बाढी पीडितको सहयोगार्थ नेपलिज वुमन एसोसिएसन यूकेले गर्यो च्यारिटी लञ्च


लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले भोटेकोशी बाढी पीडितको सहयोगार्थ च्यारिटी लन्च कार्यक्रम आयोजना गरेको छ ।
आइतबार लन्डन नर्थफिल्ड्सस्थित मन्टीज रेष्टुरेन्टमा आयोजित कार्यक्रममा इलिङ मेयर, काउन्सिलरहरु, पूर्व मेयर, बेलायती शुभचिन्तक तथा नेपाली समुदायका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै इलिङ मेयर फादुमा मोहमेदले अकल्पनीय भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै पीडितहरुको सहयोगका लागि वुमन एसोसिएसनले गरेको कार्य प्रशंसनीय रहेको बताइन् ।
उनले मानवता भूगोलले नछेकिने उल्लेख गर्दै सबैलाई सहयोगका लागि अपिल गरिन् ।
आफ्नो बरोमा विभिन्न समुदाय बसोवास गरिरहेका र नेपालीको योगदान विशेष रहेको उनले बताइन् ।
कार्यक्रममा यूके च्यारिटेबल संस्था ब्रिटेन नेपाल सोसाइटी अध्यक्ष निक हिन्टन एमबीईले भोटेकोशी बाढी लगत्तै नेपाल सरकारले चालेको कदम सरहानीय भएको उल्लेख गर्दै जलवायू न्यायका लागि संयुक्त राष्ट्रसंघमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले राखेको धारणा जायज र सशक्त भएको बताए ।
विकसित मुलुकहरुका कारण गरिव मुलुकले क्षति बेहोर्नु पर्ने अवस्था न्यायसंगत नभएको बताउंदै निकले नेपाललाई पुननिर्माणमा अर्बौं लाग्ने भएकाले सबैतिरबाट सहयोग आवश्यक भएको औंल्याए । उनले आफ्नो संस्थाले बाढी पीडितका लागि सहयोग गरिसकेको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने बताए ।
काउन्सिलर रन्जित धिर ओबीईले नेपालको घट्ना निकै दुःखदायी भएको बताउंदै सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराए ।

नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले सहभागी र दाताहरु सबैप्रति आभार व्यक्त गर्दै संकलित रकम आउंदो १४ नोभेम्बरका दिन लन्डनस्थित नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने योजना रहेको सुनाइन् । आर्थिक सहयोग संकलन जारी रहेकाले इच्छुकलाई सहयोग गर्न पनि श्रेष्ठले अपिल गरिन् ।
कार्यक्रम सञ्चालन गर्दै एसोसिएसनकी सचिव प्रसुना कंडेलले आफू बाढी लगत्तै प्रभावित तीन जिल्लामा गएर स्वास्थ्य शिविर तथा राहत वितरणमा खटिएको स्मरण गर्दै स्थानीय जनताको मनस्थिति निकै विक्षिप्त भएको पाएको बताइन् ।
एनआरएनए महिला सचिव समेत रहेकी कंडेलले अब पुनर्निर्माणमा प्राथमिकता दिइनु पर्नेमा जोड दिइन् ।
उक्त च्यारिटी लञ्चमा सोलिसिटर राजु थापा, एनआरएनए यूके पूर्व अध्यक्ष तथा एसोसिएसनकी उपाध्यक्ष पुनम गुरुङ, यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष ध्रुव केसी, क्याप्टेन आरएस श्रेष्ठ लगायतको उपस्थिति थियो ।
तस्विरहरुः शिव भण्डारी


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



