बिहीबार, २९ अक्टोबर, २०२६
19:29 | ०१:१४

मन र मत जित्नेगरी जागरण अभियान चलाउँछौं : डा डिला संग्रौला

नेपाली लिङ्क अक्टोबर २९, २०२६

काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले नेपाली कांग्रेससामु आन्तरिक तथा बाह्य रूपमा थुप्रै चुनौतीहरू विद्यमान रहेको स्वीकार गर्दै उनले आमजनताले ठूलो आशा र भरोसाका साथ पार्टीलाई अगाडी बढाउनु पर्नेमा जोड दिएकी छिन् ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएकी संग्रौलाले पार्टी कार्यालय सानेपामा बिहिबार शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै विगतमा मत परिवर्तन गरेका नागरिकहरूको मन र मत दुवै पुनः कांग्रेसतर्फ फर्काउने संकल्पका साथ पार्टीले विशेष निर्णय गरेको जानकारी दिइन् ।

उनले १५ औँ महाधिवेशनबाट पारित नीतिहरूलाई जनताको माझसम्म पुर्‍याउन एक महिने जागरण अभियान सञ्चालन गर्न लागिएको बताइन् । अभियानले नेपाली कांग्रेसलाई बृहत् रूपमा एकताबद्ध बनाउन र जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास संग्रौलाले व्यक्त गरिन् ।

पार्टीभित्रको असन्तुष्टि र एकताको प्रसङ्गमा बोल्दै महामन्त्री डा. संग्रौलाले बाहिर रहेका सबै नेता-कार्यकर्ताहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । लोकतन्त्रको सुदृढीकरण र पार्टीलाई आजको अवस्थासम्म पुर्‍याउन योगदान पुर्‍याएका शहीदहरू तथा अग्रज नेताहरूप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले उनीहरूलाई एकताबद्ध बनाएर लैजाने निर्णय गरिसकेको उनले बताइन् ।

अब नयाँ ढङ्गबाट सकारात्मक संवादको थालनी गरिने र असन्तुष्ट सबै नेता तथा साथीहरूलाई पुनः केन्द्रीय कार्यालय सानेपामा फर्काएर एकताबद्ध भई अघि बढ्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

त्यसैगरी, पार्टीभित्र महिलाको प्रतिनिधित्वको विषयमा चर्चा गर्दै उनले संविधान र पार्टीको विधान अनुसार कायम हुनुपर्ने ३३ प्रतिशत महिला सहभागिता अझै नपुगेको स्वीकार गरिन् । सभापतिबाट हुने आगामी मनोनयन (६६ जना) मार्फत यसलाई पूर्ण रूपमा समावेशी बनाइने र सबै प्रदेश तथा जिल्लाको प्रतिनिधित्व सुनिश्चित गरिने उनले स्पष्ट पारिन् ।

लामो समयदेखि पार्टीमा सक्रिय योगदान पुर्‍याएर पनि केन्द्रीय समितिमा पुग्न नपाएका निष्ठावान् महिला दिदीबहिनीहरूको पहिचान गरी उनीहरूलाई मनोनयनमार्फत उल्लेख्य संख्यामा अवसर दिलाउन आफूले विशेष पहल गर्ने प्रतिबद्धतासमेत महामन्त्री डा. संग्रौलाले व्यक्त गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू