बेलायती रक्षामन्त्रीले राजीनामा दिएपछि भूतपूर्व गोर्खाहरुको मुद्धा अन्यौलमा


जोन हिली
लन्डन । बेलायती रक्षामन्त्री जोन हिलीले बिहीबार राजीनामा दिएका छन् । प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षामन्त्री हिलीले राजीनामा दिएका हुन् ।
उनले स्टार्मरलाई दिएको राजीनामा पत्रमा लेखेका छन्, ‘अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोत जुटाउने प्रतिबद्ध गर्न तपाईं असक्षम हुनुभएको छ ।’
सरकारले लामो समयदेखि प्रतिक्षा गरिएको अर्को दशकका लागि कोष निर्धारण गर्ने रक्षा लगानी योजना अघि बढाउन ढिलाइ गरेको छ । विभिन्न माध्यमबाट आएका सूचना अनुसार रक्षा कोष यसका लागि माग गरिएको भन्दा धेरै कम हुने बताइएको छ ।
अब के होला गोर्खा वार्ता ?
बेलायती रक्षामन्त्री हिलीको राजीनामासंगै भूतपूर्व ब्रिटिश गोर्खाहरुको मुद्धा अब कसरी अगाढि बढ्ला भन्ने प्रश्न र अन्यौल उब्जिएको छ ।
भर्चुअल रुपमै भएपनि गोर्खा मुद्धामा पहिलोपटक गत सोमबार भएको मन्त्रीस्तरीय वार्तामा सकारात्मक छलफल भएको थियो ।
लन्डनस्थित नेपाली दूतावासमा झण्डै अढाई घण्टा चलेको वार्तामा बेलायती रक्षामन्त्री जोन हिली र नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल ‘भर्चुअल’ रुपमा जोडिएका थिए ।
जुलाईभित्रै अर्को वार्ता बस्ने र सो वार्तामा रक्षामन्त्री हिली प्रत्यक्ष सहभागी हुने बताइएको थियो ।
छलफलमा नेपालका परराष्ट्र मन्त्री खनालले गोर्खाहरूका गुनासा सम्बोधन गर्दै दुवै पक्षलाई स्वीकार्य हुने समाधान यथाशीघ्र खोजिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्व दर्शाउँदै न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी मुद्दाहरू सम्बोधन गर्न बेलायती सरकारलाई आग्रह गरेका थिए ।
नयां मन्त्रीलाई फेरि गोर्खा मुद्दाबारे शुरु देखि नै ब्रिफिङ गर्नुपर्ने र वार्ता केही समय लम्बिने चिन्ता एकथरिको छ भने केहीले मन्त्री फेरिंदैमा गोर्खा वार्तालाई असर नगर्ने बताएका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले रक्षामन्त्री हिली गोर्खा मागप्रति नकारात्मक रहेकाले उनको राजीनामाबाट आफूहरु कत्ति चिन्तित नभएको बताए ।
डान जार्विस नयां रक्षामन्त्री

रक्षामन्त्री हिली र आर्मर्ड फोर्सेस मन्त्री अल कार्न्सले केही घण्टाभित्रै राजीनामा दिएपछि बेलायतमा नयाँ रक्षा मन्त्री नियुक्त भएका छन् । पूर्व सुरक्षा मन्त्री डान जार्विसले सो जिम्मेवारी पाएका हुन् ।
जार्विस एक पूर्व सेना हुन् जसले यसअघि सुरक्षा मन्त्री र क्याबिनेट अफिस मन्त्रीको रूपमा काम गरिसकेका छन्।
सन् २०११ मा सांसदको रूपमा निर्वाचित उनी २०१८ देखि २०२२ सम्म साउथ योर्कशायरको मेयर बनेका थिए । त्यसअघि उनले वर्षौंसम्म ब्याकबेन्चमा बिताए।
सन् २०२३ मा उनी छायाँ सुरक्षा मन्त्री नियुक्त भए र लेबरले २०२४ को आम चुनाव जितेपछि सरकारमा भूमिका निभाए । सैन्य पृष्ठभूमि र अनुभवले उनलाई रक्षामन्त्रीको जिम्मेवारी दिलाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


