लन्डनमा गाडीको ठक्करले नेपालीको मृत्यु


लन्डन- लन्डनमा गाडीको ठक्करबाट एकजना ४७ वर्षीय नेपाली पुरुषको दुखद निधन भएको छ ।
दुर्घटना गत आइतबार जुन ७ तारिखको हो । दिउँसो करिब साढे चार बजे लन्डन नर्थहोल्टको टार्गेट राउन्ड अबाउट नजिक ए ४० को स्लिप रोडमा पैदल हिँडिरहेका धनबहादुर गुरुङलाई बिएमडब्लु कारले ठक्कर दिएको थियो।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई केहीबेरमै एम्बुलेन्समा आइपुगेको प्यारामेडिक टोलीले बचाउने कोशिस गरेपनि सफल भएन र घटनास्थलमै मृत घोषित गरेको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्न कारचालक २० वर्षीय युवकलाई तत्काल नै पक्राउ गरिएको छ । उनलाई खतरानाक र लापरवाहीपूर्वक सवारी चलाएको आशंकामा घटनास्थलबाटै पक्राउ गरिएको जनाइएको छ ।
घटनाका बेला ती कार चालकले इन्सुरेन्स बिनै ड्राइभिङ गरेको समेत प्रहरीले आशंका गरेको छ।
प्रहरीले ठक्कर दिने कार चालकलाई थुनामै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनाका प्रत्यक्षदर्शीहरुसंग सहयोगको अपील गर्दै प्रहरीले घटनाबारे कुनै जानकारी वा आफ्नो गाडीको ड्यास क्याम रेकर्डिङ भएमा उपलब्ध गराउन अपील गरेको छ ।
नेपालीलिंकले प्राप्त गरेको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउने गुरुङ थरका नेपाली पुरुष घटनास्थलनजिकै नर्थोल्टमा परिवारसहित बस्दै आएका थिए। उनको परिवारमा श्रीमती र दुई छोराछोरी छन् ।
मृतक गुरुङले केही समयदेखि लन्डनमा बस चालकको रुपमा काम गर्दै आएका थिए ।
सडक दुर्घटनामा अनाहकमा ज्यान गुमाएका गुरुङप्रति हार्दिक श्रद्धाञ्जली र यो घटनाले अकल्पनीय शोकमा डुबेको उनको परिवारप्रति गहिरो समवेदना।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


