आइतबार, १४ जुन, २०२६
00:01 | ०४:४६

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको पहिलो वार्षिक अधिवेशन शुरु

नेपाली लिङ्क जुन १३, २०२६

अमेरिका– जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक अधिवेशन (एजीएम) शनिबार सुरु भएको छ । दुई दिन चल्ने अधिवेशनमा विश्वभर रहेका नेपाली समुदायका अगुवा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी, विभिन्न च्याप्टरका पदाधिकारी तथा शुभेच्छुकहरूको सहभागिता छ ।

शनिबार भर्चुअल माध्यमबाट आयोजित उद्घाटन समारोहमा फाउन्डेशनका प्रवक्ता लालप्रसाद काफ्लेले सबै सहभागीहरूलाई स्वागत गरे ।

एनआरएनएका केन्द्रीय अध्यक्ष डा. हेमराज शर्माले नेपाल र डायस्पोरासम्बन्धी नीतिगत विषय, लगानी तथा विकास परियोजनामा सहकार्यको पर्याप्त सम्भावना रहेको बताए। उनले एनआरएनलाई केवल विदेशमा बस्ने नेपालीहरूको संस्था नभई नेपालको हितमा काम गर्ने विभिन्न संस्था र सरोकारवालाबीचको ‘कनेक्टिङ प्लेटफर्म’ का रूपमा बुझ्नुपर्ने धारणा राखे। नेपाल सरकार, अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) तथा संयुक्त राष्ट्रसंघअन्तर्गतका आर्थिक मञ्चहरूसँग साझेदारी विस्तार गर्न पहल भइरहेको जानकारी पनि उनले दिए।

एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले छोटो अवधिमै फाउन्डेशनले विश्वव्यापी नेटवर्क विस्तार गर्न सफल भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता संरक्षण, संकटका बेला सहयोग र नेपालका समसामयिक समस्याको समाधान खोज्न संस्था सक्रिय रहनुपर्ने बताए। नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्न उनले आग्रह गरे।

गैर आवासीय नेपाली संघका उपाध्यक्ष सुनील साहले फाउन्डेशनले विश्व भरिका साथीहरुलाई जोड्ने काम गरेको भन्दै धन्यवाद दिए । उनले सबैले प्रयास गरेमा नेपालको विकासमा ठोस् योगदान पुरयाउन सकिने भन्दै संस्थालाई आफ्नो सधैं साथ सहयोग रहने जनाए ।

त्यस्तै एनआरएनए उपाध्यक्ष बुद्धि सुवेदीले फाउन्डेशनले नयाँ खालको अनुभूति दिन सफल भएको जनाए । उनले फाउन्डेशनले राम्रो उदाहरण प्रस्तुत गरेको बताउंदै अब आउने नयाँ नेतृत्वले संस्थालाई नयाँ उचाइमा पुराउन सकोस् भन्ने शुभकामना दिए।

एनआरएनएका क्षेत्रीय संयोजक दिलु पराजुलीले विदेशमा आर्जित ज्ञान, सीप र अनुभवलाई नेपालको समृद्धिमा प्रयोग गर्नुपर्नेमा जोड दिए । एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष गोपेन्द्र भट्टराईले समुदायका लागि उपयोगी हुन नसक्ने संस्था दीर्घकालीन रूपमा टिक्न नसक्ने धारणा व्यक्त गर्दै संस्थाले समुदायमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए।

फाउन्डेशनका संस्थापक अध्यक्ष यादव पण्डितले संस्थाले भूकम्पबारे सचेतना, शिक्षा, महिला अधिकार, ज्ञान सञ्जाल, युवा सशक्तीकरण लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए। उनले फाउन्डेशन कुनै राजनीतिक दलसँग आबद्ध नरहेको स्पष्ट पार्दै आम नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले काम गरिरहेको बताए। उनले मिनी पुस्तकालय स्थापना, विभिन्न राजनीतिक दलसँग उत्तरदायित्व र सुशासनका विषयमा संवाद तथा विश्वभरका नेपालीलाई एउटै सञ्जालमा जोड्ने अभियान सञ्चालन भइरहेको उनले बताए ।

उनले नेपालमा स्मार्ट सिटी र स्मार्ट गाउँपालिका निर्माण गर्न अन्तर राष्ट्रिय अनुभव उपयोगी हुन सक्ने जनाए । “हामी सबै विचार, धर्म र भावनालाई समेटेर अगाडि बढ्न चाहन्छौं। विदेशमा मात्र होइन, नेपालका सबै जिल्लामा पनि नेटवर्क विस्तार गर्ने योजना छ,” डा पण्डितले भने।


जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्री अर्यालले नेपालमा स्वतन्त्र संस्थाका रूपमा दर्ता भएर पनि केन्द्रसँग समन्वय गर्दै काम गरिरहेको जानकारी दिए। उनले विश्वास, सहकार्य र साझा दृष्टिकोणका आधारमा समाज तथा राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने बताए।

अधिवेशनमा बोल्दै एनआरएनएका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले नेपाल–अष्ट्रेलिया डेमोक्रेटिक फोरम लगायत विभिन्न संस्थासँग सहकार्य गर्न चाहेको बताउँदै एनआरएनए ग्लोबलले आयोजना गर्न लागेको सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिए।

फाउन्डेशनका कोषाध्यक्ष गोविन्द श्रेष्ठले संस्थाको भावी संरचनाअन्तर्गत ‘गभर्निङ काउन्सिल’ को अवधारणा प्रस्तुत गरेका थिए। उनले सदस्यता विस्तार अभियान जारी रहेको जानकारी दिँदै एक सय आजीवन सदस्य बनाउने लक्ष्यका साथ संस्था आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रयासरत रहेको बताए। नेपालमा विगत तीन वर्षदेखि कार्यालय सञ्चालन भइरहेको र नेपाल भ्रमणमा जाने सदस्यहरूका लागि कार्यालय उपलब्ध रहेको जानकारी पनि उनले दिए।

अधिवेशनमा जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन बेलायत अध्यक्ष डा सम्पूर्णानन्द ढुंगानाले नेपालमा लोकतान्त्रिक संस्कृति र संस्कारको विकास गर्न फाउन्डेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए। उनले केन्द्र र शाखाहरुको सम्बन्धलाई पुनर्परिभाषित गर्नु पर्ने जनाउंदै संस्थालाई लोकतान्त्रिक ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिए।

अधिवेशनमा जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन अष्ट्रेलियाका अध्यक्ष डा डिल्ली बन्जाडे, महिला विभाग प्रमुख बिनिता अधिकारी, विश्व सञ्जालका अध्यक्ष विष्णु सुवेदी, डा. रुद्र अर्याल, अर्जुन सिग्देल, डा केशव भट्टराई, युवा विभागका महासचिव नवराज न्यौपाने, नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष बासुदेव भट्ट लगायतले शुभकामना दिएका थिए। वक्ताहरूले लोकतान्त्रिक मूल्य, प्रविधिको उपयोग, समुदाय सेवा, नेपाल–डायस्पोरा सहकार्य तथा संस्थाको विश्वव्यापी विस्तारमा जोड दिएका थिए ।

कार्यक्रम सञ्चालन संस्थाका महासचिव अग्नि चौलागाईंले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू