नेपालका अटिस्टिक बालबालिकाको सहयोगार्थ लन्डन दूतावासमा च्यारिटी


लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले नेपालका अटिस्टिक बालबालिकाको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ ।
शुक्रबार सांझ लन्डनस्थित नेपाली दूतावासमा कार्यक्रम भएको हो ।
कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालमा अटिजम भएका बालबालिकाको सहयोगका लागि एसोसिएसनले गरेको कार्य सराहनीय भएको बताए । दुवाडीले नेपाल सरकारले सातै प्रदेशमा ‘अटिजम स्कुल’ सञ्चालन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै यसका लागि बेलायत सरकारले समेत सहयोगको प्रतिवद्धता जनाएको बताए ।
एसोसिएसनकी संरक्षक माया भुषाल (कार्यवाहक राजदूत पत्नी) ले नेपालमा अटिजमबारे थप जनचेतनामा जोड दिइन् । उनले अटिस्टिक व्यक्तिहरुलाई घरपरिवार र समाजबाट उचित रेखदेख र माया आवश्यक रहेको औंल्याउंदै एसोसिएसनले यस क्षेत्रमा निरन्तर गरिरहेको च्यारिटी प्रशंसनीय भएको बताइन् ।
कार्यक्रममा सहभागी अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले अटिस्टिक बालबालिकाका लागि संस्थाले गरिरहेको कामबारे जानकारी दिएकी थिइन् ।
अटिजममा काम गर्ने पहिलो नेपाली संस्थाका रुपमा सन् २००८ मा सोसाइटी स्थापना भएको जनाउंदै अमात्यले संस्थाको उद्देश्य अटिजम भएका व्यक्ति, तिनका अभिभावक तथा परिवारलाई सहयोग गरि गुणस्तरिय जीवन प्रदान गर्नु रहेको बताइन् ।

डा. अमात्यले अटिजमको पहिचान, मूल्यांकन र थेरापी, परामर्श, क्षमता विकास र तालिम, शिक्षा, जनचेतना अभिमुखीकरण कार्यक्रम, वाह्य पहुंच तथा अभिभावक सञ्जाल निर्माण आदि सञ्चालन गर्दै आएको पनि जनाइन् । अटिजम भएका व्यक्तिहरु स्वतन्त्र, स्वावलम्बन तथा प्रतिष्ठित जीवनमा रमाउन सकुन् भन्ने आफूहरुको चाहना रहेको पनि अमात्यले बताइन् ।
एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले अटिजम केयर नेपाल सोसाइटीमार्फत अटिस्टिक बालबालिकालाई आर्थिक सहयोग गरिने जनाउंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाली दूतावास परिवार, चन्दादाता एवं सहयोगी सबैप्रति आभार व्यक्त गरिन् ।
अध्यक्ष श्रेष्ठले यसअघि पनि एसोसिएसनले नेपालका अटिस्टिक बालबालिकालाई आर्थिक सहयोग गर्दै आएको स्मरण गरिन् ।
तस्विरः शिव भण्डारी


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


