बेलायतमा विद्यार्थीलाई ‘अवसर र चुनौति’ बारे अन्तरक्रिया
अण्डरग्रयाजुएट पढ्न नआउन सुझाव



लन्डन । गत वर्ष झण्डै २१ हजार नेपाली विद्यार्थी बेलायत आए । बेलायतको गृह मन्त्रालयको तथ्यांक अनुसार, सेप्टेम्बर २०२५ अन्त्यसम्म एक वर्षमा बेलायत आउने नेपाली विद्यार्थी संख्या २० हजार ५ सय ७२ छ ।
नेपाली विद्यार्थीको यो आगमन अघिल्लो वर्षभन्दा ८९ प्रतिशत बढी हो भने यूकेको अध्ययन भिजा लिने नेपाल ५ औं राष्ट्रमा परेको छ ।
आगमन उल्लेख्य बढिरहंदा यहां विद्यार्थीहरुले धेरै सास्ती समेत खेपेका छन् । विशेष गरि ऋण सरसापट गरेर ब्याचलर्स पढ्न आएका विद्यार्थी बेलायतको कमाइमा निर्भर हुंदा बढी दुःख भोग्न वाध्य भएका हुन् । के बेलायत अब उत्कृष्ट शैक्षिक गन्तव्य रहेन ? यहां आउने सबै विद्यार्थी पीडितमात्र छन् वा उनीहरुको लोभलाग्दो प्रगति पनि छ ? यही हटकेक विषयमा सप्ताहन्त एक अन्तरक्रिया भयो बेलायतको प्रेस्टन शहरमा । प्रेस्टन त्यो शहर हो जहां सयौं नेपाली विद्यार्थी अध्ययनरत छन् ।
शैक्षिक परामर्शदाता कम्पनी बिज एजुकेसनले शनिबार प्रेस्टन नेपाली समाज, दाह्री ग्याङ यूके, नेपालीलिंकलगायतको सहकार्यमा प्रेस्टनस्थित लि क्लवमा आयोजना गरेको ‘बेलायतमा अवसर र चुनौतिहरु’ विषयक अन्तरक्रियाका सहभागीहरुले बेलायत अवसरको खानी रहेको तर उचित समयमा सही निर्णय गर्न नसके दुःख झेल्नुपर्ने औंल्याए । अन्तरक्रियामा विद्यार्थीसहित चिकित्सक, नर्स, इन्जिनियर लगायत पेशामा स्थापित नेपाली सहभागी थिए ।
नेपालका कन्सल्टेन्सीहरुले गलत सल्लाह, जानकारी दिएर विद्यार्थीले यहां दुःख पाएको आरोप लागिरहंदा आयोजक बिज एजुकेसन कन्सल्टेन्सीका निर्देशक हरि कार्कीले त्यसलाई स्वीकार गरे ।
‘वर्षको १७ हजार पाउण्ड फि तिरेर यहां विद्यार्थी कसरी सर्भाइभ हुन सक्छ ? कन्सल्टेन्सीका साथीहरुले गलत सूचना दिएर विद्यार्थी, अभिभावकको जीवन तहसनहस पारिरहेका छन्’, उनले भने, ‘आफ्नो आर्थिक अवस्था राम्रो नभए अण्डरग्रयाजुएट पढ्न आउन सम्भव छैन् भन्नेकुरा विद्यार्थी अभिभावकलाई स्पष्ट भन्नु पर्छ । हामीले सिस्टमलाई यतिसम्म करप्ट गरयौं कि विद्यार्थीहरु अचेल नक्कली सर्टिफिकेट लिएर आउन थालेका छन् ।’
कार्कीले विद्यार्थी बेलायत आउनै हुन्न भन्ने मनसाय आफ्नो नरहेको स्पष्ट पार्दै महंगो फि तिरेर तीन वर्षे ब्याचलर्स होइन्, मास्टर्समा आउन सझाव दिए । पढाइप्रति संवेदशनशील र क्षमता भएका विद्यार्थीलाई अवसर भने पर्याप्त रहेको उनको भनाइ थियो । ‘तपाईंसंग आर्थिक हैसियत र शैक्षिक योग्यता पूर्ण छैन् भने बेलायत तपाईंको सपनाको देश होइन’, उनले भने ।

हाल अक्सफोर्ड विश्वविद्यालयमा आइटी विभागमा कार्यरत मदन भण्डारीले आप्रवासी भएकाले चुनौति भएपनि अवसर धेरै रहेको बताए ।
‘म युक्लानबाटै ग्रयाजुएट भएर अक्सफोर्ड गएं । तर, धेरै विद्यार्थीमा आत्मविश्वासको कमी पनि छ’, उनले भने, ‘पढाइलाई सदुपयोग गरि आफ्नो ग्रोथ, राम्रो अवसर हेर्नुपर्छ प्रगति नहुने भन्ने छैन् ।’
युसिबीमा मास्टर्स पढिरहेकी निकी राईले आफू आर्थिक रुपमा सवल नभए ब्याचलर्समा नआउन सुझाइन् । असाइनमेन्ट प्रेसर, जागिर अभाव अनि साथीभाई, परिवारबाट टाढा रहंदा मानसिक तनाव आमविद्यार्थीले सामना गर्नुपर्ने समस्या रहेको उनको धारणा थियो ।
गत वर्ष बेलायत आएर ग्रयाजुएट गरेकी अस्मिता पौडेलले नेपाली विद्यार्थीमा पढ्न भन्दा पनि पैसा कमाउन आएको भन्ने मानसिकता विकास हुंदा अप्ठेरो भइरहेको बताइन् । शुरुमा आफूलाई पनि आर्थिक रुपमा गारहो भएको उनको भनाइ थियो ।
डा. दानबहादुर क्षेत्रीले नेपालबाटै विद्यार्थीलाई प्रोपर गाइडेन्स नहुंदा समस्या बढेको बताए । ‘कन्सल्टेन्सीहरुले विद्यार्थी ल्याउनु अघि यहांको अवस्था, अवसर आदिबारे स्पष्ट जानकारी र सही सुझाव दिनु पर्छ’, क्षेत्रीले भने, ‘विदेशमा गएका नेपालीले शिक्षा क्षेत्रमा राम्रो गरेका छन्, उनीहरु अवसर लिन पछि परेका छैनन् भन्ने लाग्छ ।’
बेलायतको कर, भुक्तानी र भन्सार प्राधिकरण एचएमआरसीमा कार्यरत अनुप वलीले नेपाल र बेलायतको शिक्षा प्रणाली विल्कुल फरक भएकाले विद्यार्थीलाई शुरुमा एडप्ट गर्न समस्या पर्ने बताए । ‘यहां आफ्नो सीप अनुसारको काम पाउंछ तर नेपालमा छैन्’, उनले भने, ‘भोकेसनल ट्रेनिङ लिएर आउंदा राम्रो हुन्छ ।’

नेपालमा अध्यापनमा लामो समय काम गरेका र कलेज सञ्चालन समेत गरेका विमल गौतमले नेपालमा भएका कलेजलाई अप्रोच गरेर ‘स्किल ओरिएन्टेड’ तालिम दिन आवश्यक रहेको औंल्याए ।
सन् २०१० मा अण्डर ग्रयाजुएट विद्यार्थी भिजामा आएर विद्यावारिधि गरि हाल युनिभर्सिटी अफ साउथह्याम्पटनमा कार्यरत सिनियर सफ्टवेयर इन्जिनियर डा. देवराज लामिछानेले बेलायतमा शुरुका दिन संघर्षपूर्ण रहेपनि कडा परिश्रम र शैक्षिक योग्यता हासिल गर्नेलाई अवसर धेरै रहेको बताए ।
नर्स अनुराधा गुरुङले शुरुमा आफूहरुले पनि संघर्ष गर्नु परेको स्मरण गर्दै विद्यार्थीलाई विचलित नहुन सुझाइन् । ‘नयां नियमले भाइबहिनीलाई दुःख भएको सुनिन्छ । तर आत्तिनु हुंदैन, किनभने यहां अवसर पनि छ’, उनले भनिन् । बेलायतमा निशुल्क स्वास्थ्य सेवा लिन हिचकिचाउनु नपर्ने उनले बताइन् ।
कार्यक्रममा कम्प्युटर इन्जिनियर दिपेश श्रेष्ठ, आइटी इन्जिनियर विकासमोहन भट्टराई, नेपाली अधिवक्ता प्रजिना पाठक, नर्स मेलिना महर्जन, प्रोजेक्ट कोअर्डिनेटर सनिल श्रेष्ठ, केमिकल इन्जिनियर प्रदीप सुवाल, फिजिओथेरापिष्ट सुजन महर्जन, नर्स सन्जु गोतामे, सफ्टवेयर इन्जिनियर राजन जोशी, विजनेश एनालिष्ट नवराज घिमिरे लगायतले आ-आफ्ना अनुभव सुनाए । उनीहरुले नेपाली दूतावास, एनआरएनए यूके जस्ता संस्थाले आफ्नो समुदायमा आएर विद्यार्थी र कन्सुलर सेवा समस्या नसुनेको गुनासो पनि गरेका थिए।




