तुइनखोलाको पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध



काठमाडौँ । चितवनको तुइन खोला नजिकै ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ।
शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ।
सडक डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक-पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो।
उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको थियो। निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिए पनि अझै पहिरो खसिरहेको लामिछानेले बताए।
दुवै तर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन्।
नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए।
सडक डिभिजनका अनुसार माथिबाट ढुंगा खस्ने क्रम रोकिएमा अझै कम्तीमा चार घण्टामा सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना छ। त्यसैले सबै सहज ढंगले काम भएमा दिउँसोतिर मात्रै सडक खुल्ने अनुमान गरिएको छ।
शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो। साँझ ६ बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन्। पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।