पहिचान र अस्तित्वको खोजीमा परदेशका तीन दशक


लन्डन । क्यालेन्डरका पानाहरू पल्टिने क्रमसँगै फेरि एउटा नयाँ वर्ष हाम्रो संघारमा उभिएको छ । यो नयाँ वर्षलाई मैले केवल अंकको परिवर्तन मात्र होइन, विगतका पाइलाहरूको समीक्षा र भविष्यको खाका कोर्ने एउटा अवसरको रूपमा पनि लिएको छु।
परदेशको अनौठो आकाशमुनी उभिँदा म बारम्बार एउटै प्रश्नसँग घोत्लिने गर्छु, ‘म यहाँ किन छु?’ यो प्रश्न कुनै क्षणिक जिज्ञासा होइन, बरु झन्डै तीन दशक लामो प्रवासी यात्राको मौन प्रतिध्वनि पनि हो। सन् १९९७ मा पहिलोपटक मातृभूमि छोडेर हङकङ पुगेदेखि नै परदेश मेरा लागि वाध्यता र पहिचान दुवै बन्यो ।
हङकङका गल्लीहरू मेरा लागि ‘संघर्षका विश्वविद्यालय’ बने। त्यहाँको व्यस्त जीवन र पसिनाको मूल्यले मलाई एउटा कठोर सत्य सिकायो, जीवन सित्तैमा पाइने उपहार होइन, यो त आफ्नै मिहिनेतले निर्माण गर्ने कला हो। हङकङको बसाइले मलाई परिश्रम र श्रमको सम्मान मात्र सिकाएन, सामाजिक कार्य र मिडियाप्रतिको मेरो सोखलाई पनि अंकुरित गरिदियो। अझ भनौं, रेडियोमा बोल्ने र आफ्नो आवाज अरूलाई सुनाउने चाहनाको बीजारोपण सुरु भयो।
सन् २००६ डिसेम्बरमा लन्डनको हिथ्रो विमानस्थलमा पाइला टेक्दा कठ्यांग्रिने चिसो मात्र थिएन, मनभित्र भविष्यप्रतिको ठूलो अनिश्चितता पनि थियो। डर, आशा र सपनाको भारी बोकेर नयाँ देशमा उभिँदा लाग्थ्यो, जिन्दगी फेरि शून्यबाट सुरु हुँदैछ। संयोगवश, हिथ्रो एअरपोर्ट आसपासको क्षेत्रलाई नै मैले आफ्नो स्थायी कर्मथलो बनाएँ। आज फर्केर हेर्दा बुझ्छु- त्यो ‘शून्य’ नै मेरो पुनर्निर्माणको बलियो आधार रहेछ।
हङकङको वैदेशिक यात्रा सुरु हुनुअघि, राजधानीमा सञ्चालित औद्योगिक व्यवसायमा भोगेका उतारचढाव, सफलता, असफलताका क्षणहरू र चुनौतीबारे एउटा छुट्टै अध्याय छ। यसले मलाई बाहिरी दुनियाँ नियाल्न र थप सङ्घर्ष गर्न प्रेरित गर्यो। त्यही जगले मलाई परदेशको कठोर माटोमा खडा हुन सक्ने आत्मविश्वास प्रदान गरेको थियो।
मेरा लागि परदेश केवल व्यक्तिगत उन्नतिका लागि मात्र थिएन। हङकङदेखि नै सुरु भएको पत्रकारिता र सामाजिक कार्यप्रतिको मोहले बेलायतमा आएपछि थप विस्तार हुने अवसर पायो। हुन त यसमा मलाई अघि बढ्न प्रोत्साहन गर्ने साथीभाइ तथा परिवारको पनि उत्तिकै योगदान छ।

विगत एक दशकदेखि म नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखामा आवद्ध रही प्रवासको पत्रकारितालाई नजिकबाट नियाल्दै आएको छु । समय मिलेसम्म पत्रकारितामार्फत नेपाली समुदायको आवाज प्रष्फुटन गर्ने जमर्को गरेको छु । बेलायतबाट सञ्चालित अनलाइन पोर्टल नेपालीलिंक डटकमसँग म यसको स्थापनाकालदेखि नै जोडिँदै आएको छु। यसले मलाई प्रवासको पत्रकारितामा एउटा बलियो मञ्च दियो।
मातृभूमि नेपालप्रतिको अटुट मोह र बेलायतका लाखौँ नेपालीका गतिविधि र समस्यालाई नेपालसम्म पुरयाउने सेतुको रूपमा म हाल ‘रातोपाटी डटकम’ को युरोप संवाददाताका रूपमा कार्यरत छु। विभिन्न सामाजिक सङ्घसंस्थामा संलग्न रहेर नेपाली समुदायको सेवामा खटिनुको पछाडि मेरो एउटै उद्देश्य हो, यो व्यस्त प्रवासी भीडमा ‘नरेन्द्र बस्नेत’ भन्ने एउटा नेपाली नामको पहिचान र अस्तित्व ओझेल नपरोस्।
यो लामो यात्रामा मैले एउटा गहिरो सत्यलाई आत्मसात् गरेको छु—जब हामी अरूलाई दोष देखाउन एउटा औँला ठड्याउँछौँ, तब बाँकी तीनवटा औँला आफैँतर्फ फर्किएर हाम्रा कमजोरीहरू औंल्याइरहेका हुन्छन्। त्यसैले, मैले गुनासो गर्नुभन्दा आत्ममूल्याङ्कनको बाटोलाई प्राथमिकता दिनु बुद्धिमानी ठानेको छु। किनकि, कसैको साथले म अगाडि बढ्न सकेँ, भने कसैले खुट्टा तानिदिएकै कारण म अझ दृढताका साथ उभिन सकेँ।
बेलायतका झिलिमिली, चिल्ला सडक र गगनचुम्बी महलहरूले नेपालप्रतिको मोहलाई प्रतिस्थापित गर्न सकेनन्। बरु गाउँको धुलो र घरको आँगनको सम्झना सधैं मनको कुनामा जीवितै रह्यो। सफलता र सङ्घर्ष सँगसँगै आए, तर सफलताको कुनै पनि शिखरले मातृभूमि र गाउँघरको अभावलाई पूर्णता दिन नसक्ने यथार्थ मैले अनुभव गरेको छु।

परदेशमा बाँच्नु भनेको केवल सम्पत्ति कमाउनु र रमाउनु मात्र होइन, बरु आफ्नो मौलिक अस्तित्व र पहिचान जोगाइराख्नु सबैभन्दा ठूलो चुनौती हो। प्रवासमा बिताएको यो लामो समय आज फर्केर हेर्दा म आफूलाई पराजित ठान्दिनँ। मैले जीवनलाई ‘जित’ वा ‘हार’ को तराजुमा राखेर कहिल्यै जोखिन । बरु यसलाई अनुभूति, सम्झना र निरन्तर सङ्घर्षको एउटा सुन्दर सँगालो मानेर बाँचेँ।
साथै, यो अवधिमा मैले के पाएँ र के गुमाएँ भन्ने बारेमा पनि कुनै लेखाजोखा गरिन् । केवल एउटै चिज गुमाएँ, त्यो हो मलाई जन्म दिने आमा, जसलाई न त मैले कहिल्यै पाउन सक्छु, न त बिर्सन नै ।
जीवनमा जे भोगिएको छ, त्यसमा सन्तुष्ट रहन सक्नु र विगतलाई हेरेर पछुताउनु भन्दा आजको दिनमा कसरी सुखी रहने भनेर आफैलाई खुसी राख्ने प्रयत्न गर्न सके त्यो नै जीवनको सार्थकता हुने मेरो बुझाइ छ।
नयाँ वर्ष २०२६ को यो अवसरमा म यही कामना गर्दछु कि हामी जो जहाँ भए पनि आफ्नो परम्परा, संस्कृति र पहिचानसँग जोडिरहन सकौँ। भोलिको भविष्य त अनिश्चित छ, तर आजको यो प्राण, सामाजिक चेतना र यही प्रवासी अनुभव नै मेरो वास्तविक कथा हो।
र, यो गन्तव्यहीन यात्रा अझै जारी छ, तर अनिश्चित ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




