नयाँ कार्यसमिति चयनलगत्तै बिहुँकोट हेल्प नेटवर्क यूकेद्वारा बाढीपीडितलाई सहयोग

लन्डन- बेलायतस्थित च्यारिटी संस्था बिहुँकोट हेल्प नेटवर्क यूकेमा नयाँ कार्यसमिति चयन भएलगत्तै नेपालका बाढीपीडितका लागि ५ लाख ८२ हजार ७२४ रुपैयाँ ८१ पैसा आर्थिक सहयोग पठाएको छ।
लिलाराम निउरेको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिको पहलमा संकलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ।
गत २४ अगस्टमा निउरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो। समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद कँडेल, उपाध्यक्षमा लक्ष्मपति कँडेल र राजन कँडेल, महासचिवमा देवेन्द्र प्रसाद कँडेल, सचिवमा छबी कँडेल तथा कोषाध्यक्षमा कृष्ण कँडेल रहेका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा धनकुमारी निउरे, गंगा गैर कँडेल, इन्द्र कँडेल, बलाराम कँडेल (अशोक), राजू शर्मा (कँडेल) र खगराज कँडेल रहेका छन्।
कार्यसमिति गठनलगत्तै नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावितलाई सहयोग पुर्याउन संस्थाले आपत्कालीन बैठक बसेर राहत संकलन अभियान सुरु गरेको थियो। भौगोलिक दूरी र व्यावहारिक कठिनाइका कारण प्रत्यक्ष रूपमा राहत वितरण गर्न सम्भव नभएपछि सरकारी कोषमार्फत सहयोग गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ।
संस्थागत सहयोगसँगै अध्यक्ष निउरेले व्यक्तिगत पहलमा पनि नुवाकोटका बाढी प्रभावित क्षेत्रमा चामल, नुन, तेल तथा लत्ताकपडालगायत अत्यावश्यक राहत सामग्री पठाइसकेका छन्।

बिहुँकोट हेल्प नेटवर्क यूकेका अध्यक्ष लिलाराम निउरे
बिहुँकोट हेल्प नेटवर्क यूकेका अध्यक्ष लिलाराम निउरे बेलायतको नेपाली समुदायमा परिचित सामाजिक अभियन्ता हुन्। विशेषगरी नर्दन आयरल्यान्डमा रहेर नेपाली समुदायमा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका निउरेले स्थानीय नेपाली समाजको नेतृत्वसमेत गरिसकेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दन आयरल्यान्डस्थित का संस्थापक अध्यक्ष हुन् निउरे । नर्दन आयरल्यान्डलाई प्रतिनिधित्व गर्दै उनी एनआरएनए यूकेको उपाध्यक्षका रूपमा पनि कार्यरत छन्। स्थानीय नेपाली समुदायको हित, सामाजिक सेवा र संस्थागत गतिविधिमा उनको सक्रियता रहँदै आएको छ।
नेपालमा विपत्ति आइपरेका बेला प्रवासी नेपालीको सामाजिक दायित्व पूरा गर्न पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष निउरेले राहत अभियान सफल बनाउन योगदान पुर्याउने संस्थाका संस्थापक अध्यक्ष दयानिधि सापकोटा, ट्रस्टीहरू गंगाप्रसाद कँडेल, कुलपति न्यौपाने र टंकप्रसाद कँडेल, सल्लाहकार शेखर कँडेल, पूर्वअध्यक्षहरू तथा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्।
संस्थाले आगामी दिनमा पनि मानवीय सहायता तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





