बेलायतस्थित प्रवास संगठनहरु चुनावमा कसरी गर्दैछन् आफ्नो दललाई सहयोग ?



लन्डन । नेकपा एमालेको प्रवासस्थित भ्रातृ संगठन प्रवासी नेपाली मञ्च यूकेले आइतबार एक बैठक गर्दै फागुन २१ लाई तय आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने निर्णय गर्यो ।
‘लोकतन्त्रको मेरुदण्ड नै आमनिर्वाचन भएकाले हाम्रो पार्टी पनि जनताबाट अनुमोदित भएर आउन उत्साहित छ’, मञ्चका अध्यक्ष पशुपति पोखरेलले बैठक निर्णय सुनाउंदै भने, ‘निर्वाचनमा पार्टीलाई आर्थिक सहयोग गर्न चन्दा संकलन र सामाजिक सञ्जालमार्फत उम्मेदवारहरुलाई प्रचारप्रसारमा सक्दो सघाउने निर्णय भएको छ ।’
विगतमा समेत चुनावका बेला आर्थिक सहयोग भएको स्मरण गर्दै अध्यक्ष पोखरेलले कम्तीमा २० लाख रुपैयां संकलन गरिने जानकारी दिए । चुनाव नजिकएपछि आफू र अन्य पदाधिकारी नेपाल नै जाने तयारी भएको पनि उनले बताए ।
नेपाली कांग्रेसको प्रवासस्थित भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ कांग्रेस राष्ट्रिय निर्वाचनमा होमिइसकेकाले यहांबाट आर्थिक, भौतिक सहयोग रहने बताउंछन् ।
उनले पार्टी भन्दा पनि आ-आफ्नो नजिकका उम्मेदवार, नेताहरुलाई विगत जस्तै आर्थिक सहयोग समेत गरिने बताए ।
‘विशेष महाधिवेशनपछि पार्टीभित्र आन्तरिक असन्तुष्टिका कारण नेता, कार्यकर्ता विभाजित देखिएपनि राणा शासन, पञ्चायत, राजा फालेर लोकतन्त्रका लागि लडेको लोकतान्त्रिक पार्टी हो कांग्रेस’, गुरुङले भने, ‘यसले नै देशको विकास र अमन चयन कायम गर्छ भन्ने विश्वास हामीलाई छ ।’
नेपालमा अहिले वाह्य शक्तिको चलखेल बढिरहेको दाबी गर्दै गुरुङले कांग्रेस विभाजित अवस्थामा रहेकाले चुनावी नतिजा झण्डै ५० प्रतिशत कम आउने सम्भावना औंल्याए । ‘हामीमा अघिल्लो चुनाव जस्तो उत्साह छैन् । विवादित मानसिकताले नतिजा राम्रो आउंदैन’, उनले भने ।
समयसापेक्ष र जनताको चाहना बमोजिम नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको तर विशेष महाधिवेशनका नाममा अवैधानिक तरिकाले कार्यसमिति चयन गरिएको उनको दाबी थियो । ‘न विधि, न विधान, न प्रक्रिया नयां नेतृत्व हत्याइयो । यसले नेता कार्यकर्तामा चरम असन्तुष्टि देखिन्छ’, उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाज (पानस) बेलायतकी सचिव रोमियन लिम्बु लिङ्देनले पनि चन्दा अभियान थालिएको बताइन् । ‘व्यक्तिगत रुपमा कसैले आफू निकट उम्मेदवारहरुलाई सहयोग गर्ने कुरा बेग्लै छ, पानस बेलायतले एकमुष्ट उठाएर पार्टीलाई पठाउने निर्णय भएको छ’, उनले भनिन् । कम्तीमा २० लाख माथि चन्दा उठाइने उनले बताइन् ।
आमनिर्वाचन नजिकिंदै गर्दा नेपालका राजनीतिक दलहरुले बेलायती डायष्पोराबाट सहयोग अपेक्षा गरे अनुरुप यहांका प्रवास संगठनहरुले चन्दा संकलन तीव्र बनाएका हुन् ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले आइतबार बेलायतमा पहिलो प्रवास कमिटी गठन गरेको छ । व्यवसायी तथा समाजसेवी भगवान श्रेष्ठको संयोजकत्वमा गठित कमिटीमा कोषाध्यक्ष प्रज्वल अधिकारी, सचिव पुष्कल श्रेष्ठ र सदस्यहरुमा विष्णु तामाङ, प्रेम लामा, कल्पित भण्डारी र पवित्रा थापा नियुक्त भएका छन् ।
कमिटीले निर्वाचन केन्द्रित सहयोगका लागि सदस्यहरु परिचालन गर्ने निर्णय गरेको छ ।
घिसिङको उज्यालो नेपाल अभियानमा शुरुवातदेखि नै जोडिएका व्यवसायी एवं चार्टर्ड अकाउन्टेन्ट एल एन पाण्डेले पार्टीलाई सहयोग गर्न ‘गो फण्ड मी’ मार्फत चन्दा संकलन थालिएको बताए ।
‘हामीले स्वेच्छाले धेरथोर सहयोग गर्न आग्रह गरेका छौं । हाम्रो यो अभियान पैसा बटुल्ने भन्दा पनि पार्टीप्रति सबैको स्वामित्व रहोस् भन्ने उद्देश्यले हो’, पाण्डेले भने, ‘गो फण्ड मी आफैंमा पारदर्शी क्राउड फन्डिङ प्लाटफर्म भएकाले आर्थिक हिसाव पारदर्शी हुनेछ ।’
उता, राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास नेपाली सम्पर्क विभाग बेलायतले भने संगठनको नाम, हैसियत तथा संगठनात्मक परिचयको दुरुपयोग गर्दै केही व्यक्तिले चुनावको सन्दर्भ देखाइ व्यक्तिगत बैंक खातामा आर्थिक सहयोग संकलन गरिरहेको पाइएको भन्दै कानूनी कारवाही गर्ने चेतावनी दिएको छ ।
विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै विभागबाट कुनै पनि व्यक्ति, समूह वा इकाईलाई व्यक्तिगत बैंक खातामार्फत आर्थिक सहयोग संकलन गर्ने अधिकार प्रदान नगरिएको प्रष्ट पारेको छ ।
‘हाम्रो संगठनको नाममा चन्दा उठाउने कार्य पार्टीको विधान, आचारसंहिता तथा निर्णय विपरितमात्र नभई संगठनको नाममा ठगी, गलत प्रतिनिधित्व र आर्थिक अनियमितताको श्रेणीमा पर्ने गम्भीर अपराध हो’, विज्ञप्तिमा छ ।
विभागका अध्यक्ष पवन शर्माले चुनावमा पार्टीलाई लजिष्टिक र भौतिक सहयोग गरिने तर आर्थिक सहायता नदिइने बताए । ‘पहिलो, हामीलाई पार्टीले आर्थिक सहयोग मागेको पनि छैन् । अर्को कुरा प्रवास संगठन पार्टीलाई पैसा दिन मात्र गठन भएका हुन् भन्ने परम्परागत ‘माइण्ड सेट’ परिवर्तन गर्ने हाम्रो अठोट छ’, शर्माले भने ।
नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ता पनि चुनावी माहोलमा होमिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


