइभ’ मा आउने गरेका छन् सपन । बेलायत मात्र नभएर संसारभर रहेका आफ्ना शुभेच्छुक र साथीभाईका रोजाइमा उनले दर्जनौं हिन्दी, नेपाली गीतहरु सुनाउने गर्छन् ।

‘एक दिन घरमा बस्दाबस्दै बोर भएर पहिलोपटक फेसबुक लाइभमा गीत सुनाएको थिएँ । दर्शक, श्रोताले निकै मन पराइदिनुभयो । धेरैले आफ्नो रोजाईका गीतहरु सुनाउन अनुरोध गरेर पठाउनुभयो’, फेसबुक लाइभ शोको पृष्ठभुमिबारे सपनले नेपाली लिंकसंग भने, ‘अरुले मन पराउँदोरहेछ भन्ने लागेपछि हरेक साता नियमित लाइभ शो गरेर गीतहरु सुनाउन उत्प्रेरित भएको हुँ ।’

सपनको लाइभ शोमा प्राविधिक सहयोगी छन् उनकै जीवनसंगिनी मञ्जु गुरुङ राई । सपन गाउनमा व्यस्त रहँदा दर्शकका अनुरोधहरु लिने, सन्देशरु पढ्नेदखि ‘क्यामेरापर्सन’को भूमिकासम्म उनले निभाउने गरेकी छन् ।

मञ्जु गुरुङ राई

२ घण्टाको फेसबुक लाइभमा सपनले झण्डै तीस वटा गीत सुनाउन भ्याउँछन् । उनी भन्छन्, ‘धेरै साथीहरु जोडिनुहुन्छ, आफ्नो रोजाईको गीत अनुरोध गर्नुहुन्छ । सके त पूरै गीत गाउँछु, सबैको रोजाई लिंदालिंदै समयले भ्याएन भने आधा भएपनि सुनाउँछु ।’

सपनको लाइभ शोमा ‘रोमान्टिक’ , ‘सेन्टिमेन्टल’, गजलदेखि देशभक्तिपूर्ण गीतसम्मका लागि अनुरोधहरु आउने गरेका छन् । ‘लाइभ शोको चुनौती नै यहिं हुँदोरहेछ, तत्काल नै ‘मुड चेञ्ज’ गर्नुपर्ने । ‘रोमान्टिक’ मुडमा गाइरहेका बेला एक्कासी ‘सेन्टिमेन्टल’ गीतको अनुरोध आउँछ, सपनले सुनाए, ‘दर्शकको मन राख्नैपर्यो । जति सक्छु, कोशिस गर्दै आएको छु ।’

सपनको फेसबुक लाइभ हेरेर उनका केहि ‘इण्डियन’ साथीहरुले उनलाई आफ्ना ‘प्राइभेट’ जमघटमा गाउन समेत निम्त्याएका छन् । ‘जुम एप’को प्रयोग गरेर सपनले अहिलेसम्म दुई/तीन वटा त्यस्ता अवसरमा व्यवसायिक रुपमा पनि गीतहरु प्रस्तुत गरेका छन् ।

तीन दशकभन्दा लामो समयदेखि बेलायत बस्दै आएका सपन आफूलाई एक ‘इन्टरटेनर’ भन्न रुचाउँछन् । उनी निर्देशक रहेको ‘सपन इन्टरटेनमेन्ट’ले नेपाली कलाकारका विभिन्न शो, नेपाली फिल्म प्रदर्शनीदेखि वर्षेनी ‘यूके डान्स अफ प्रतियोगिता’ पनि आयोजना गर्दै आएको छ ।

सपनले दुई दशकभन्दा लामो समय बेलायतस्थित विभिन्न इण्डियन क्लबहरुमा समेत नियमित सांगीतिक शोहरु गर्दै आएका थिए । उनका आधा दर्जन बढि नेपाली गीतहरु ‘रेकर्ड’ भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू