सोमबार, २ नोभेम्बर, २०२६
07:35 | १३:२०

बेलायतवासी खेलाडी साजन डंगोलले बनाए दुई दुर्लभ विश्व कीर्तिमान

नेपाली लिङ्क नोभेम्बर २, २०२६

लन्डन । बेलायतमा बस्दै आएका नेपाली फुटबल खेलाडी साजन डंगोलले दुईवटा दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन्।

फुटबल जगलिङमा सन् २०२४ मा पहिलो विश्व कीर्तिमान बनाएका डंगोलले हालै दोस्रो विश्व कीर्तिमानको गिनिज वर्ल्ड रेकर्ड राखेका हुन्।

सन् २०२४ फेब्रुअरी १६ मा बेलायतको बर्मिङ्घममा एक घण्टामा २ हजार २ सय १८ पटक फुटबल जगलिङ गर्दै पहिलो गिनिज वर्ल्ड रेकर्ड कायम गरेका साजनले सन् २०२६ मे १५ मा लगातार ६ घण्टा २२ मिनेट ५९ सेकेन्डसम्म फुटबल जगलिङ्ग गर्दै अर्को दुर्लभ कीर्तिमान बनाए ।

डंगोलले दोस्रो कीर्तिमान कायम गर्ने क्रममा फुटबललाई भुइँमा खस्न नदिई दुवै खुट्टा आलोपालो प्रयोग गरेर लगातार ६ घण्टा २२ मिनेट ५९ सेकेन्डसम्म जगलिङ गरेका थिए । आफूलाई आफैंले परीक्षण गर्ने र आफ्नो क्षमताको सीमा थप विस्तार गर्ने उद्देश्यले यो चुनौती लिएको उनले बताए।

आइतबार बेलायतको बर्मिङ्घममा आयोजित पत्रकार सम्मेलनमा डंगोलले आफ्नो विश्व कीर्तिमानी उपलब्धि, फुटबल यात्रा, संघर्ष र सफलताको कथा सुनाएका छन्। ‘फुटबल पिचदेखि सगरमाथाको शिखरसम्म’ शीर्षकमा आयोजित कार्यक्रममा उनले फुटबलसँग जोडिएको आफ्नो यात्रा र सगरमाथा आरोहणको अनुभवसमेत शेयर गरे ।

काठमाडौंको टोखामा जन्मिएका डंगोलले सानैदेखि फुटबल खेल्न सुरु गरेका थिए। अन्डर–१४ राष्ट्रिय लिगबाट फुटबल यात्रा सुरु गरेका उनले नेपालको ए डिभिजन क्लब ब्रिगेड ब्वाइजबाट खेलेका थिए।

त्यसपछि मनाङ मरस्याङ्दी, फ्रेन्ड्स क्लब र बाँसबारीलगायतका क्लबबाट अन्य लिगमा समेत सहभागी भए। झण्डै आठ–नौ वर्ष फुटबल खेलेका उनी अन्डर–१९ राष्ट्रिय टोलीका लागि छनोटसमेत भएका थिए । तर, स्वास्थ्य समस्या तथा चोटका कारण राष्ट्रिय टोलीबाट खेल्ने अवसर भने पाएनन्।

नेपालमै बीबीए अध्ययन पूरा गरेका डंगोल सन् २०२१ मा थप अध्ययनका लागि बेलायत आएका थिए । उनले सन् २०२२ मा बर्मिङ्घम सिटी युनिभर्सिटीबाट म्यानेजमेन्ट एन्ड इन्टरनेशनल बिजनेसमा स्नातकोत्तर गरे ।

बेलायत आएपछि पनि फुटबललाई निरन्तरता दिएका उनले बर्मिङ्घम टाइगर्स, साल्टली स्टालियन्स र गुरु रविदासलगायतका क्लबबाट सेमीप्रो तथा नन–लिग फुटबल खेले। विभिन्न नेपाली फुटबल प्रतियोगितामा समेत सहभागी हुँदै आएका उनी हाल फ्रुट क्वालिटी टेक्निसियनका रुपमा इन्स्पेक्सनसम्बन्धी काम गर्दै आएका छन्।

फुटबलमा दुईवटा विश्व कीर्तिमान कायम गर्नुका साथै डंगोलले विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरेका छन्। सगरमाथा आरोहण उनको बाल्यकालदेखिकै सपना थियो।

सन् २०२५ अप्रिल १९ मा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको आरोहण गरेका उनले मे १४ मा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए ।

आफ्नो जीवनमा केही विशेष उपलब्धि हासिल गर्ने प्रेरणा आमाबुबाको संघर्षबाट पाएको उनले बताए । आमाबुबाले जीवनमा गरेको संघर्ष नजिकबाट देखेका कारण आफूले पनि मेहनत गरेर केही उपलब्धि हासिल गर्ने अठोट लिएको उनको भनाइ थियो।

साजनको सफलता पछाडि उनको लामो र कठोर अभ्यासको कथा छ । बाल्यकालामा फुटबल खेल्ने बेलादेखि नै उनले नियमित प्रशिक्षणपछि पनि खुट्टा थकाउन र आफूलाई थप चुनौती दिन फुटबल जगलिङ गर्ने गरेको बताए।

‘हामीले आफूलाई आफैंले चुनौती दिनुपर्छ। कयौं मानिसले आफ्नो सीमा निर्धारण गर्छन् तर आफ्नो क्षमता कति छ भन्ने कुरा आफैंले परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘जुनसुकै लक्ष्य जति चुनौतीपूर्ण र कठिन भए पनि मेहनत, लगाव र निरन्तरताका साथ अघि बढ्यौं भने हासिल गर्न सकिन्छ।’

कार्यक्रममा विवेक खातीले सहजीकरण गर्दै डंगोलको फुटबल यात्रा र विश्व कीर्तिमानबारे जानकारी गराएका थिए। सहकर्मी दिनेश थापा तथा केही विदेशी मूलका सहकर्मी खेलाडीहरू समेतले डंगोलको कठोर मेहनत र दृढ संकल्पको प्रशंसा गर्दै उनको यात्राबाट सबैले प्रेरणा लिन सक्ने बताए ।

सो अवसरमा डंगोलको जीवन, फुटबल यात्रा, सगरमाथा आरोहण, संघर्ष र विश्व कीर्तिमानको उपलब्धि समेटिएको संक्षिप्त भिडियो सामग्री प्रदर्शन गरिएको थियो । त्यस्तै, जानकी सिंजालीले डंगोलको जीवन केन्द्रित निर्माणका क्रममा रहेको एक डकुमेन्ट्रीबारे जानकारी गराइन्।

डंगोलले आफ्नो सफलतामा योगदान पुर्‍याउने र हौसला दिने परिवार, साथीभाइ, प्रशिक्षक, सहकर्मी तथा सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू