आइतबार, १४ जुन, २०२६
11:05 | १५:५०

बेलायतको स्वास्थ्य सेवा संकटमा, बेड नपाएर बिरामी कोरिडोरमा

नेपाली लिङ्क जुन १४, २०२६

लन्डन । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ( एनएचएस) गम्भीर संकटमा परेको तथ्य सार्वजनिक भएको छ । एक रिपोर्टअनुसार यस वर्षको मे महिनामा इङ्ल्यान्डका अस्पतालहरूमा प्रतिदिन औसत ३ हजार बिरामीले अस्पतालमा बेड नपाएर कोरिडोर केयरका लागि बाध्य भए । तीमध्ये २ हजार २ सय ४१ जना इमर्जेन्सी विभागमा र ६ सय ९९ जना वार्डभित्रै बेडविहीन अवस्थामा थिए ।

कुनै पनि बिरामीले ४५ मिनेटभन्दा बढी समय उचित र सुरक्षित ठाउँ नपाई प्रतीक्षा गर्नुपर्ने अवस्थालाई करिडोर केयर भनिन्छ । यस्तो ठाउँमा न पर्याप्त चिकित्सा उपकरण हुन्छ, न त गोपनीयता नै । त्यस्तो स्थानमा राम्रो प्रकाशको अभाव हुनुका साथै शौचालय सुविधा समेत हुँदैन । विशेषज्ञहरू भन्छन्– ‘यो बिरामीको सुरक्षा र मर्यादा दुवैको उल्लंघन हो ।’

बीबीसीमा प्रकाशित तथ्याङ्कअनुसार इङ्ल्यान्डभर सयौं अस्पताल ट्रस्ट छन् । तर इमर्जेन्सी विभागमा भएका सम्पूर्ण कोरिडोर केयर केसहरूमध्ये आधाभन्दा बढी केवल २० वटा ट्रस्टमा मात्र केन्द्रित छन् । त्यस्तै वार्डभित्रका केसहरूको दुई तिहाइ पनि अर्का २० ट्रस्टमा छन् ।

यसको अर्थ, यो समस्या सबै अस्पतालमा समान रूपमा छैन । केही अस्पतालहरू अरूभन्दा धेरै बढी दबाबमा छन्, र तिनैले समग्र एनएचएसको तस्बिर बिगारिरहेका छन् । सरकारले यही कारण ती विशेष ट्रस्टहरूमा थप सहयोग र निगरानी केन्द्रित गर्ने बताएको छ ।

यसैबीच, एनएचएस अन्तर्गत हुने नियोजित उपचारका लागि कुर्ने बिरामीहरूको संख्या फेरि बढ्न थालेको छ । एनएचएस इंग्ल्याण्डको पछिल्लो तथ्यांकअनुसार, उपचारको पालो कुरिरहेका बिरामीको संख्या अझै करिब ६१ लाख हाराहारी छ । जसले बेलायतको स्वास्थ्य प्रणालीमाथि निकै दबाब रहेको संकेत गर्छ ।

स्वास्थ्यमन्त्री जेम्स मरेले यो अवस्थालाई ‘अस्वीकार्य र अपमानजनक’ बताउँदै सरकारले सन् २०२९ सम्म कोरिडोर केयर पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । तर विशेषज्ञहरू भने यो लक्ष्य हासिल गर्न अझै धेरै काम गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू