सोमबार, ११ मे, २०२६
07:29 | १२:१४

विदेश त आफैँसँग लड्न सिकाउने ठाउँ रहेछ

नेपाली लिङ्क मे ११, २०२६

देश टाढा हुँदा झन् नजिकिन्छ
मान्छे साँच्चै अचम्मको प्राणी रहेछ।
आफ्नो घरको आँगनमा हुँदा कहिल्यै महसुस नगरेको कुराहरू, परदेशको एउटा चिसो रातले एकैचोटि सम्झाइदिन्छ।
त्यो बिहानको गाउँघरको हावा…
आमाले भान्साबाट बोलाएको आवाज…
बुवाको पसिनाले भरिएको निधार…
घरअगाडिको त्यो बाटो…
सबै कुरा अचानक मनभित्र आँधी बनेर आउँछन्।
त्यसपछि थाहा हुन्छ—
मान्छे जहाँ पुगे पनि, उसको आत्मा सधैँ आफ्नै माटोमै बाँधिएको हुँदोरहेछ।
आज हजारौँ नेपालीहरू संसारका विभिन्न देशमा छन्।
कोही मरुभूमिको घाममा आफ्ना सपना सेकिरहेका छन्,
कोही विदेशी शहरका उज्याला सडकहरूमा आफ्ना आँसु लुकाइरहेका छन्,
कोही रातभर काम गरेर बिहान कलेज दौडिरहेका छन्।
बाहिरबाट हेर्दा सबै रमाइला देखिन्छन्।
फोटोमा मुस्कान हुन्छ।
सामाजिक सञ्जालमा चम्किला शहरहरू देखिन्छन्।
तर त्यो मुस्कानभित्र कति पीडा लुकेको हुन्छ, त्यो केवल परदेशी मनले मात्र बुझ्छ।
विदेशमा बस्ने हरेक नेपालीसँग एउटा नबोलिएको कथा हुन्छ।
एउटा चुपचाप सहिएको संघर्ष हुन्छ।
एउटा अधुरो निद्रा हुन्छ।
एउटा रात हुन्छ, जहाँ ऊ एक्लै बसेर चुपचाप रोएको हुन्छ।
कसैले रहरले देश छोडेको होइन।
कसैले आफ्नो आमा बुढी हुँदै गरेको हेर्न नपाएको पीडा सजिलै स्वीकारेको होइन।
कसैले बुवाको काँध कमजोर हुँदै गएको महसुस नगरेको होइन।
तर जीवनले कहिलेकाहीँ यति कठोर मोडमा ल्याइपुर्‍याउँछ कि,
मान्छेले आफ्नो खुसीभन्दा जिम्मेवारी रोज्नुपर्छ।
आफ्नो चाहनाभन्दा परिवारको भविष्य रोज्नुपर्छ।
अनि त्यसपछि ऊ परदेशिन्छ।
आज गाउँका कति घरहरू सुनसान छन्।
घरको आँगनमा पहिलेझैँ हाँसो सुनिँदैन।
दशैँमा पिङ हाल्ने केटाहरू छैनन्।
तिहारमा देउसी खेल्ने आवाज हराइसकेको छ।
कति आमाहरू मोबाइल समाएर बस्छन्, केवल एउटा भिडियो कलको प्रतीक्षामा।
कति बुबाहरू घरबाहिर बाटोतिर हेर्दै सोच्छन्—
“मेरो छोरा कहिले फर्केला?”
त्यो प्रतीक्षा शब्दमा लेख्न सकिँदैन।
त्यो पीडा आँसुले पनि पूरा भन्न सक्दैन।
अनि उता विदेशमा…
जब रातको दुई बज्छ,
काम सकेर थाकेको शरीर लिएर कोठामा फर्किन्छ एउटा नेपाली युवा।
कोठा सानो हुन्छ, तर एक्लोपन धेरै ठूलो।
भित्ताहरू चुप लागिरहेका हुन्छन्।
मोबाइलमा नेपालको समय हेर्छ…
सोच्छ—
“अहिले घरमा सबै सुते होलान् कि?”
त्यही बेला अचानक मन गाउँ पुग्छ।
आमाको हातको दालभात सम्झिन्छ।
बुवाको गालीभित्र लुकेको माया सम्झिन्छ।
सानो भाइबहिनीको हाँसो सम्झिन्छ।
अनि थाहा हुन्छ—
विदेशले पैसा दिन सक्छ,
तर आफ्नोपन दिन सक्दैन।
म पनि सपना बोकेर विदेश आएको ।
मनमा ठूलो उत्साह थियो।
लाग्थ्यो—अब जीवन बदलिन्छ।
तर यहाँ आएपछि थाहा भयो,
विदेश केवल अवसरको ठाउँ होइन रहेछ,
विदेश त आफैँसँग लड्न सिकाउने ठाउँ पनि रहेछ।
यहाँ हरेक दिन संघर्ष हुन्छ।
भाषासँग संघर्ष।
समयसँग संघर्ष।
पैसासँग संघर्ष।
अनि सबैभन्दा ठूलो—आफ्नै मनसँग संघर्ष
कहिलेकाहीँ यति धेरै थकाइ लाग्छ कि,
मानौँ संसारमै कोही आफ्नो छैन।
त्यो बेला एउटा नेपाली गीतले पनि रुवाइदिन्छ।
“नेपाल” भन्ने शब्दले पनि छाती भारी बनाइदिन्छ।
सायद त्यसैले होला,
देश टाढा हुँदा झन् धेरै आफ्नै लाग्छ।
पहिले नेपाल केवल जन्मिएको ठाउँ लाग्थ्यो।
आज नेपाल मुटुभित्र बसेको भावना भएको छ।
पहिले गाउँ सामान्य लाग्थ्यो,
आज त्यही गाउँ संसारकै सबैभन्दा सुन्दर ठाउँ लाग्छ।
किनकि दूरीले केवल मानिसलाई टाढा बनाउँदैन,
दूरीले सम्बन्धको गहिराइ पनि देखाउँछ।
आजको युवापुस्ता किन आफ्नै देशमा हुँदा देशको माया यति गहिरो महसुस गर्न सक्दैन?
किनकि हामीले देशलाई केवल समस्याबाट हे¥यौँ।
हामीले बेरोजगारी देख्यौँ।
राजनीति देख्यौँ।
अभाव देख्यौँ।
तर जब हजारौँ किलोमिटर टाढा पुगिन्छ,
त्यसपछि थाहा हुन्छ—
देश भनेको केवल सुविधा होइन रहेछ।
देश भनेको आफ्नोपन रहेछ।
देश भनेको त्यो ठाउँ रहेछ, जहाँ थाकेको मनले शान्ति पाउँछ।
विदेशले मलाई एउटा ठूलो सत्य सिकायो—
देश केवल नक्सामा कोरिएको सीमाना होइन।
देश भनेको आमाको प्रार्थना हो।
बुवाको पसिना हो।
बाल्यकालको हाँसो हो।
आफ्नो भाषा हो।
आफ्नो पहिचान हो।
म चाहन्छु,
एकदिन यस्तो नेपाल बनोस्—
जहाँ युवाहरू बाध्य भएर विदेशिन नपरोस्।
जहाँ वृद्ध आमाबुबाले छोराछोरीको प्रतीक्षामा आँखा नथाकून्।
जहाँ सपना पूरा गर्न आफ्नै देश पर्याप्त बनोस्।
किनकि अन्त्यमा…
मान्छेले जति नै ठूलो सफलता पाए पनि,
जति नै धेरै पैसा कमाए पनि,
उसको मन अन्ततः आफ्नै घरको ढोका खोज्दोरहेछ।
आफ्नै गाउँको बाटो खोज्दोरहेछ।
आफ्नै माटोको गन्ध खोज्दोरहेछ।
र सायद यही नै जीवनको सबैभन्दा ठूलो सत्य हो—
देश टाढा हुँदा झन् नजिकिन्छ।
– बिनोद आचार्य

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू